ओलीले अध्यक्ष छाडे मात्रै पार्टी एकता हुन्छ: झाँक्री

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं,  १६ साउन

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको अध्यक्ष छाडे मात्रै एकता हुने बताएकी छन् । शनिबार अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले अध्यक्ष ओलीले आत्मालोचना गर्दै अध्यक्ष छाडेपछि मात्र पार्टीमा एकता हुनसक्ने बताएकी हुन् ।

मुलुकको राजनीतिलाई अहिलेको स्थितिमा पु¥याउनेहरु मूलधारबाट बाहिर नहुँदासम्म एकता हुन नसक्ने उनको भनाइ छ । ‘जतिबेला आजको राजनीतिलाई यो स्थितिमा पु¥याउनेहरु मेनस्ट्रिमबाट बाहिर हुन्छन्, पार्टी एकताको शर्तमा छाड्छन्, त्यतिबेला मात्र पार्टी एकता हुन्छ’ उनले भनिन् ।

नेतृ झाँक्रीले प्रतिगमनकारीले सामान्य प्रायश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन्छ  ? भनेर प्रश्न गरेकी छन् । ‘चुनावमा मान्छेले भोट हाल्छन् ? राजनीति भनेको भन्ने एउटा गर्ने अर्को हो ?’, उनले प्रश्न गरिन् । आफू पार्टी एकता विरोधी नभएको तर कम्युनिस्ट आन्दोलनको विर्सजन कसले गर्यो ? पुस ५ र जेठ ७ प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने उनको भनाइ छ ।

एमालेभित्र संसद विघटनलाई प्रतिगमन र जनादेश बन्ने दुईथरी मत रहेको भन्दै उनले यसमा समान धारणा नहुँदासम्म पार्टी एकता कसरी हुन सक्छ भनी प्रश्न गरिन् । ‘यो प्रतिगमन हो कि जनादेश प्राप्त हो, हामी एउटै पार्टीमा हुने हो भने यसमा एउटै धारणा हुन सक्छ कि सक्दैन’ उनले प्रश्न गरेकी छन् ।

मा प्रकाशित