प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन कार्यदल गठन गरिएको छ। मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारकाे काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन कार्यदल बनाइएको नेताहरुले बताएका छन् ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा) २ र कांग्रेसबाट २ जना रहनेगरी ७ सदस्यीय कार्यदल गठन गरिएको हो।
कार्यदलमा खड्कासहित, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् । नेकपा एमाले पक्षका नेताहरुलाई पनि कार्यदलमा समेटिने बताइएको छ। बुधबार कार्यदलको बैठकसमेत बसेको नेता पुनले गणतन्त्रनेपाललाई बताएका छन् ।
यसका साथै कार्यदलले कुटनीति क्षेत्रका अन्य नियुक्ति र राजदूत नियुक्ति लगायतबारे समेत गठबन्धनका दलहरुबीचमा सहमतिका आधारमा नाम टुंगो लगाउने काम गर्नेछ ।
असार २९ गते प्रधानमन्त्री पदमा नियुक्त देउवाले साउन ३ गते संसदबाट विश्वासको मत समेत पाइसकेका छन्। कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरेका देउवालाई सहमतिकै आधारमा सरकार चलाउँदै उसका काम कारवाही प्रभावकारी बनाउन कार्यदल बनाइएको बताइएकाे छ। आगामी चुनावसम्म गठबन्धन रहने भएकोले कार्यदलले त्यहीअनुसार काम गर्ने बताइएको छ ।
गठबन्धन सरकार बनेको दिनदेखि नै विगतबाट पाठ सिक्ने भन्दै माओवादी केन्द्रले सरकार सञ्चालनका लागि कार्यदल गठन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको थियो । सरकार गठनको ९ दिनपछि सो प्रस्तावले आकार पाएको छ ।