नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् ।
आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले आफै जलेर खरानी हुने चेतावनी दिएका हुन् ।
केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर भइसक्यो, यसलाई जे गरे पनि हुन्छ, जति पेले पनि हुन्छ भन्ने सोच राखेको र त्यही सोचका कारण उनीहरू खरानी बनेको बताएका हुन् । उनले भने, ‘मैले पहिलेदेखि नै भनेको थिएँ कि माओवादी भनेको आगो हो, यससँग नखेल्नुस् । तर उनीहरूले आगोसँग खेल्ने प्रयत्न गरे, जसका कारण उनीहरू आफै जले ।’
नैतिकता र संस्कारको प्रश्न
प्रचण्डले यति छिटो यस्तो दुर्दशा थाहा पाएको भए एमालेसँग एकताको प्रस्ताव गर्ने थिएन भनेका छन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले भने, ‘यति छिटो यस्तो यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला । भिन्न मतलाई स्विकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ।’
दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेको इतिहासको पहिलो घटना भएको बताए । ‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका वक्ता (प्रदीप ज्ञवाली) ले अनुभव सुनाउनु भयो। तर यस्तो अनुभव त हामीसँग थिएन । दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेर देशलाई दुर्घटनामा लैजाने काम त पहिलो पटक भएको हो,’ प्रचण्डले भने । प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा राष्ट्रपति र प्रधानमन्त्रीले लोकतान्त्रिक संस्कार नदेखाएको बताए ।
‘ राष्ट्रपतिको सपथ ग्रहणमा रोकिएको थियो । आउने प्रधानमन्त्री र जाने प्रधानमन्त्री साट बाइ साटमा हुन्थ्यो । कुर्सी साटिन्थ्यो’, उनले भने, ‘तर शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा त्यो देखिएन । नैतिका र लोकतन्त्रसँग जोडिएको प्रश्न हो । ओलीजीको गतिविधिले नैतिकता र संस्कारको प्रश्न पनि जन्माएको छ।’ प्रचण्डले आजको प्रतिनिधिसभामा एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन नगरेकोमा पनि विमति जनाए । उनले भने, ‘यो सदनले केपी ओलीको मुखबाट सुन्न चाहेको थियो । तर त्यो भएन । उहाँ बोल्ने भनिएको थियो । त्यो भएन । यसबाट असहज महसुस भएको छ ।’
अब केपी ओलीले जालझेल र झुटा नचल्ने प्रचण्डले ठोकुवा गरे । उनले भने, ‘भन्ने एउटा गर्ने अर्को । उहाँको जालझेल र झुटा कुरा चल्दैन हामी जिउँदै छौँ । भ्रष्टाचार पनि गर्दिनँ र गर्न पनि दिन्न भन्ने भन्ने उहाँको स्वलोक भ्रष्टाचारीको संरक्षण गर्न रहेको छ । हामीले बुझेका छौँ ।’ यस्तै उनले पार्टीभित्र काम गर्न नदिए संसद् विघटन पर्न पाइन्छ ? भन्दै प्रश्न उठाए । ‘पटक पटक सदनको हत्या गर्नेले ६७ (५) ले लोकतन्त्र जान्छ भनेर कसैले पत्याउँछ । प्रतिनिधिसभाका सदस्यको सार्वभौम अधिकार प्रयोग गर्दा के चिन्ता ?,’ उनले भनेका छन्।
गोहीको आँशु चुहाएर कसैले पत्याउँछ ?
प्रचण्डले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारे ।
एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए ।
उनले प्रश्न गरे, ‘संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर लेख्ने हामी नै होइन ?’
अदालतले अन्ततः संविधानको मर्म र भावनाअनुरूप संसद् पुनर्स्थापना गरेको भन्दै उनले संविधानमा लेखिएबमोजिम काम हुँदा लोकतन्त्र मिचियो भनेर कराउनुको अर्थ नहुने प्रस्ट पारे ।
प्रचण्डले निवर्तमान प्रधानमन्त्री सत्ता हस्तान्तरण प्रक्रियामा सहभागी नहुनु पनि आश्चर्यजनक रहेको बताए । ‘को भित्र लोकतान्त्रिक चरित्र छ, कोसँग भिन्न परिस्थिति सामना गर्न सक्ने आँट छ भन्ने परिदृश्य त्यसले प्रस्ट भएको छ,’ उनले भने ।
झन्डै दुई तिहाइ बहुमत भएको सरकारले दुई–दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको नेपालको इतिहासमै पहिलो पटक भएको उनले बताए ।