माधव नेपाल गद्दार हुन्, क्षमा दिन सकिँदैन : ओली

गणतन्त्र नेपाल संवाददाता / काठमाडौं, ३० असार,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् । नेता नेपालले नै आफ्नो सरकार ढाल्न अगुवाइ गरेको भन्दै ओलीले उनलाई क्षमा दिन नसकिने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बालकोट पुगेका ओलीले समर्थकहरुलाई सम्बोधन गर्दै आफूलाई जालझेल गरेर हटाइएको बताए । त्यसको अगुवाइ गरेको भन्दै उनले माधवकुमार नेपाल लाजशरम पचेको मान्छे भएको टिप्पणी गरे ।

ओलीले त्यसो भनिरहँदा समर्थकहरुले नेता नेपाललाई गद्दार घोषणा गर्न र पार्टीबाट निकाल्न माग गर्दै नाराबाजी गरे । उनीहरुलाई रोक्दै अध्यक्ष ओलीले अगाडि भने, ‘पछाडि लाग्नेहरुको सन्दर्भमा उहाँहरुले कमी कमजोरी महसुस गरेर पार्टीमा आएर काम गर्न चाहनुहुन्छ भने उहाँहरुलाई मौका दिन्छौं । तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकार गर्ने कुनै ठाउँ छैन ।’

निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको विकास प्रेमी सरकार ढाल्न अगुवाइ गरेको भन्दै नेता नेपालको आलोचना गरे । हिजो पनि प्रधानमन्त्री शेरबहादुर देउवा सपथका लागि नपुग्दै नेता नेपाल शीतल निवास पुगेको भन्दै उनले भने, ‘माधव नेपालजस्ता गद्दारलाई कुनै क्षमा गर्न सकिन्नँ ।’

समर्थकहरुलाई आफ्नो घरको बारदलीबाट सम्बोधन गरेका एमाले अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्रीबाट अकारण हटाइएको दाबी गरे । ‘जनादेशबाट होइन परमादेशबाट, काम गर्न नसकेर होइन’ उनले भने, ‘देशको विकास गरेर, राष्ट्रलाई एकजुट बनाएर, संविधान कार्यान्वयन गराएर, सर्वस्वीकार्य बनाएर, विकास अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि अगाडि बढाएर काम गर्दागर्दै जाली झेलीहरूको जालझेल, कपट, षड्यन्त्र स्वरूप अदालतमा मुद्दा हालेर हटाइयो ।’

तर आफूले देशका लागि राम्रो काम गरेको र विकास गरेकाले ग्लानी नभएको ओलीले जिकीर गरेका छन् ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID