नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए ।
खाँणले बैठकमा संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुराउनेलाई धन्यवाद दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरू मिलेर अघि बढ्ने बारे छलफल भएको बताए । उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुनर्वहाली पनि गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्त्वपूर्ण फैसला गरेको छ । त्यस कारणले हामी पाँचै दलले सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद पनि दिएका छौ ।’
उनले अगाडि भनेका छन् – ‘यो निर्णय स्वागतयोग्य छ । यसले संविधानको रक्षा, लोकतान्त्रिक मूल्य मान्यता, र राष्ट्रियता र नागरिकको हक अधिकारलाई पनि यसले सुदृढ गराउने काम गरेको छ । ट्र्याक बाहिर गएको लोकतान्त्रिक मूल्यमान्यता माथि प्रहार भएकोमा अहिले ट्र्याकमा आएको छ । सरकार निर्माण गर्ने कुरामा, प्रारम्भमा सानो मन्त्रिमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने र मिलेरै सरकार बनाउनुपर्ने र मिलेरै सरकार चलाउनुपर्ने अहिलेको सान्दर्भिकताका बारेमा छलmपल भएको छ । सरकारमा जाने हकमा सानो आकारको मन्त्रिमण्डल बन्छ र भोलि बिहान फेरि पार्टीका शीर्ष नेताहरू बैठक बस्नुहुनेछ ।’
सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्नुपर्छ – माओवादी केन्द्र
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय प्रणालीका आधारमा सहमति र सहकार्य गर्दै संविधानले मार्गचित्र गरे अनुसार अगाडि बढ्ने बारेमा छलफल भएको बताएका छन् । लोकतन्त्रको रक्षा, संविधानको रक्षा, गणतन्त्र र नागरिक अधिकारको रक्षाका लागि आएको फैसलाको स्वागत गर्दै सबैलाई आभार प्रकट गरिएको उनको भनाई छ । सरकार गठन एकलौटी ढङ्गले नचलाइ सबै राजनीतिक दलहरूसँग सल्लाह गरेर फराकिलो ढङ्गले सरकार बनाई एकताबद्ध भएर अगाडि बढ्नुपर्छ भन्नेमा नै सबैले जोड दिएको गुरुङले बताए ।
सहमति कायम गरि अघि बढ्नुपर्छ – जसपा
जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताए ।
विपक्षी गठबन्धनले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक र महत्त्वपूर्ण फैसला भएको भन्दै सर्वोच्च अदालतलाई धन्यवाद दिएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको कोटेश्वस्थित निवासमा बसेको ५ दलीय विपक्षी गठबन्धनको बैठकले लोकतन्त्र, संविधान र संसद्को रक्षा गर्ने सवालमा अदालतको फैसला ऐतिहासिक र महत्त्वपूर्ण भएको भन्दै स्वागत गरेको छ ।
फैसलाले संविधानको रक्षा गरेकाले अदालतको ऐतिहासिक निर्णय सबै नागरिकको विजय भएको निष्कर्ष गठबन्धनले निकालेको छ ।