सिंहदरबारमा जारी एमाले कार्यदलको बैठक गम्भीर मोडमा पुगेको छ । माधव नेपाल पक्षबाटै कार्यदलमा रहेका केही नेताहरु नेता नेपाललाई नै बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने लाइनमा उभिएपछि बैठक गम्भीर मोडमा पुगेको हो ।
नेताहरुका अनुसार घनश्याम भुसाल र रघुजी पन्त नेपालको अडानमा टसमस नभएपनि उनी बाहेकका नेताहरु भीम आचार्य, भीम रावल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे उनलाई बाइपास गरेर भएपनि सहमति गर्नुपर्ने कित्तामा उभिएको उच्च स्रोतले बताएको छ ।
सिंहदबारमा झण्डै १२ घण्टादेखि बसिरहेको बैठक अहिले पनि जारी छ । केहीबेर बैठक हलबाट बाहिरिएर फेरि प्रवेश गरेका नेता घनश्याम भुसालले कार्यदलमा कुनै प्रगति नभएको बताएका छन् ।
‘वस्तुतस्थिति हिजोको भन्दा आज फरक छैन । हिजोअस्ति जुन ठाउँमा थियौँ, त्यही ठाउँबाटै छलफल प्रारम्भ भइरहेको छ । टुंगामो पुगिन्छ, पुगिँदैन अहिले नै भन्न सक्ने अवस्था छैन। हेर्दै जाऔं’, उनले संवाददाताहरुसँग भनेका छन् ।