कार्यदलले गरेको सहमतिमा शनिबार हस्ताक्षर हुनेमा पुरै आशावादी छु : सुवास नेम्वाङ

गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, २५ असार 

पार्टीभित्र देखिएका विवाद समाधानका लागि गठित एमाले कार्यदलका संयोजक सुवास नेम्वाङले कार्यदलले गरेको सहमतिमा भोलि (शनिबार) हस्ताक्षर हुने विश्वास व्यक्त गरेका छन् । सबै विषयमा लगभग सहमति भएको र भोलि टुंगिने उनले बताए ।

‘आज लगभग सहमति भएको छ, भाषिकलगायत बाँकी प्राविधिक कुरा भोलि टुंगिन्छ,’ बैठकपछि संयोजक नेम्वाङले भने, ‘दिउँसो साढे १२ बजेदेखि राति साढे ८ बजेसम्म एउटै कोठामा बसेर निरन्तर छलफल गरेपछिको परिणाम लगभग सहमति भयो ।’

एमाले प्रवक्तासमेत रहेका कार्यदलका सदस्य प्रदीप ज्ञवालीले कार्यदलमा सहमति भएको र भाषिक कुरा मिलाएर भोलि अन्तिम रुप दिइने बताएका छन् । ‘हामी सहमति गर्न लागि पर्ने कोही, सहमति भत्काउन लागि परेकाले सहमतिका विषयवस्तु हस्ताक्षर भएपछि मात्र थाहा पाउनु हुन्छ,’ । नेम्वाङले भनेका छन्- ‘हस्ताक्षर नहुँदासम्म के विषयमा सहमति भयो भनेर नभन्ने कसम खाएका छौं ।’

पार्टीमा देखिएको विवाद समाधानका लागि जेठ २ गते गठित कार्यदलले सोमवारदेखि लगातार छलफल गर्दै आएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ता गर्नुपर्ने संस्थापन पक्षको मागमा नेपाल पक्ष सहमत हुन सकेको थिएन ।

एमाले कार्यदलमा नेपाल पक्षका सदस्य गोकर्ण विष्टले आफूहरु सबै विषयमा सहमति नजिक पुगेको बताए । कार्यदलले सहमति गरेको विषयमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता नेपालले हस्ताक्षर गरेर सहमति सार्वजनिक गर्ने कार्यदलका नेताहरुले बताएका छन् ।

मा प्रकाशित