एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

पत्रपत्रिकाबाट

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्युँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्काे रूपमा उठिरहेको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसहितको समूह २ जेठको पार्टी कमिटीअनुसार अगाडि बढ्नुपर्ने अडानबाट पछि नहटेपछि ओली महाधिवेशन आयोजक कमिटी विघटन गर्न सहमत भएका हुन् ।

पार्टीभित्र तीव्र विवाद बढ्दै गएपछि खनाल नेपाल समूह अर्को पार्टी गठन गर्नेसम्मको तयारीमा जुटेपछि विवादको कारण बनेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत भएका हुन् । एमाले ब्युँताए यता खनाल र नेपाल तथा गौतम समूह कुनै पनि बैठकमा सहभागी भएको छैन ।

त्यसयता ओली समूहको बैठक बस्ने र विभिन्न निर्णय गर्ने गरेको छ । उता खनाल नेपाल समूह पनि समानान्तर बैठकलाई निरन्तरता दिँदै सोहीअनुसारको निर्णयका आधारमा अघि बढिरहेको छ । एमाले केन्द्रीय सदस्य विष्णु रिजालले अब पार्टीमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना नरहने प्रस्ट पारेका छन् । पार्टीलाई एकताबद्ध बनाउन महाधिवेशन आयोजक कमिटी विघटन गरेर साबिकको एमाले केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।

‘अब नेकपा (एमाले) मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ,’ रिजालले ट्वीटरमा लेखेका छन् ।

१०औं महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचना २ जेठ २०७५ मा फर्किएको घोषणा गर्ने तयारीमा पार्टी अध्यक्ष ओली रहेको एमाले स्रोतले जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकमा यस विषयमा गम्भीर रूपमा छलफल भएको छ । बैठकले १५ असारमा स्थायी कमिटी बैठक र १६ असारमा महाधिवेशन आयोजक कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

एमाले स्थायी कमिटीका सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकता कायम राख्ने देशभरका नेताकार्यकर्ताको चाहना सम्बोधन हुनेगरी निर्णय हुने बताए । ‘यसबारे निर्णय लिन १५ गते स्थायी कमिटी बैठक र १६ गते आयोजक कमिटीको बैठक बोलाइएको छ । देशभरका नेता कार्यकर्ताहरूको पार्टीलाई एकताबद्ध राख्ने चाहना सम्बोधन हुनेगरी हामी निर्णय गर्दै छौं, अब पार्टीलाई एकताबद्ध बनाउँछौं,’ नेता नेम्वाङले भने ।

कर्णाली प्रदेशका एमाले सांसदलाई पद मुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले नै महाधिवेशन आयोजक कमिटीले गरेको निर्णयले वैधता नपाउने आदेश दिएको थियो ।

एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले १६ गते १०औं महाधिवेशन आयोजक कमिटी बस्ने निर्णय भएको बताए । राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णय गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुपरेको उनले बताए ।

‘पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्ति र राष्ट्रिय राजनीतिका विभिन्न आयामको संक्षिप्त तर गहन छलफल गरेका छौं । यो विषयमा थप केही निर्णय गर्न आवश्यक भएको, अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णय निकाल्नुपर्ने भएको हुनाले १०औं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्नेगरी बैठक आह्वान गर्ने निर्णय बैठकले गरेको छ,’ ज्ञवालीले भने ।

प्रवक्ता ज्ञवालीले पार्टी एकताको आशा कायमै रहेको बताउँदै केही नेताहरू विपक्षीलाई काँधमा राखेर उनीहरूलाई शक्तिशाली बनाउने प्रयासमा लागे पनि धेरै नेता कार्यकर्ता एमाले एकताकै पक्षमा रहेकाले एकताको प्रयत्न र प्रयास जारी राखिएको बताए ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID