विपद्‍बाट भएको क्षति न्यूनिकरणबारे सभामुख सापकोटाद्वारा सरोकारवालासँग छलफल

गणतन्त्र नेपाल संवाददाता

काठमाडौँ, ८ असार । सभामुख अग्निप्रसाद सापकोटाले यस वर्ष मनसुनको शुरुआतसँगै देशका विभिन्न जिल्लामा आएको प्राकृतिक विपदबाट भएको क्षति न्यूनीकरणका लागि सरोकार भएका पक्षसँग छलफल गरेका छन् । उनले बाढी, पहिरो र डुबानबाट भएको क्षति र प्रतिकार्यका विषयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको उच्च नेतृत्व र सम्बन्धित क्षेत्रका विशेषज्ञसँग अलग अलग छलफल गरेका हुन् ।

सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा आज भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलसहितको टोलीले सिन्धुपाल्चोक, मनाङ, चितवनलगायत देशका विभिन्न स्थानमा बाढी पहिरो र डुबानले पुर्‍याएको मानवीय र भौतिक क्षति र प्राधिकरणबाट भइरहेका प्रतिकार्यका बारेमा जानकारी गराए।

सो अवसरमा सभामुखले विपदग्रस्त क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाअनुसार कार्य अगाडि बढाउन, विपत्तिबाट समस्यामा परेकालाई यथासक्य छिटो सम्बोधन गर्न र सबै भन्दा धेरै समस्या भोग्नु परेको सिन्धुपाल्चोकमा छुट्टै युनिट बनाएर काम अघि बढाउन आग्रहसमेत गरे ।

उनले यसअघि गत आइतबार विपद् व्यवस्थापनसँग सम्बन्धित विज्ञहरुसँग छलफल गरेका थिए । देशभर र मूलतः सिन्धुपाल्चोकमा हालैको मनसुनजन्य विपत्तिबाट भएको क्षति, प्रभाव, पुनर्स्थापना एवं पूर्व तयारीका विषयमा केन्द्रित सो छलफलका सहभागीहरुले ७७ जिल्लामध्ये भूगोल र मौसमका हिसाबले सो जिल्ला निकै जोखिममा रहेको जानकारी गराउँदै अलग्गै योजना बनाएर काम गर्नु उपयुक्त हुने बताएका थिए ।

विज्ञले पूर्व तयारीका लागि पूर्व सूचना प्रणालीको विकास, जोखिम अध्ययन गरी पहिरो, नदी नियन्त्रणका क्षेत्रमा तत्काल काम सुरु गर्नु पर्ने बताएका थिए ।सिन्धुपाल्चोकमा विपद् व्यवस्थापनको नमूना योग्य काम गरी देशका अन्य स्थानमा पनि सो विधि लागू गर्न सकिने उनीहरुको सुझाव थियो ।

छलफलमा विज्ञहरु डा. गंगालाल तुलाधर, डा. हरिकृष्ण श्रेष्ठ, डा. रञ्जनकुमार दाहाल, डा. कृष्ण देवकोटा र डा. रविनराज निरौला सहभागी थिए । सभामुख सापकोटाले आजै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलसँग जिल्लाको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएको उनका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

मा प्रकाशित