सर्पदंशको जोखिम बढ्यो, अलमल गर्दा जान सक्छ ज्यान

दशरथ घिमिरे

दाङ । गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी १२ वर्षीया रेश्मा बोहरालाई विषालु सर्पले डस्यो। शुक्रबार बिहान गोठमा पराल लिन गएको समयमा उनलाई सर्पले डसेको हो। उपचारको लागि सर्पदंश उपचार केन्द्रमा लगियो। त्यहाँ पुर्‍याउँदा बिरामीको अवस्था जटिल भैसकेको थियो। सम्भव नभएपछि रेफर गरियो । लमही अस्पतालमा बालिकको मृत्यु भयो।

‘सर्पदंशमा उपचार थाल्न खोजियो। भेन ओपन नै भएन’, सर्पदंश उपचार केन्द्र गढवामा कार्यरत स्वास्थ्यकर्मी देवीराम आचार्यले भने, ‘बिरामी अर्धचेत अवस्थामा थिए। विष चढीसकेकाले उपचार नै सुरु गर्न सकिएन।’ सर्पदंशका बिरामीलाई विषालु सर्पले डस्यो भने तुरुन्तै अस्पताल पुर्‍याउन कुनै अलमल अथवा विलम्ब गर्न नहुने उनले बताए।

राजपुर गाउँपालिका वडा नं. ३ निवासी १० वर्षीय संगम यादवलाई गत असार २६ गते विषालु सर्पले डस्यो। उपचारको लागि लमही ल्याउन खोजियो। तर, ढिला भयो। धान रोप्नको लागि खेत तयार पार्न संगम बुवा–आमासँगै खेत पुगेका थिए। खेतको आलीमा उभिएको बेला सर्पले डस्यो। त्यपसछि यादवको शरीरमा विष चढ्न थाल्यो ।

आली खन्दा मुसा भेटिएको थियो। मुसाले टोकेको भनेर ढुक्क हुने अवस्था नभएपछि उपचारको लागि अस्पताल पुर्‍याउन थालियो । लमही पुर्‍याउन नपाउँदै बिचमै संगमको मृत्यु भयो।

‘समयमा थाहा पाउन पनि सकिएन। बेहोस भएपछि सर्पले डसेको अड्कल गरियो’, यादवका बुवा गुरुप्रसाद यादवले भने, ‘सर्पले डसेर छोरा गुम्यो। उसलाई बचाउन सकिएन।’

दाङमा सर्पदंशका बिरामीले उपचारको अभावमा ज्यान गुमाउने गरेका छन्। अस्पताल पुर्‍याउन ढिलो हुँदा सर्पदंशका बिरामीले अकालमा ज्यान गुमाउने गरेका हुन्। जिल्लाका सरकारी अस्पतालमा सर्पदशंका बिरामीको उपचारको व्यवस्था नहुँदा अझै जिल्ला बाहिर जानुपर्ने बाध्यता छ।

‘मलाई सर्पले डसेपछि गोरुसिंगे लगिएको थियो। त्यहीँ उपचार भएपछि निको भएँ’, लमही नगरपालिका वडा नं. २ निवासी सागर आचार्यले भने, ‘घरासयी उपचारमा नअल्झिएर चाँडै सर्पदंश उपचार केन्द्रमा जानुपर्दाे रहेछ। जति ढिलो गर्‍यो उति जोखिम रहेछ।’

सर्पदंशका बिरामीलाई अस्पताल पुर्‍याउनुको साटो झारफुक र धामी झाँक्रीको भरपर्दा उपचार नपाएर मृत्यु हुने दर बढि छ । गत २०७७ वैशाखदेखि चैतसम्म सर्पदंशका कारण जिल्लामा पाँचजनाको मृत्यु भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत विश्वप्रकाश अर्यालले बताए।

आर्थिक वर्ष २०७६/०७७ मा मात्रै १३ जनाको सर्पले डस्दा मृत्यु भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांक छ। हरेक वर्ष सर्पदंशका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। ०७४/०७५ मा दुई जना र ०७५/०७६ मा तीन जनाको मृत्यु भएको थियो। देउखुरीको राजपुर, गढवा, राप्ती गाउँपालिका र लमही नगरपालिका सर्पदंशको उच्च जोखिममा छन्।

सरकारी अस्पतालमा ‘एन्टी स्नेक भेनम’ भए पनि सर्पदंशका बिरामीले उपचार पाउँदैनन्। जिल्लाको लमही, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, तुलसीपुर प्रादेशिक अस्पतालबाट सर्पदंशका बिरामीलाई प्राथमिक उपचारपछि जिल्ला बाहिर पठाउने गरिएको छ। सर्पदंशका कारण हरेक वर्ष कम्तीमा ५ देखि ७ जनाको मृत्यु हुने गरेको छ। गर्मी र बर्खा दुवै मौसम छ, यतीबेला सर्पदंशका घटनाहरु बढ्ने गर्छन्। दाङ पनि सर्पदंशको जोखिम जिल्ला भित्र पर्छ।

गढवा सर्पदंशको उपचार जारी, लमहीमा सञ्चालनको तयारी
सर्पदंश उपचारको लागि गढवामा सर्पदंश केन्द्र स्थापना भएको छ। यो सर्पदंश उपचार केन्द्रमा विषालु सर्पले डसेर उपचारका लागि पुगेकाहरुले नयाँ जीवन पाउन थालेका छन्। बिरामीको अवस्था बिग्रीसकेपछि उपचार केन्द्रमा पुर्‍याउँदा उपचार गर्न गाह्रो पर्ने गरेको छ।

‘सर्पले डस्ने बित्तिकै उपचारको लागि पुर्‍याउनुपर्छ। झारफुक गर्ने र घरमै अलमलिँदा बिरामीको ज्यान जोखिममा पर्छ’, गढवा सर्पदंश उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी देवीराम आचार्यले भने, ‘यहाँ आउने धेरै बिरामी विषालु नभएका सर्पले डसेर आउने हुनुहुन्छ।’

गढवामा नेपाली सेनाको निगरानीमा उपचार हुने गरेको छ। यता लमही नगरपालिकाले लमही अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालनको तयारी गरेको हो। कर्मचारी भर्ना गरेर सर्पदंशको उपचार सुरु गर्ने योजना रहेको नगर प्रमुख कुलबहादुर केसीले बताए।

विषालु सर्पले टोकेको हो भनेर कसरी थाहा पाउने?
विषालु सर्पले टोकेको ठाउँमा सुन्निन्छ।

बिरामीले छिटाेछिटो सास फेर्न थाल्छ।

टोकेको ठाउँमा घोचेको जस्तो अनुभव हुन्छ।

हातखुट्टा कडा र बाउँडिन थाल्छन्।

चक्कर लाग्न थाल्छ।

कतिपय अवस्थामा बेहोस हुन सक्छन्।

रिस उठ्छ र झर्किन थाल्छ।

रक्तश्राव समेत हुन सक्छ।

निलो डाम बस्छ।

टोकेको ठाँउमा स–सना फोका देखिन थाल्छ।

लिम्फ ग्रन्थी सुन्निन थाल्छ। संक्रमण वा नेक्रोसिस हुन्छ।

सर्पले टोकेपछि स्नायु प्रणालीमा समेत लक्षण देखिन्छ। जस्तो की स्वादमा भिन्‍नता हुन्छ।

बान्ता(उल्टी) हुन सक्छ । आँखाको परेला उठाउन गाह्रो हुन्छ।

स्वरमा परिवर्तन आउँछ। नाडी छिटो छिटो चल्छ।

यी चिन्ह र लक्षणहरु विशेष गरेर कोब्रा, करेत जस्ता बिषालु सर्पका टोकाइका कारण देखिने गरेका चिकित्सकहरु बताउँछन्।

 

सर्पले टोकिसकेपछिको प्राथमिक उपचार
बिरामीलाई सबैभन्दा पहिले शान्त पार्नुपर्छ।

बिरामीलाई सजिलो हुने गरि भुँइमा सुताउनुपर्छ र शरीरमा कसिएको लुगा फुकाली दिनुपर्छ।

टोकेको ठाउँ वरिपरि प्रेसर ब्यान्डेज लगाउनुपर्छ।

यी सबै कुराहरु गरिसकेपछि छिटोभन्दा छिटो नजिकैको उपचार केन्द्रमा पुर्‍याउनु पर्छ।

गर्मी भयो भनेर घाउमा बरफ लगाउनु हुँदैन।

डाक्टर र विशेषज्ञको सल्लाहबिना औषधि प्रयोग गर्दा अर्को समस्या आउन सक्छ।

यस्तो अवस्थामा भुलेर पनि रक्सी पिउनु हुँदैन।

रक्सीले विषको मात्रालाई शरीरमा छिटो फैलाउन मद्दत गर्ने डाक्टरहरुकाे भनाइ छ।

 

सर्पले टोकेपछि के नगर्ने?
टोकेको घाउलाई नचलाउने। यसबाट अरुलाई पनि संक्रमण हुने र विष छिटो फैलिने सम्भावना हुन्छ।

रबर वा डोरीले कडा रुपमा नबाँध्ने। यसले रक्तसञ्‍चार अवरुद्ध पार्छ।

यदि रबर तन्किएर ४० मिनेटभन्दा बढी बाँधेमा रक्तकोषिकाहरु मर्दै जान्छ।

धामी झाँक्रीसँग उपचार गराउँछु भन्दा बिरामीको मृत्यु हुने सम्भावना बढ्ने भएकाले जतिसक्दो चाडो स्वास्थ्य चौकी वा केन्द्रमा लैजाने गर्नुपर्छ।

टोकेको ठाउँमा कुनै बस्तुले नकाट्ने, नचुस्‍ने, कुनै मलम वा रसायनिक औषधि नलगाउने सुझाव चिकित्सकहरुले दिने गरेका छन्।

साभार : देशसञ्चार डट कम

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']
Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID