
काठमाडाैं । लगातार परेको अविरल वर्षाका कारण देशभर ५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ५ जनाले ज्यान गुमाउँदा १४ जना बेपत्ता भएका छन् ।
सिन्धुपाल्चोकमा सात जना र जाजरकोटमा सात जना बेपत्ता भएकाे प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए । बाढीले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । बुधवार साँझसम्म मृतकको पहिचान खुल्न सकेको छैन । पाल्पा, कास्की र डोटीमा एक–एक जनाको मृत्यु भएको छ ।
बुधवार साँझसम्म देशभर २२ ठाउँमा बाढी र पहिरोले क्षति गरेको छ । बाढी र पहिरोबाट २६ जना घाइते भएकाे विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राकृतिक प्रकोपका कारण देशभर १ सय ६२ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई स्थानीय प्रशासनले जनप्रतिनिधिसँग समन्वय गरेर सुरक्षित ठाउँमा सारेका छन् ।
बाढी र पहिरोका कारण ५२ घरहरु भत्किएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ४ वटा सरकारी कार्यालय र ५ वटा पुल भत्किएका छन् ।
