पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेश सभामा विश्वासको मत दिँदैछन् । तर, मुख्यमन्त्री गुरुङको सरकार टिकाउन खम्बा बनेका राजीव गुरुङ (दीपक मनाङे) ले अन्तिममा आएर उनको साथ छाडेका छन् । सरकार जोगाउनकै लागि एमालेको आग्रहमा मन्त्री बनेपनि अहिले सरकार ढल्ने र प्रदेश सभा पनि विघटनको दिशामा गएकाले गुरुङ नेतृत्वको सरकारको साथ छाड्ने अवस्थामा दीपक मनाङे पुगेको बताइएको छ ।
मुख्यमन्त्री गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिने प्रस्ताव मंगलबार संसद सचिवालयमा दर्ता गराएका थिए । गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार आज विश्वासको मत लिन लागेको हुन् ।
यस्तै मुख्यमन्त्री गुरुङले बहुमत हासिल गर्न नसके संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने योजना बनाएपछि आफू एकजना विपक्षमा उभिँदा संसद विघटनबाट जोगिने र प्रदेशमा स्थिरता काय हुने भएकाले विपक्षी गठबन्धनलाई साथ दिने सोच बनाएको मनाङेको भनाइ छ । बुधबार साँझ भएको मन्त्रीपरिषदको बैठकमा समेत मनाङे अनुपस्थित रहेका थिए ।
मनाङेले साथ छाडेपछि प्रदेशसभामा मुख्यमन्त्री गुरुङसँग अहिले २७ सांसदको मात्र समर्थन रहेको छ । गण्डकी प्रदेशसभाका ६० सांसद छन् । एमालेका २७ सांसदमध्ये प्रदेशसभामा माधव–झलनाथ खनाल पक्षका एकमात्र सांसद इन्द्रलाल सापकोटा रहेका छन् ।
हाल उनले पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्। तर, काँग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन नगर्ने बताइरहेका जनमोर्चाका सांसद कृष्ण थापाले मुख्यमन्त्री गुरुङलाई मत दिन्छन् वा दिँदैनन्, त्यो खुलेको छैन। सांसद थापा पार्टी निर्देशन विपरीत गुरुङ नेतृत्वको सरकार जोगाउन लागेपछि कारबाहीमा परेका थिए ।
यदी सांसद थापाले एमालेलाई समर्थन गरेको अवस्थामा एमालेको सांसद संख्या २८ हुन्छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकी प्रदेशमा सरकार बनाउनका लागि ३१ मत आवस्यक पर्छ । विपक्षी गठबन्धनसँग माओवादी केन्द्रका सभामुख सहित १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ मध्ये २, जनता समाजवादी पार्टीका २ र मनाङेसहित ३२ मत पुग्ने छ । सभामुखले दुबै पक्षको बराबर मत भएको अवस्थामा मात्रै मत हाल्न पाउँछन् ।