सभामुखलाई पूर्वसभामुखहरुको सुझाव– आवश्यक परे संसद बोलाउन तयार रहनुस्

गणतन्त्र नेपाल संवाददाता
काठमाडाैं । सभामुख अग्नि सापकोटालाई पूर्वसभामुखहरुले आवश्यक परेमा संसद् बैठक बोलाउन तयार रहन सुझाव दिएका छन् ।

अहिले मुद्दा अदालतमा पुगेकाले तत्कालै संसद बैठक बोलाउँदा नकारात्मक सन्देश जाने र अदालतलाई नै अहिले सहयोग गर्नुपर्ने तर आवश्यक पर्दा सभामुखले विशेषाधिकार प्रयोग गर्न तयार हुनुपर्ने सुझाव उनीहरुले दिएका छन् ।

एक पूर्वसभामुखका अनुसार पूर्वसभामुख कृष्णबहादुर महराले आवश्यक परे संसदकाे बैठक बोलाउन सभामुख तयार रहनुपर्ने सुझाव दिएका छन्।

पूर्वसभामुख ओनसरी घर्तीले पनि अन्तिम विकल्पमा संसद बोलाउन तयार रहनुपर्ने सुझाव दिएकी छिन् । “अन्तिम विकल्प हो । सकेसम्म यसमा जान नपरोस्,” स्रोतले भन्यो, “जानै पर्‍यो भने संसद् बैठक बोलाउन तयार रहनुहोला भन्ने पूर्वसभामुखहरुको सुझाव थियो ।”

पूर्वसभामुखहरुको सुझावपछि सभामुख अग्नि सापकोटाले संसदकाे रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार भएको बताए । दुई दुईपटक संसद विघटन गरिएको हुँदा याे पूर्णयता असंवैधानिक रहेको पूर्वसभामुखहरुकाे जिकिर थियाे।

पूर्वसभामुख रामचन्द्र पौडेलले देश संकटपूर्ण अवस्थामा रहेको बेला नै जनप्रतिनिधि सभा नभएको बताउँदै सदनबाटै निकास दिनुपर्ने धारणा राखे ।

“राजनीतिकरुपमा संकटग्रस्त अवस्थामा पुर्‍याइएको छ । देश संकटग्रस्त छ । यस्तो संकटको बेलामा प्रतिनिधिसभा छैन,” पौडेलले पत्रकारहरुसँग कुरा गर्दै भने, “सदनबाटै निकास पाउनुपर्छ । जनताको अस्तित्वमाथि कसैले पनि खेलवाड गर्नुहुँदैन । केही कदम चाल्नुपरे म तयार छु भनेर सभामुखले भन्नुभयो । संसद्को रक्षाका लागि उहाँले कुनै पनि कदम चाल्न तयार रहेको बताउनुभयो ।”

पूर्वसभामुख ओनसरी घर्तीले सरकार बन्ने अवस्था रहँदा रहँदै पनि संसद विघटन हुनु दु:खद भएको बताइन् । “परामर्शको सवालमा अरुसँग पनि छलफल गर्ने बताउनुभयो,” उनले भनिन्, । संसद भनेको जनताको प्रतिनिधित्व गर्ने संस्था हो । चारैवटा विकल्प फेल हुने अवस्थामा बल्ल विघटन गर्ने व्यवस्था  भए तापनि रक्षकले नै भक्षकको काम गरेको भन्दै निन्दा गरिएको उनले जानकारी दिइन् । संविधानमा भएको व्यवस्थाअनुसार संसदकाे विशेषाधिकारमाथि छलफल पनि भएको थियो ।

आजको बैठकमा पूर्वसभामुख सुवास नेम्वाङ भने अनुपस्थित थिए । स्रोतका अनुसार नेम्वाङले आफ्नो कार्यव्यस्तताका कारण छलफलमा भाग लिन नपाएको बताएका थिए ।

मा प्रकाशित