जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने निश्चित, शपथको तयारी

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी गरेका हुन् ।

‘हामीले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेका छौं । त्यसमा प्रधानमन्त्रीले सहमति जनाइ सक्नुभएको छैन । छलफल जारी भएकाले मन्त्रालय र मन्त्रीको दुबै पक्षबाट टुंगो लगाए तत्काल शपथ हुन्छ’ महन्थ–राजेन्द्र पक्षका एक सांसदले भने,‘मन्त्री र मन्त्रालयको टुंगो लगाए बिहीबार वा शुक्रबारसम्म शपथ हुन सक्छ ।’

अध्यक्ष महन्थ ठाकुरले सरकारमा जान इच्छा नदेखाएकाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ओली सरकारमा जाने तयारी गरिएको उनले बताए । महतोसहित मन्त्रीको आकांक्षीमा लक्ष्मणलाल कर्ण, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अरगरिया, इकबाल मिँया र  बिमल श्रीवास्तव रहेका छन् ।

‘प्रधानमन्त्रीज्यूले उदारपूर्वक जसपाका माग मुद्दा सम्बोधन गर्नुभएको छ । संविधान संशोधनका लागि कार्यदल बनाउनु भएको छ । नागरिकता विधेयक पास भएको छ। मधेस आन्दोलनका मुद्दा फिर्ता भएका छन् । कतिपय फिर्ताको प्रक्रियामा छन्। रेशम चौधरी हप्तादिनभित्रै छुट्ने तयारीमा हुनुहुन्छ’ महन्थ–राजेन्द्र पक्षका ती सांसदले भने,‘जसपाका अधिकांश माग र मुद्दा सम्बोधन भइसकेकाले सरकारमा जान जसपालाई कुनै समस्या छैन ।’

तर अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भए निष्काशन गर्ने निर्णय गरेको छ। शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो।

मा प्रकाशित