
म्यान्मार । म्यानमार सेना प्रमुख मिन अङ लाइङले आङ साङ सुचीको स्वास्थ्य अवस्था राम्रो भएको बताएका छन्। गत फेब्रुअरी १ मा सत्ता हत्याएपछि लाइङले पहिलोपटक अन्तर्वार्ता दिँदै सुचीको स्वास्थ्य अवस्था राम्रो भएको र उनलाई केही दिनमा अदालतमा उपस्थित गराइने बताए।
हङकङको फिनिक्स टेलिभिजनसँगको अन्तर्वार्तामा लाइङले भनेका छन्,‘आङ साङ सुचीको स्वास्थ्य अवस्था राम्रो छ। उनी घरमै छिन् र केहीदिनमै उनलाई अदालतमा उपस्थित गराइनेछ।’ सोमबार सुची राजधानी नेपिटाको अदालतमा उपस्थित हुनेछिन् त्यहाँ उनले आफ्ना वकिलहरुसँग सिधै कुरा गर्न सक्नेछिन्। सुची नजरबन्दमा रहेयता उनीमाथि सेनाले धेरैवटा कानुन उल्लंघन गरेको आरोप लगाएका छन्। जसका कारण उनलाई जेल सजाय पनि हुनसक्छ।
कोरोना प्रकोपका बेला कोरोनाविरुद्धको नियम उल्लंघन गरेको साथै लाइसेन्स नभएको वाल्की–टकी फोन बोकेको उनीमाथि आरोप लगाएको छ। अफिसियल सिक्रेट एक्टको उल्लंघन उनीमाथि लागेकाे सबैभन्दा ठूलो आरोप हो। शुक्रबार सुचीको पार्टी एनएलडीले धाँधली गरेर चुनाव गरेका कारण उनको पार्टी नै खारेज गर्ने त्यहाँको निर्वाचन आयोगले चेतावनी थियो।
हालै सेनाले निर्वाचन आयोगको प्रमुखमा नयाँ व्यक्ति नियुक्त गरेका थिए। त्यहाँका जनताले सुचीलाई सेनाले जेल हाल्ने प्रयास गरेको भनेर विरोध जनाइरहेका छन्।
देशका राष्ट्रपति विन मिन्ट तथा सुचीसहित शीर्ष नेताहरुलाई घरमै नजरबन्दमा राखेर सेनाले गत फेब्रुअरी यता देशमा सैन्य शासन लागू गरेका हुन्। गत नोभेम्बरको चुनावमा धाँधली गरेर सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले चुनाव जितेका कारण सैन्य शासन लागू गरिएको सेनाको भनाइ छ।
एक वर्षपछि आम निर्वाचन गराएर मात्र चुनाव जित्ने पार्टीलाई सत्ता हस्तान्तरण गर्ने सेनाको भनाइ छ।
सो क्रममा सैन्य शासनको विरोध गर्ने ८ सयभन्दा बढी मानिसको सेना तथा प्रहरीको गोली लागेर मृत्यु भएको छ भने हालसम्म ४ हजारलाई प्रहरीले गिरफ्तार गरिसकेको छ। बीबीसी




