काठमाडौं । जेठ २० गतेभित्रै उपयुक्त मूल्यांकन प्रक्रियाबाट विद्यार्थीको मूल्यांकन गरी जेठ मसान्तसम्ममा नतिजा प्रकाशन सक्न काठमाडौं महानगरपालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । शिक्षा नियमावलीमा संशोधन गरी सरकारले यसअघि नै असारदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरेका आधारमा महानगर शिक्षा शाखा प्रमुख रामप्रसाद सुवेदीले सबै विद्यालयलाई लिखित निर्देशन दिएका हुन् ।
परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्र सम्बन्धमा सुवेदीद्वारा विद्यालयहरुलाई पठाईएको पत्रमा शैक्षिक सत्र २०७७ को बार्षिक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरेबमोजिम विद्यालयअनुकुल मूल्यांकन गर्न भनिएको छ । अनलाईन, अफलाईन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित अर्धवार्षिक परीक्षा टेलिफोन, निरन्तर विद्यार्थी मूल्यांकन, ईमेलबाट प्रश्न पठाएर वा विद्यालयअनुकुल अन्य उपयुक्त ढाँचा अपनाउन भनिएको छ ।
स्थानीय सरकारले लिने कक्षा ८ को परीक्षाका बारेमा भने यथाशीघ्र सूचना गरिने जनाईएको छ । महानगरभित्र ९२ वटा सामुदायिक ६ सय ४५ वटा निजी विद्यालय छन् ।