प्रधानमन्त्रीको निर्देशन– ‘हप्ताभरिकाे कामलाई दिनमै गरेर भएपनि नागरिकको जीवन रक्षा गर्नुस्’

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरहालतमा नागरिकको जीवन रक्षाका लागि काम गर्न निर्देशन दिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए।

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको संक्रमणबाट नागरिकको जीवन रक्षाका लागि प्रक्रिया छोट्याएर भएपनि काम गर्न सरकारी संयन्त्रलाई निर्देशन दिएका छन् । उनले प्रक्रिया छोट्याएर हप्तामा हुने कामलाई दिनमा र दिनमा हुने कामलाई घण्टामा गरेर भएपनि जनताको जीवन रक्षा गर्न निर्देशन दिए ।

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकलाई आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हरहालतमा नागरिकको जीवन रक्षाका लागि काम गर्न निर्देशन दिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बताए। ‘प्रक्रियामा अल्झिएर या आर्थिक स्रोतको अभावले कुनै पनि नागरिकको ज्यान नजाओस् । प्रक्रिया छुट्टाएर हप्तामा हुने कामलाई दिनमा र दिनमा गर्नेलाई घण्टामा गरेर भएपनि तत्काल नागरिकको जीवन रक्षाका लागि जे–जे गर्नुपर्छ गर्नुस्,’ ओलीको भनाइ उद्धृत गर्दै ज्ञवालीले भने, ‘कानून र प्रक्रिया मिलाउने हो भने त्यो गर्नुस् । र्‍यापिड रेस्पोन्स टीम बनाउने हो भने त्यो पनि गर्नुस्, तर, हरहालतमा नागरिकको जीवन रक्षा गर्न तद्अनुरूप काम गर्न निर्देशन दिनुभएको छ ।’

मन्त्री ज्ञवालीले स्वास्थ्य संकटकाल लगाउने विषयमा पनि अध्ययन भइरहेको उल्लेख गर्दै फलदायी हुने अवस्थामा मात्र त्यसो गरिने बताए । ‘अहिले हामीलाई तीनवटा समस्या परेको छ । पहिलो देशको समग्र स्वास्थ्य प्रणालीलाई महामारी विरुद्ध लगाउनुपर्नेमा केही स्वास्थ्य संयन्त्र स्वास्थ्य मन्त्रालय मातहतका छन्, केही शिक्षा मन्त्रालयअन्तर्गत स्वायत्त संस्था छन्, केही स्थानीय तहका छन्, युनिफाइड गर्नका लागि कानूनी प्रबन्ध चाहिएको छ,’ ज्ञवालीले भने ।

सार्वजनिक खरिद ऐनको प्रावधानका कारण खोप ल्याउनका लागि एड्भान्स दिन नसकिएको उनले बताए । मन्त्री ज्ञवालीले गत साता देखिएको अक्सिजनको अभाव अब क्रमशः कम हुँदै जाने बताए । ‘अक्सिजनको उत्पादन बढाउन प्लान्टलाई फूल क्यापासिटीमा चलाउन लगाउने र त्यसका लागि प्रोत्साहनस्वरूप उद्यमीलाई विद्युतको डिमान्ड चार्जमा छुट दिने कुरा गरेका छौ, देशभित्रका अक्सिजन प्लान्ट शतप्रतिशत क्यापासिटीमा सञ्चालन हुन्छन्,’ ज्ञवालीले भने, ‘लिक्विड अक्सिजनका लागि भारतसँग पहल भइरहेको छ, आइ पनि रहेको छ । थप ल्याउनका लागि आवस्यक ट्याकंरलगातयको प्रबन्ध गर्ने काम गर्दैछौं ।’

मा प्रकाशित