पिसिआर टेष्ट गरेर मात्र नेपाल जान महावाणिज्य दूतावासको आग्रह

रासस

काठमाडौँ । नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ । महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना भाइरसविरुद्धको खोपका लागि कुनै कागजपत्र आवश्यक परे महावाणिज्यदूतावासमा सम्पर्क राख्न आग्रह गरे ।

कोरोना भाइरसविरुद्ध जीत हासिल गर्न नेपाल र भारतका स्वास्थ्य मापदण्ड अपनाउन, घरैमा बस्न तथा सबै नेपाली एकजुट हुन पनि उनले अनुरोध गरेका छन् । यसैबीच श्रीश्रीश्री जानकी माता नेपाली धार्मिक सङ्घले कोरोना पीडित नेपालीका लागि दुई एम्बुलेन्समार्फत निःशुल्क घुम्ती सेवा शुरु गरेको छ ।

नेपालीहरु कसैलाई अस्पताल जान आउन वा अन्य समस्या भएमा एम्बुलेन्स सेवा लिन आग्रह गरिएको सङ्घका सभापति गुञ्जदास श्रेष्ठ र जानकी माता नेपाली महिला कल्याणकारी कोषका अध्यक्ष रमा शर्मा पौडेलले बताइन् ।

मा प्रकाशित