काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा कोभिड विरुद्धको खोप लगाएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् ।
उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने बताए । सरकार गठनमा नेकपा एमालेको माधव नेपाल पक्षबाट धोका भएको हो भन्ने जिज्ञासामा अध्यक्ष प्रचण्डले अहिले नै धोका भयो भनेर टिप्पणी गर्न हतारो हुने बताए ।
उनले भने, ‘अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न । किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौ । उहाँहरु भित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरु आफू पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ । म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एकठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु ।’