काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सबै दल सहभागितामा सरकार गठन गरेर एक वर्षभित्र चुनावको प्रस्ताव गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री भट्टराईले देशको संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा वर्तमान र पूर्व प्रधानमन्त्री बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन् ।
उनले दलका प्रमुख तथा पूर्व प्रधानमन्त्री रहेको निर्देशन समिति बनाउने पनि प्रस्ताव गरेका छन् । भट्टराईले साझा न्यूनतम कार्यक्रम, कोभिड नियन्त्रण, संविधान संसोधन, आर्थिक राहत लगायतका विषय लागू गरेर एक वर्षभित्र चुनावको प्रस्ताव गरेका हुन् ।
उनले लेखेका छन्,”देशको संकट हल गर्न यसो गरौं: १. धारा७६ (२) वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रमवाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं; २.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति; ३.साझा न्यूनतम कार्यक्रम (कोभिड नियन्त्रण, TRC/मुद्दा, संविधान संशोधन, आर्थिक राहत इ.)लागू ४. एक बर्षभित्र चुनाव !”
नयाँ सरकार गठनको विषयमा जनता समाजवादी पार्टीभित्रै विवाद छ । महन्थ ठाकुर नयाँ सरकार बनाउने प्रक्रियामा सहभागी नहुने बताएका छन् भने भट्टराई र उपेन्द्र यादव नयाँ सरकार गठन प्रक्रियाका लागि तयार भएका छन् । पार्टीको आन्तरिक विवादकै बीच भट्टराईको यो प्रस्ताव आएको हो ।