संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री

प्रचण्डप्रति कटाक्ष

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने दावी गरेका हुन् ।

‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको बीचमा फरक हुन्छ । त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन । बोरिस जोन्सनले अस्ति भर्खर चुनाव गराउनु भयो । संसद विघटन भयो । बेलायतमा कसैले पनि लोकतन्त्र समाप्त भयो, बोरिस जोन्सनले हाम्रो लोकतन्त्रको हत्या गरे भनेर रुँदै कराउँदै हिँडेनन् । चुनावमा गए, फेरि चुनावबाट छानिएर आए ।’

‘ढिलोमा डेढ वर्षमा चुनाव हुनु नै छ । के संसदले त्यसो गर्दा लोकतन्त्रको हत्या हुन्छ ? यसभन्दा अघि पनि थुप्रै पटक भएका छन् ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्दै लोकतन्त्रविरुद्ध आन्दोलन गर्नेहरुले लोकतन्त्रको तरफदारी गरेको देख्दा आफूलाई खुसी लागेको ओलीले बताए । त्यस्तै, संसदमा नेताहरुले संसदले विश्वासको मत दिन दिँदैन भन्दा आफूलाई पनि त्यस्तो लाग्न थालेको उनले जिकिर गरे ।

त्यसैगरी प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रश्नकाे पनि जवाफ दिएका छन् । यादवले मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेकोबारे प्रश्न उठाएका थिए । अहिले मधेशीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई चार आँप झरेका हुन् भन्नुहुन्थ्यो । के अहिले त्यै आँप खुवाएर फकाउहुनु हुन्छ तपाईं ? भन्ने यादवको प्रश्न थियो ।

यसको जवाफमा ओलीले त्यसलाई अपव्याख्या गरिएको प्रष्टीकरण दिए । उनले भने, ‘मैले मानव साङ्लोलाई माखे साङ्लो भनेको भनेर उधुम मच्चाइयो । मैले माखाको साङ्लो भनेको होइन । जटिल भयो भनेको हो ।’ यस्तै ओलीले आन्दोलनकारी मारिँदा एक दुई आँप झरेको नभएको पनि दाबी गरे । ‘अन्य प्रसंगमा आँपको रुखबाट एक दुई वटा आप झर्दा रुख नै सकिँदैन भनेको हो’ ओलीकाे जिकिर थियाे ।

मा प्रकाशित