सरकारले नै संविधान भत्काउने प्रयास ग¥याे– सभापति देउवा

छातीमा हात राखेर साेच्न आग्रह ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले अरुमाथि दोष थुपारेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताएका छन् । प्रतिनिधिसभाको विशेष बैठकमा दलका तर्फबाट धारणा राख्दै सभापति देउवाले अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था कसका कारणले आएको भन्दै प्रश्न गरे ।

उनले संविधानले व्यवस्था गरेको लोकतान्त्रिक मूल्य मान्यतामा सरकार नचलेकाे आराेप लगाए । सभापति देउवाले सरकार सञ्चालनको जिम्मा लिएकाहरुबाट संविधान सुरक्षित नरहेकाे जिकिर गरे । उनले झण्डै दुई तिहाइ गठबन्धनबाट यो सरकार बनेकाे भएतापनि आज विश्वासको मत माग्नुपर्ने अवस्था आएको भन्दै ‘यसका लागि को जिम्मेवार छ ? संविधानले प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिएपनि प्रधानमन्त्रीलाई देश र जनताको हितमा काम गर्न के ले रोकेको छ ?’भन्दै प्रश्न गरे ।

उनले ‘आफु कार्यकारी प्रधानमन्त्री हुने अनि अरुलाई दोष थोपर्ने ? अरुमाथि दोष थुपारेर प्रधानमन्त्री भाग्न पाउनुहुन्छ ? ओली नेतृत्वको सरकार पुर्ण रुपमा असफल भएको छ । छातीमा हात राखेर सोच्नुस् यो अवस्था तपाईले सिर्जना गरेको राजनीतिक अस्थिरता, दम्भ र स्वेच्छाचारिता होइन ? ’देउवाले ओलीलाई प्रश्न गरे ।

उनले कोभिड महामारीले जनता छटपटाइरहेका बेला थोरै मानिसलाई खोप दिएको भन्दै जनताको जीवन रक्षा गर्ने औषधिमाथि भ्रष्टाचार गर्नु गैरजिम्मेवारिताको पराकाष्ठा भएको बताए । उनले आफ्ना जनतालाई अक्सिजन व्यवस्था गर्न नसक्ने र जनता मर्दा टुलुटुलु हेर्नु निरीहता भएको भन्दै सरकारले नै संविधान भत्काउने प्रयास गरेको आरोप लगाए ।

मा प्रकाशित