ग्राउन्ड रियालिटी : दुइ देशको सीमा स्तम्भ सिमलको बोट

‘दशगजामा सीमा स्तम्भ नभएका कारण सिमाना छुट्टयाउन सिमलको बोट मान्नुपर्ने बाध्यता’

शिवु खनाल, २५ वैशाख

दाङ ।  नेपाल भारत सीमाक्षेत्र नजिकै रहेको दशगजामा ठुलो सिमलको बोट छ । दक्षिणतर्फ भारत र उत्तरतर्फ नेपालको बिचमा दशजगाको केन्द्र विन्दुमा ठूलो सिमलको बोट छ । सिमलको बोटदेखि उत्तरतर्फ नेपाल छ । जहाँ रहेकाे भौवाखोला भारततर्फ बग्दछ ।

सिमलको बोटदेखि उत्तरतर्फ नेपालका बस्तिहरू सजिलैसँग देख्न सकिन्छ भने पश्चिमतर्फ ६ सय २५ नम्बर र पूर्वमा ६ सय २४ नम्बरको नेपालको सीमा स्तम्भ रहेको छ । दुई देशको सिमानालाई छुट्याउने सीमा स्तम्भका रुपमा यही सिमलको बोटलाई मान्दै आएकाे  दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी नेकबहादुर श्रेष्ठले गणतन्त्रनेपाललाइ बताए ।

‘रूकुमबाट २०४२ सालमा बसाइँसराइ गरि भौवानाका आएदेखि दुई देशलाई छुट्याउन यहीँ सिमललाई मान्दै आएकाे श्रेष्ठ बताउँछन् । दशजगामा सीमा स्तम्भ नभएकै कारण सिमलको बोटलाई सीमा स्तम्भ मान्दै आएकाे उनकाे जिकिर छ । सिमलको बोटदेखि ठ्याक्कै दक्षिणतर्फ भारतीय प्रहरी (एस.एस.बी) काे क्याम्प रहेको छ ।

बसाइँसराइ गरेर भौवानाका झरेका अधिकांश सीमाबासीहरूले दशजगामा सीमा स्तम्भ नभएकै कारण दुई देशको सीमा छुट्याउन सिमलको बोटलाई मान्दै आएका हुन् । ‘बसाइँसराइ गरेर भौवानाका झरेदेखि यहि सिमलले दुई देशको सिमाना छुट्याउँदै आएको छ ।

बसाइसराई गरि हामी आउँदा सानो बिरुवा थियो । अहिले बढेर अन्दाजी दुईसय फिट अग्लो भएको छ – स्थानीय मंगल खड्काले भने । ‘भारतले पनि सिमलदेखि दक्षिणतर्फ खनजोतदेखि लिएर अन्य केही कामकाज गर्न दिदैन । जे गर्छाैं सिमलदेखि उत्तरतर्फ कामकाज गर्छाैं हामीले ।’ स्थानीयवासी खड्काले बताए ।

दशजगामा नेपालको सीमा स्तम्भ नभएकै कारण सिमलको बोटलाई सीमा स्तम्भ मान्न बाध्य भएको खड्काकाे भनाइ छ । आफ्नै गाउँपालिका आउन पनि भौवानाकाबासीलाई भारतको भुमि प्रयोग गर्नुपर्ने बाध्यता छ । यसकारण उनिहरूले भारतीय सुरक्षाकर्मीको ज्यादती सहनु परेको खड्काकाे गुनासाे छ ।

नेपाली भुमि प्रयोग गर्नका लागि वर्षायाममा गतिलो बाटो नहुँदा नाकाबासीले नेपालमै आउन भारतीय भुमि प्रयोग गर्नुपर्ने अवस्थाले नाकाबासीलाई थप समस्या गरेको छ। यता भारतीय एसएसबीले पनि आफ्नाे सिमाना कहाँसम्म हाे ठ्याक्कै थाहा नभएको बताउँदै आएको स्थानीय भौवाबासीहरू बताउँछन् ।

सीमाक्षेत्रमा बसोबास गर्दै आइरहेका नाकाबासीका अनुसार भारतीय एसएसबीले पनि दुई देशको सीमा छुट्याउनका लागि सिमलको बोटलाई नै आधार मान्दै आएको उनीहरूको भनाइ छ ।

मा प्रकाशित