दाङका नाकामा नि:शुल्क खानेपानी वितरण गर्दै वडा अध्यक्ष सिद्दिकी

खानेपानीको चरम समस्याका कारण काेइलाबासवासी काकाकुलसरह बनेपछि गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीले व्यक्तिगत खर्चमा स्थानीयहरुको घर–घरमा खानेपानीकाे व्यवस्था गरेका छन् ।

शिवु खनाल, २३ वैशाख

काेइलाबासनाका, दाङ । नेपालमा कोरोना भाइरस (कोभिड १९) का कारण दिनप्रतिदिन मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन् । पछिल्लो समय कोभिडका कारण मृत्यु हुनेहरुको संख्या ह्वात्तै बढिरहेको छ । कोभिड १९ का कारण कैयाैं मानिसहरु अस्पतालमा अक्सिजन नपाएर छटपटाउँदै प्राण त्याग गरिरहेका छन् ।

मानिसहरु  कोभिड महामारीसँग जुधिरहेकाे समयमा दाङको गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास नाकामा डिप बोरिङ्गमा पानी नआउँदा खानेपानीको हाहाकार मच्चियो । गत एक हप्तासम्म खानेपानीको चरम समस्याका कारण काेइलाबासवासी काकाकुलसरह बनेपछि गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकीले स्थानीयहरुको घर–घरमा खानेपानीकाे व्यवस्था गरेका छन् ।

चालिस हजार रुपियाँ व्यक्तिगत खर्चमा खानेपानीकाे ट्याङ्कर भाडामा लिएर दिनमा तेह्र हजार लिटर शुद्ध खानेपानी स्थानीयहरुको घरघरमा पुर्याउँदै आएको वडाध्यक्ष सिद्दिकीले जानकारी दिए ।

उनले भने –`करिब पाँच किलोमिटर भारतकाे जरूवा स्थित ट्याङ्कर र आफ्नै टेक्टर प्रयोग गरेर बिहान बेलुकी गरी दिनमा तेह्र हजार लिटर शुद्ध खानेपानी स्थानीयकाे घरमै पुर्‍याउदैँ आएकाे छु ।´

डिप बाेरिङ्गमा पानी नआउँदा काेइलाबासमा १ सय ५० घरधुरी संख्याले खानेपानीको चरम समस्या खेप्नुपरेको अवस्था थियोे । `पुनः खानेपानी सहज हुन करिब डेढ महिना लाग्ने बताइएकाे छ । डेढ महिनासम्म स्थानीयलाई नि:शुल्क खानेपानी घर-घरमा पुर्‍याउने छु, वडाध्यक्ष सिद्दिकीले भने ।

संकटकाे समयमा वडा अध्यक्षकाे सहयाेगमा पानी पिउन पाउँदा खुसी लागेकाे स्थानीय नाकावासीले बताएका छन् । बिकट नाकामा बस्ने नाकावासीहरु खानेपानीसँगै सडक यातायात र सञ्चारलगायतका आधारभूत सुविधाबाट समेत बञ्चित रहेका छन् ।

मा प्रकाशित