काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्ज । सभामुख सापकोटाले आज अपराह्न एक ट्वीट गर्दै प्रधानप्रति श्रद्धाञ्जली अर्पणका साथै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । सभामुख सापकोटाले नेपाली साङ्गीतिक क्षेत्रमा प्रधानले पुर्याएको योगदान स्मरणीय रहने जनाएका छन् ।
प्रधानको आज बसुन्धरास्थित न्युरो अस्पतालमा छातीको उपचारका क्रममा निधन भएको थियो । प्रधानले ७०० भन्दा बढी गीत रेकर्ड गराएका छन् । उनका ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फुलहरू’ लगायत थुप्रै चर्चित गीतहरु छन् ।
विसं २०१७ मा उनले तारादेवीसँग गाएको युगल राष्ट्रिय गीत यो नेपाली शिर उचाली संसारमा लम्कन्छ, गोरेटो त्यो गाउँको, २०२१/२०२२ सालतिरको घुम्तीमा नआऊ हैजस्ता गीत अझै लोकप्रिय छन् । यस्तै यो नानीको शिरैमा इन्द्रकमल फूल फुल्यो जस्ता लोकगीत पनि स्रोताले बिर्सेका छैनन् ।
प्रधानको आज ८४ वर्षका उमेरमा निधन भएको हो । उनको पुख्र्यौली घर सिन्धुपाल्चोकको चौतारा भए पनि उनको जन्म काठमाडौंंको नःघलमा भएको थियो । पिता रत्नध्वज र माता प्राणदेवीका कोखबाट विसं १९९४ मा जन्मिएका प्रधानले २००९ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए ।
विसं २०२४ मा माइतीघर चलचित्रमा पहिलोपटक भारतीय गायिका उषा मंगेशकरसँंग गाएको नमान लाज यस्तरी भन्ने गीत अझै पनि सबैको जनजिब्रोमा झुण्डिएको छ । गायक प्रधानलाइ गणतन्त्रनेपाल परिवार हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।