माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता

संविधान र परम्परा मिच्दै ओलीले २७ गते बैठक बोलाएको माओवादीको ठहर

गणतन्त्र नेपाल संवाददाता

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । आज संसद सचिवालयमा एक पत्र दर्ता गर्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिएको हो । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको पत्र बुझाएको हो ।

माओवादीका मुख्य सचेतक देव गुरुङले पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ ।

पत्रमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने बेला नलिएको र वैशाख २७ गते संसदको नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिनका लागि बैठक बोलाएको भन्दै माओवादीले आक्रोश पोखेको छ । संविधान र परम्परा मिच्दै ओलीले २७ गते बैठक बोलाएको माओवादीको ठहर छ ।

 

मा प्रकाशित