काठमाडौं । कोभिड-१९ क्राइसीस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले गरेका १२ निर्णय सार्वजनिक भएका छन् ।
शुक्रवार काठमाडाैंमा बसेको सीसीएमसीकाे बैठकका निर्णय शनिबार सार्वजनिक गरिएकाे हाे ।
बैठकले निषेधाज्ञा भएका उपत्यका र ठूला सहरमा बैंक तथा वित्तीय संस्थाका एक चौथाइ शाखामा एक चौथाइ कर्मचारी राखेर कार्यालय सञ्चालन गर्नेलगायतका विभिन्न निर्णय गरेको छ ।
त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्ने सीसीएमसीले जनाएको छ।
बैठकमा जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पासमात्र मान्य हुने निर्णय गरेको जनाइएकाे छ।
होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल गर्न प्रक्रिया अघि बढाउने पनि सार्वजनिक निर्णयमा उल्लेख गरिएकाे छ ।
हेर्नुहाेस् बैठकका निर्णयहरु :
-निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने । नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने।
-अत्यावश्यक सेवाबाहेक अन्य कार्यालयहरू एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने।
-काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने।
-कर्मचारी एवं श्रमिकलाई उद्योगभित्रै बास तथा खानाको व्यवस्था गरी उद्योग व्यवसाय सञ्चाालन गर्ने।
-कोभिड(१९ को रोकथाम, नियन्त्र ण र उपचारका लागि आवश्यक सामग्री (मास्क, स्यानिटाइजर, साबुन, पञ्जा, अक्सिजन) उत्पादन गर्ने उद्योग, कलकारखाना स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्ने।
-सार्वजनिक निर्माणका कार्यहरूमा संलग्न श्रमिकहरु, सवारी साधनका चालक र सहयोगीलाइ गन्तव्य प्रष्ट उल्लेख भएको आयोजनाले जारी गरेको परिचयपत्रका आधारमा सवारी साधन सञ्चालन गर्ने।
-काठमाडौं उपत्यकाको हकमा पर्यटन विभाग, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीले संयुक्त रूपमा होटेल क्वारेन्टिनमा बस्नेहरूको नियमित अनुगमन गर्ने, अन्य जिल्लाको हकमा प्रदेश र स्थानीय तहले सम्बन्धित निकायहरू अनुगमन गर्ने।
-होम क्वारेन्टिनमा बसेकाहरूको सम्बन्धमा स्थानीय तहले अनुगमन गर्ने।
-होटेल क्वारेन्टिनको नियम पालना नगर्ने विदेशी नागरिकलाई जरिवानासहित तत्काल डिपाेर्ट गर्ने प्रक्रिया अघि बढाउने।
-होटेल क्वारेन्टिनको नियम पालना नगर्ने नेपाली नागरिकलाई कानुनबमोजिम जरिवाना गर्ने।
-होटेल क्वारेन्टिनको व्यवस्थापनमा लापरवाही गर्ने सम्बन्धित होटेल सञ्चारलकलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने।
-आमसञ्चार माध्यमलाई कोभिड विरुद्धका जनचेतनामूलक सन्देश प्रसारित र प्रकाशित गर्न अनुरोध गर्ने।
-सम्बन्धित स्थानीय तहले टोलटोलमा कोभिड विरुद्धको जनचेतनाका लागि नियमित माइकिङ गर्ने।