काेराेना संक्रमितकाे संख्यामा रेकर्ड ब्रेक : शनिबार अहिलेसम्मकै उच्च

नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकामा रहेका छन् । काठमाडौँ जिल्लामा मात्र १९३२ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं ।  नेपालमा एक दिनमा अहिलेसम्मकै उच्च संख्यामा काेराेना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा संक्रमण पुष्टि भएको छ।

पहिलो लहरमा एकै दिन सबैभन्दा बढी ५७४३ जना संक्रमित फेला परेका थिए । १४ हजार ४०३ जनाको पीसीआर र ५६६ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ५ हजार ७०६ र ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको कूल संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ ।

नयाँ संक्रमितमध्ये धेरै काठमाडौँ उपत्यकामा रहेका छन् । काठमाडौँ जिल्लामा मात्र १९३२ जना संक्रमित फेला परेका छन् भने ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएका छन् ।

प्रदेश १ मा झापामा ५२ र सुनसरीमा ६९ जना संक्रमित भेटिएका छन् भने प्रदेश २ मा पर्सामा सर्वाधिक १६३ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा २१२, लुम्बिनी प्रदेशको बाँकेमा ५५१, रुपन्देहीमा ४२२ र दाङमा २५१ जना संक्रमित फेला परेका छन् ।

कर्णालीमा सुर्खेतमा ९७ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिमकाे कैलालीमा १२५ जना संक्रमित फेला परेका छन् ।

नेपालमा हाल ४३ हजार २१३ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये होम आइसोलेसनमा ४० हजार १०३ जना, संस्थागत आइसोलेशनमा ३ हजार ११० जना, आईसीयूमा ४०१ जना र भेन्टिलेटरमा ११० जना रहेका छन् ।

१२ वटा जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत छन् जसमा काठमाडौँ उपत्यका तीन जिल्लासहित मोरङ, पर्सा, चितवन, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली रहेका छन् । १७ वटा जिल्लामा २ सयभन्दा बढी संक्रमित उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा थप १२८७ जना संक्रमित निको पनि भएका छन् । नेपालमा कूल संक्रमितमध्ये २ लाख ८२ हजार ३८२ जना संक्रमित निको भइसकेका छन् । नेपालमा निको हुने दर ८५.९ प्रतिशत रहेको छ ।

पछिल्लो एक दिनमा थप १९ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । योसँगै नेपालमा हालसम्म ३ हजार २९८ जनाले ज्यान गुमाइसकेका छन् ।

मा प्रकाशित