सरकारले नै गाउँ गाउँमा कोरोना फैलाउने काम गर्याे : काँग्रेस सभापति देउवा

पत्रकार सम्मेलनलाइ सम्बाेधन गर्दै सभापति देउवाले काेराेना राेकथामका लागि सरकार गम्भीर नभएकाे धारणा व्यक्त गरेका हुन् ।

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारको अकर्मण्यता र असक्षमताकाे परिणामस्वरुप दोस्रो लहरको कोरोना भयावह भएको बताएका छन् ।

शुक्रवार दिउँसाे बुढानीलकण्ठ स्थित निजी निवासमा आयाेजित पत्रकार सम्मेलनलाइ सम्बाेधन गर्दै सभापति देउवाले काेराेना राेकथामका लागि सरकार गम्भीर नभएकाे धारणा व्यक्त गरेका हुन् ।

कोरोना टेस्ट नगरी गाउँ  गाउँमा मानिसहरु पठाएर सरकारले नै गाउँमा समेत कोरोना फैलाउने काम गरेको  देउवाकाे आरोप छ ।

उनले महामारीको रोकथामका लागि पार्टी पंक्ति लाई परिचालन गर्ने भन्दै सरकारलाई हिजो गरेका गल्ती नदोहोर्याउन र गम्भीर बन्न आग्रह गरे ।

एक अर्काे प्रसंगमा सभापति देउवाले तत्काल बैकल्पिक सरकार बन्न नसक्ने जिकिर गरेका छन् । उनले त्यस्तो सरकार गठन गर्न आफूहरुसँग आवश्यक संख्या नै नपुग्ने भएकाले त्यो सम्भावना नरहेको बताएका हुन् ।

पत्रकारहरुले बैकल्पिक सरकार गठनबारे सोधेको प्रश्नमा देउवाले वैकल्पिक सरकार गठन गर्न संख्या नै नपुग्ने बताए ।

‘बहुमत चाहिन्छ कि चाहिँदैन ? बहुमत त चाहिन्छ नि !’, सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन । यद्यपी पहल जारी छ ।’

वैकल्पिक सरकार गठनका लागि तत्काल जसपाले निर्णय गरेर आउनेमा पनि आफु विश्वस्त नभएको भन्दै देउवाले आफ्नो वेवास्ताका कारण सरकार बन्न नसकेको भनेर आरोप लगाउनेहरूलाई लगाइरहन दिनुपर्ने बताए ।

‘आरोप लगाउनेहरूलाई मेरो भन्नु केही छैन । सवै कुरा भनिराख्न आवश्यक छैन । मैले गर्ने काम गरिरहेको छु’, सभापति देउवाले भनेका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले चैत २० गतेको बैठकले गरेको निर्णय कार्यान्वयन गर्न देउवाले रुची नदेखाएको बताउदै आएको छ ।

 

मा प्रकाशित