सम्पादकीय : ‘गणतन्त्रनेपाल’ को आगमन !

आधारभूत पत्रकारीय मूल्य–मान्यता अनुशरण गर्दै सूचना र विचार सम्प्रेषण गर्न हामी प्रतिबद्ध छौं । मुलुकका संविधान, कानुन, नीति, निर्णय–निर्देशनको पालना गर्दै राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, मानवअधिकार तथा विचार–अभिव्यक्तिको स्वतन्त्रता प्रवर्द्धनमा हाम्रो जोड रहने छ ।

सम्पादक

निरक्षरताको लगभग उन्मूलन, सामाजिक–सांस्कृतिक जागरण र सूचना प्रविधिको अकल्पनीय विकासक्रमसँगसँगै आज समग्र मानवजातिले नै आमसञ्चार र विशेषतः सूचना प्रविधिका माध्यमलाई जीवनपद्धतिकै रूपमा अँगालिरहेको छ । र, यो क्रम विश्वजगतको सापेक्षतामा नेपालमा पनि सन्तोषजनकरूपमै विकसित भइसकेको छ ।

नयाँ–नयाँ प्रविधिको आविष्कार र उपलब्धता, यातायात सेवाको विस्तार र सहजता, नागरिकमा दिनानुदिन बढिरहेको सचेतना, जागरूकता एवम् खोजीनीतिको सक्रियताका कारण अहिले संसारका कुनै पनि कुनाका सूचना र खबरबाट मानिस टाढा छैन । भौगोलिक एवम् भौतिकरूपले टाढा रहेका आफन्तजनसँग अप्रत्यक्ष माध्यमबाट सम्पर्कमा पुग्न महिनौसम्म चिठीपत्रको प्रतिक्षा गरिरहनुपर्ने अवस्था पनि अब कहीं–कतै पनि कायम छैन । विद्वान् मार्सल म्याकलुहानले अघि सारेको ‘ग्लोबल भिलेज’ को मान्यताअनुरूप नै यतिबेला सिंगै विश्व नै एउटै गाउँ बन्न पुगेको छ; विश्वको जुनकुनै कुनाबाट अर्को जुनकुनै कुनासम्म सेकेन्डभरमा सदृश्य, सध्वनि र प्रत्यक्ष सम्पर्क सम्भव भैसकेको छ ।

यही मेसोमा इन्टरनेट प्रविधिका माध्यमबाट सञ्चालित अनेकौंखाले सामाजिक सञ्जाल तथा लिपिबद्ध, स्वरबद्ध र दृश्ययुक्त अनलाइन सञ्चार माध्यमहरूको व्यापकताका कारण यतिबेला सूचना प्रवाह गर्न र प्राप्त गर्न निकै सजिलो भएको छ । छापा, रेडियो र टेलिभिजनकाे स्थान अब क्रमशः इन्टरनेटमा आधारित माध्यमहरूले लिँदै गएका छन् ।

आमसञ्चार र सूचना प्रविधिको विकास–विस्तारको यही माहोलबीच हामी पनि एउटा नयाँ आमसञ्चार माध्यमका रूपमा ‘गणतन्त्रनेपाल डटकम’ अनलाइन सञ्चार माध्यमका रूपमा उपस्थित भएका छौं । हाम्रो यो अभियान कोही–कसैसँग प्रतिस्पर्धा गर्ने, कसैको दलाली वा चाकडी गर्ने र कोही–कसैमाथि हमला गर्ने या प्रतिशोध साँध्ने माध्यम वा प्रयास कदापि होइन र हुने छैन । उनै म्याकलुहानले ‘मिडियम इज मेसेज’ भनेझैं यो संस्था खास मूल्य–मान्यता, निश्चित उद्धेश्य र दृष्टिकोण तथा विचारद्वारा अभिप्रेरित भने अवश्य नै छ, हुने छ ।

आधारभूत पत्रकारीय मूल्य–मान्यता अनुशरण गर्दै सूचना र विचार सम्प्रेषण गर्न हामी प्रतिबद्ध छौं । मुलुकका संविधान, कानुन, नीति, निर्णय–निर्देशनको पालना गर्दै राष्ट्रिय स्वाधिनता, राष्ट्रिय अखण्डता, मानवअधिकार तथा विचार–अभिव्यक्तिको स्वतन्त्रता प्रवर्द्धनमा हाम्रो जोड रहने छ । मूलतः निष्पक्षता र तटस्थता आमसञ्चार माध्यमका र हाम्रा पनि मुख्य आदर्श हुन् । राष्ट्र र जनताको हितका अत्यावश्यक यी विषयमा कुनै सम्झौता गर्न सकिँदैन । हालसम्म भएका स्वतन्त्रताप्राप्तिका, अधिकार र गणतन्त्रप्राप्तिका आन्दोलन र अभियानका उपलब्धिहरूलाई जोगाउनु, तिनको संरक्षण र संवर्द्धन गर्नुलाई पनि आफ्नो कर्तव्य ठानेका छौँ । यिनै पक्षलाई मध्यनजर गरेर नै गणतन्त्रनेपाल डटकमले जनचासो र जनसरोकारका देश–विदेशका खबर–सूचना र विचार–विश्लेषण पस्कन हरदम प्रयास गरिरहने छ ।

राष्ट्र, जनता, अग्रगमन र प्रगतिका पक्षधर सबै अग्रज, सहकर्मी, शुभेच्छुक र सहयोगीहरूबाट हाम्रो यस अभियानमा हरतरहले सहयोग प्राप्त हुने कुरामा हामी विश्वस्त छौं । अनुसन्धाता–अध्येता, विश्लेषक, लेखक, स्तम्भकार, समाचारदाता, विज्ञापनदाता, पाठक–श्रोता–दर्शक, शुभचिन्तक सबैबाट निरन्तर सहयोग, सुझाव र सद्भावको अपेक्षा गरेका छौं । सबैतिरबाट प्राप्त हुने मित्रवत् एवं रचनात्मक सुझाव सदैव स्वागतयोग्य हुने छन् ।

मा प्रकाशित