किसानले कहिल्यै हार्न नपरोस्

जीवन धान्न होस् वा आर्थिक विकासका लागि कृषि कर्म र कृषि कर्म गर्नेको जीवनस्तरमा परिवर्तन नभएसम्म देशको सर्वाङ्गीण विकास सम्भव छैन । झन्डै ६० प्रतिशतभन्दा माथि कृषिमा निर्भर हाम्रो देशका कृषकहरूको विकासबिना देशको समृद्धि कठिन छ ।

जयराम सिग्देल

एक पटक देवताहरूका पनि देवता इन्द्र भ्रमण गरिरहेका बेला एउटा किसान सुख्खा जमिनमा गोरु जोतिरहेको देखेर किसानलाई सोधेछन्– यो खडेरीमा किन गोरु जोतिरहेका छौ ?
किसानले भनेछन् आज बेलुका पानी पर्छ, भोलि खेती लाउनुपर्छ । त्यही भएर आज जमिन जोतिरहेको छु । पानी पार्ने नपार्ने ‘रिमोट’ आफूसँग भएको तर किसानले पूरा आत्मविश्वासका साथ बेलुका पानी पर्ने बताएपछि इन्द्रले फेरि सोधेछन्– पानी पर्छ भन्न कुनै निश्चय छ ?
किसानले उही विश्वासका साथ भनेछन्– हो, भरे अवश्य पानी पर्छ ।

यो सुनेर इन्द्रले रिसाउँदै बेलुका पानी नपार्ने योजना बनाए । उनले साँझ जुनकिरीलाई बत्ती नबाल्न, झ्याउँकिरीलाई नकराउन र बादललाई नगर्जन आदेश दिएछन् ।
साँझ प¥यो । किसान आफ्ना गोरुलाई बेलुकाको घाँस हाल्न भन्दै पुल्ठो (गाउँघरतिर मट्टितेलबाट बाल्ने बत्ती) बोकेर गोठतिर लागेछन् । किसानको हातको बत्तीलाई जुनकिरीको बत्तीझैँ ठानेर झ्याउँकिरी कराउन थालेछन् । जब झ्याउँकिरी कराउन थाले अनि बादल बडो उत्साहका साथ गर्जिन थालेछ । बादल गर्जिसकेपछि प्रकृतिको नियम मान्नै परिहाल्यो । इन्द्रले पनि पानी पार्न बाध्य हुनुप¥यो । यसरी किसानसँग देवताका पनि देवताले हारेको कथा छ । तर अहिलेको परिस्थिति त्यसको ठीक उल्टो छ । किसान हारिरहेको अवस्था छ ।

किसानलाई के थाहा छ भने कहिले पानी पर्छ, कुन बाली कहिले लगाउनुपर्छ, सप्रिन्छ र कुन बाली कसरी लाउने भन्ने पनि ज्ञान छ । तर आफूले उत्पादन गरेको उपजले कति मूल्य पाउँछ भन्ने पत्तो नपाउँदा ऊ हारिरहेको छ । नेपाल र भारतको खुला सिमाना र बिचौलियाले  कब्जा गरेको बजार भएका कारण किसानले हारेको अनुभूति गरिरहेका छन् । ती चाहे कृषिमा नयाँ सोचका साथ आएका युवा हुन् वा पुरानै तरिकाले खेती गरिरहेका किसान । यही कारण पनि किसानको पहिचान खुलेर बताउन प्रायः मानिस हिचकिचाउँछन् र यसप्रतिको आकर्षण पनि घट्दो छ ।

‘अमेरिका (विदेश) नजाने ग्यारेन्टी गर्ने हो भने तपाईंसँग कृषिमा सहकार्य गर्न तयार छु,’  आजभन्दा तीन वर्षअघि कृषि मन्त्रालयका एक अधिकारीले मलाई भनेको याद आउँछ । आज तीन वर्षपछि ठ्याक्कै त्यही व्यहोराको भनाइ राष्ट्रिय योजना आयोगका अधिकारीले सोध्नु भयो, ‘यत्तिको युवा कृषिमा केही गर्छु भनेर लाग्नुभएछ, विदेश जाने योजना त छैन नि ?’

यो एउटा उदाहरण मैले यहाँ किन पनि उल्लेख गरेँ भने कृषि क्षेत्रमा केही गर्छु भन्ने युवा एक त कम छन्, अर्कातिर भएकाहरू पनि सफलताको पर्खाइ कुरिरहेका छन् । सायद यही कारण सरकारी ओहदामा बस्नेहरूलाई साँच्चै कृषिमा ‘केही’ गर्ने मानिस फेला पार्न मुस्किल परिरहेको हुनसक्ने बुझाइ मेरो रह्यो ।

युवाको घट्दो आकर्षण र बाँझिएका जमिन
कोरोना महामारीपछि केही मानिस कृषिमा लागेको देखिएको थियो । अझ युवाहरू यसप्रति आकर्षित भएका थिए । तर कृषिमा हुने मुनाफा, बालीको छनोट, बजारको ज्ञान र प्रविधिमा भएको लगानीका कारण यसतर्फ आकर्षित हुनेहरू पनि बिस्तारै अन्य पेसातर्फ आकर्षित हुँदै गएका छन् भने बाँकी रहेकाहरूले अन्य क्षेत्रमा भएको कमाइले यसलाई थेगिरहेका छन् ।

यसो हुनुका मुख्य कारणमा प्रविधिमा गर्नुपर्ने महँगो लगानी, कृषिमा काम गर्ने जनशक्तिको अभाव तथा विज्ञता हासिल गरेकाहरूलाई यस क्षेत्रमा ल्याउन नसक्नु मुख्य कारण देखिए । लगानीको मुख्य उद्देश्य भनेकै नाफा कमाउनु हुन्छ । तर कृषि क्षेत्रमा तुरुन्तै मुनाफा नहुने हुँदा पनि युवाहरूको आकर्षण घट्दो छ भने जमिन बाझिँदै गएका छन् ।

संयुक्त राष्ट्रसङ्घले एउटा अनुमान गरेको थियो । सन् २०१९ सम्म विश्वभरबाट आर्थिक उन्नतीका लागि देश छोड्नेहरूको सङ्ख्या ३० करोडभन्दा माथि पुग्नेछ । सन् २०१५ सम्ममा यो तथ्याङ्कमा २५ करोड मानिसले सुरक्षित भविष्य र अवसर खोज्दै आफ्ना देश छाडेका थिए । यसरी रोजगारीका लागि भनौँ वा आर्थिक समृद्धिका लागि देश नै छोड्नेमध्ये ६० प्रतिशत मानिस ग्रामीण भेगका रहेका र तीमध्ये एकतिहाइ  १५–३५ वर्षका युवा रहेका विभिन्न अध्ययनले उल्लेख गरेका छन् ।

यसरी सरकारी निकायका अधिकारीहरूले सायद यही तथ्याङ्कलाई टेकेर हो वा कृषिबाट उँभो लाग्नेहरूको सङ्ख्या कम देखेर हो यस्ता प्रश्न गर्नुमा मैले कुनै अनौठो मानेको छैन ।
बसाइँसराइ वा आप्रवास मानिस त्यत्तिकै गर्दैन । नेपालमा मात्र होइन विश्वमै पनि मानिस आफू जन्मे, हुर्केका गाउँ, ठाउँ र देश यत्तिकै छोड्न चाहँदैन । पितापुर्खाको थातथलो छोडिहाल्ने रहर प्रायः कसैलाई हुँदैन पनि । बरु आर्थिक अवस्था सुदृढ भएपछि सहरमा बसोबास थाल्नसक्छ तर हमेसा पुख्र्यौली थलो छोडिहाल्न चाहँदैन । खासगरी पूर्वीय दर्शनमा विश्वास गर्नेहरू भावना, धर्म र परम्परागत विश्वासमा आस्था राख्नेहरू आफ्नो विर्ता छोडिहाल्न हिचकिचाउँछन् । मानिसहरू आफू र आफ्ना सन्तानको सुख र खुसीका लागि मिहिनेत गर्छन् तर दुःख र मिहिनेत गर्दागर्दै पनि आर्थिक तथा सामाजिक रूपले विकास र उन्नति हुने नदेखेपछि सुरक्षित स्थानको खोजीमा विभिन्न विकल्पनहरू खोज्न थाल्छ । यही कारण कृषिलाई असुरक्षित देखेपछि अन्य पेसामा मानिस जान थाल्छन् । नेपालको कृषि क्षेत्रमा भएको पनि यही हो ।

नेपाल मात्र होइन कृषि क्षेत्रमा केहीलाई छोडेर सबै निम्न आर्थिक अवस्था, कम शिक्षित वा अशिक्षितको बाहुल्यता छ । किसानको आवश्यकताभित्र पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी पर्न सकेको छैन । यसले गर्दा वैदेशिक वा अन्य रोजगारी मानिसको विकल्पमा पर्ने गरेको छ । त्यसैले पहाडतिर खेतीयोग्य जमिन बाँझो हुँदै गइरहेको छ भने समथर र सहर आसपासका खेतीयोग्य जमिन घडेरीका रूपमा मासिँदो क्रममा छन् ।

कृषिमा आकर्षण बढ्ला ?
नेपालको कुल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवा कृषि क्षेत्रमा रहेको तथ्याङ्कले देखाएको छ । त्यसमध्ये नेपालमा भएका युवा सङ्ख्याको ५०.२ प्रतिशत जनसङ्ख्या कृषि क्षेत्रमा रहेको पाइन्छ । तर यसरी ठूलो परिमाणमा युवाहरूले कृषिलाई उत्पादन, भण्डारण, बजारीकरण र वितरणमा काम गर्न सकेको भए धरै मानिसले कृषक भनेर गर्व गर्ने वातावरण सिर्जना हुने थियो ।

तर पछिल्लो समय कृषिमा नयाँ प्रविधिसहित आएका युवाहरू एकीकृत खेती प्रणाली, व्यवस्थित कृषि बजार, सहकारीमार्फत उत्पादन, बजारीकरण, चक्लाबन्दी खेतीका कारण यसप्रतिको आकर्षण केही चुलिएको छ ।
पछिल्लो समय बेमौसमी खेतीमा देखिएको सफलता, साना साना जमिनबाट लिन थालिएको मुनाफा, सरकारी निकायहरूबाट पाइने सहुलियत, सहुलियतको कर्जा जस्ता कुराले पनि युवामा आकर्षण बढ्दै गइरहेको छ । यस्तै फार्म स्टे र कृषि पर्यटनमा युवाहरू जोडिएर कृषि फार्मलाई नै रिसोर्टका रूपमा विकास गरिरहेका छन् । यही कारणले पनि यसप्रतिको प्रभाव बिस्तारै बढिरहेको देखिएको छ । विशेषगरी विदेशबाट फर्किएका र समूहगत रूपमा उत्पादन, वितरण र बजारीकण एकसाथ गरिरहेका कारणले पनि केही आशा देखिन थालेका छन् । कृषिप्रति मोह जगाउने हो भने केही काममा तीनै तहका सरकारको भूमिका प्रभावकारी हुनुपर्छ ।

१. कृषि प्राविधि र सिँचाइ जनताको पहुँचमा पु¥याउने ।

२. उत्पादनका क्षेत्रहरूको विशिष्टीकरण गरी सोहीअनुसार उत्पादनमा जोड दिने ।

३. स्थानीय सरकारलाई उत्पादन, जिल्ला तथा प्रदेश सरकारलाई ढुवानी तथा भण्डारण र केन्द्र सरकारलाई बजारीकरणको जिम्मा दिने ।

४. नाफामूलक बाली प्रणाली, वार्षिक खेती पात्रो, माटो परीक्षण निःशुल्क गर्ने  ।

५. कृषि उत्पादनको बजारीकरणका लागि कृषि समूह, सहकारी संस्थामार्फत गर्ने ।

६. उत्पादनका आधारमा अनुदान वा सहुलियतको व्यवस्था गर्ने ।

७. कृषि अनुसन्धानलाई व्यापक र प्रभावकारी रूपमा लागू गर्ने ।
कृषि क्षेत्रले विकास गर्न सकेन भने हाम्रो जस्तो देशको विकास अपूरो हुन्छ । युवाहरूमा आकर्षण बढाउन तथा दक्ष जनशक्तिलाई स्वदेशमा नै टिकाउन सकिएन भने देश विकास असम्भव छ । माथिको कथामा देवताले पनि किसानसँग हारेको प्रसङ्ग आउनुपछि पनि केही कारण भएरै कथा बनेको हुनसक्छ ।

सबैलाई बचाउने र मानिसको प्राण धान्ने भएर नै किसान देवताभन्दा पनि उपल्लो भनेर कथा रचिएको होला । जीवन धान्न होस् वा आर्थिक विकासका लागि कृषि कर्म र कृषि कर्म गर्नेको जीवनस्तरमा परिवर्तन नभएसम्म देशको सर्वाङ्गीण विकास सम्भव छैन । झन्डै ६० प्रतिशतभन्दा माथि कृषिमा निर्भर हाम्रो देशका कृषकहरूको विकासबिना देशको समृद्धि कठिन छ । यही कारण किसानले कहिल्यै नहारोस् ।

मा प्रकाशित