नेपालले नेदरल्याण्ड्सलाई दियो २०७ रनको लक्ष्य

गणतन्त्र नेपाल संवाददाता

काठमाडौं,७ वैशाख। ओपनर कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएपछि नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सलाई २०७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएको हो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो ठूलो स्कोर हो । यसअघि १३ औं सागमा नेपालले भुटान विरुद्ध २३६ रन बनाएको थियो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले लगातार तेस्राे अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक ६२ रन बनाए । उनले नेदरल्याण्ड्स विरुद्ध १३ औं ओभरमा अर्धशतक पूरा गरेका थिए । उनले ४१ बल खेल्दै ६ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । कुशलले समग्रमा ४६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा ६२ रन जोडे ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको डेढ दशक भन्दा लामो इतिहासमा डेब्युदेखि लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका छन् ।

यसअघि उनले नेदरल्याण्ड्स र मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी-२० अन्तर्राष्ट्रियमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडीसमेत बनेका छन् । यस्तै उनी नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्नेमा दोस्रो स्थानमा उक्लेका छन् ।

उनले नेदरल्याण्ड्स विरुद्ध पहिलो खेलमा डेब्यु गर्दै ६२ रन बनाएका थिए । यस्तै मलेसियाविरुद्ध दोस्रो खेलमा अविजित ६१ रन बनाएका थिए ।

नेपालका लागि पारस खड्काले सर्वाधिक पाँच अर्धशतक प्रहार गरेका छन् । पारसपछिको स्थानमा कुशल आएका छन् ।

मा प्रकाशित