नोकरशाही चिन्तन–प्रवृत्ति र दास चिन्तन–प्रवृत्ति एउटै सिक्काका दुई पाटा हुन् । कसैले आफूलाई ठूलो बादशाह, मालिक, हैकम/हुकुमकर्ता, दिग्विजयी र परमाधिपति आदि केही ठान्नुमा ऊभित्र अन्तर्निहित उच्चताबोधी ग्रन्थी (सुपेरियर कम्प्लेक्स) ले काम गरेको हुन्छ ।
तर, यथार्थता यो हो कि उही मान्छे नै दास, दलाल, दामपन्थी, दम्भी र दमनकारी समेत हुन्छ । यस्तो हुनुमा पनि ऊभित्र अन्तर्निहित अर्को ग्रन्थी हीनताबोधी ग्रन्थी (इन्फेरियर कम्प्लेक्स) ले काम गरेको हुन्छ ।
यी दुवै ग्रन्थी/प्रवृत्तिहरु एउटै सोच र संस्कारबाट सिर्जित र सञ्चालित भएका हुन्छन्, जसले आफूलाई साना, कमजोर, गरिब र तलका मानिसहरुको मालिक ठान्छ; अन्ततः र सारतः ऊ ठूला, शक्तिशाली, धनी र माथिका मानिसहरुको दास बनेको हुन्छ ।
यसो भन्न पनि सकिन्छ कि मान्छेको इन्फेरियर कम्प्लेक्सको जगमा सेपेरियर कम्प्लेक्स ठडिएको हुन्छ । मान्छेहरुमा यसप्रकारका कम्प्लेक्सहरु उत्पन्न हुनुमा समाजमा रहेका अन्य मानिसहरु र तिनका काम–व्यवहारहरु स्रोत, प्रेरणा वा कारकका रुपमा रहेका हुन्छन् । मतलब, कोही मालिक हुनका लागि अनिवार्यरुपले अर्को कोही दास बनेकै हुनुपर्छ अर्थात् समाजमा दास, दलाल, रैती र नोकरहरु नहुने अथवा चाकरी, चाप्लुसी, चुक्ली, चटनी लगाउने चम्चे र चाकरहरु नहुने हो भने कोही पनि मानिस मालिक, नोकरशाह वा बादशाह बन्न सक्तैन ।
त्यसैले, हामीले नोकरशाही चिन्तन–प्रवृत्तिको चिरफार र विरोध गर्दा दास चिन्तन–प्रवृत्तिको समेत चिरफार र विरोध गर्नु जरुरी हुन्छ । यसरी स्पष्ट छ कि अरुको नोकरशाही चिन्तन–प्रवृत्तिको विरोध र निषेध गर्दा आफ्नो नोकरशाही चिन्तन–प्रवृत्तिको त विरोध र निषेध गर्नु नै पर्ने हुन्छ, सँसँगै आफूभित्र रहेको दास/दलाल चिन्तन–प्रवृत्तिको पनि सचेतरुपमा विरोध र निषेध गर्नैपर्ने हुन्छ ।
यसरी मात्र न रहे बाँस, न बजे बाँसुरी भनेजस्तै समाज र राज्यमा न दास जन्मन्छन्–रहन्छन्, न त नोकरशाह नै जन्मन र रहन सक्छन् ।