‘सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको छ’ – अनिता देवकोटा

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताएकी छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले सरकारले संसद् छलेर अध्यादेशमार्फत तानाशाही शासन चलाएको बताएकी हुन्।

सरकारले नागरिकको हित विपरीत केवल आफ्नो अभीष्ट पूरा गर्नका लागि राज्य सञ्चालन गरिरहेको उनको भनाइ छ। आफैँ कानुन बनाउने, कार्यान्वयन गर्ने, कानुनको व्याख्या गरेर सरकारले निरंकुशता र अनुत्तरदायी प्रस्तुत गरेको उनले उल्लेख गरिन्।

उनले भनिन्, ‘यदि, सरकारले अध्यादेशमार्फत मात्रै सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ। त्यसैले नागरिकको हितविपरीत सरकारले आफ्नो अभीष्ट पूरा गर्न अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ। आफैँ कानुन बनाउने, आफैँ कार्यान्वयन गर्ने र आफैँ कानुनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्रको निरंकुशता हो। अनुत्तरदायी हो। यो सरकारको यही प्रमाण हो भन्ने मलाई लागेको छ।’

उनले सरकारले घोषणा गरेअनुसार कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको बताइन्। जोखिमभत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको उनको भनाइ छ। शिक्षा क्षेत्र पनि तहसनहस भएको उल्लेख गर्दै उनले कोभिड– १९ विरुद्धको खोप नपाई विद्यालय सञ्चालन गर्न नसक्ने भनेर शिक्षकहरू आन्दोलित भइरहे पनि सरकार बेखबर रहेको बताइन्।

उनले भनिन्, ‘स्वास्थ्य क्षेत्रमा अग्रपंक्तिमा खटेका स्वास्थ्यकर्मीलाई जोखिमभत्ता दिने भनेर सरकारले निर्णय गर्‍यो। तर आजसम्म ती स्वास्थ्यकर्मीले जोखिम भत्ता प्राप्त गर्न सकेका छैनन्। उनीहरूको मनोबल बढ्न सकेको छैन। शिक्षा क्षेत्र त्यस्तै तहसनहस छ। नो भ्याक्सिन, नो स्कुल भनेर शिक्षक आन्दोलित छन्। तर, सरकार बेखबर छ।’

उनले महिला हिंसाको घटनामा वृद्धि भइरहेको भन्दै यस्ता संवेदनशील विषयमा सरकारले फास्ट ट्र्याकका माध्यमबाट अनुसन्धान गरी अपराधीलाई कानुनी दायरामा ल्याउन सरकारले ढिला गरेको बताइन्।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *