घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमी बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता शनिबार हुँदै

सविन प्रियासन

घोराही । खेलकुदको माध्यमबाट आपसी मित्रता, सहकार्य र स्थानीयस्तरमा फुटबलको विकास गर्ने उद्देश्यले घोराहीमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। ‘घोराही बनाऔँ अभियान’ र लुम्बिनी फुटबल एकेडेमीको संयुक्त आयोजनामा शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो।

घोराही बनाऔँ अभियान र लुम्बिनी फुटबल एकेडेमीको अफिसियल टोलीबीच हुने प्रतियोगिता घोराही उपमहानगरपालिका–१७ उखुबारीस्थित लुम्बिनी फुटबल एकेडेमीको खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगिता शनिबार बिहान ७ बजे सुरु हुने आयोजकले जनाएको छ।

खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी युवाको शारीरिक, मानसिक तथा सामाजिक विकाससँग जोड्नुपर्ने आवश्यकता रहेको घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासनले बताउनुभयो। उहाँले खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्दै स्थानीय प्रतिभाको पहिचान र विकास गर्न अभियानले निरन्तर पहल गर्ने बताउनुभयो।

“फुटबलले युवालाई अनुशासन, सहकार्य, नेतृत्व र स्वस्थ प्रतिस्पर्धाको भावना सिकाउँछ। घोराहीलाई खेलकुदको क्षेत्रमा थप परिचित बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छन्,” संयोजक प्रियासनले भन्नुभयो।

त्यस्तै, लुम्बिनी फुटबल एकेडेमीका सञ्चालक समिर ओलीले मैत्रीपूर्ण खेलले खेलाडीबीच अनुभव आदानप्रदानसँगै फुटबलप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने बताउनुभयो। उहाँका अनुसार एकेडेमीले स्थानीयस्तरबाटै दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यसहित प्रशिक्षण र प्रतियोगितात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ।

“युवा खेलाडीलाई मैदानमा खेल्ने अवसर दिनु नै उनीहरूको क्षमता विकासको महत्वपूर्ण आधार हो। मैत्रीपूर्ण खेलले नयाँ प्रतिभालाई प्रोत्साहन गर्नुका साथै खेलकुदप्रति सकारात्मक वातावरण निर्माण गर्छ,” सञ्चालक ओलीले भन्नुभयो।

आयोजकले प्रतियोगितामा खेलप्रेमी, विद्यार्थी, युवा तथा स्थानीयवासीलाई उपस्थित भएर खेलाडीको हौसला बढाउन आग्रह गरेको छ। प्रतियोगितालाई घोराहीमा खेलकुद संस्कृतिको विकास गर्ने अभियानका रूपमा समेत लिइएको छ।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID