गढवामा शून्य होम डेलिभरीका लागि वडा छनोट कार्यक्रम सम्पन्न

आलोक भावुक

गढवा,२५ कार्तिक। दाङ देउखुरीको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ।

गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ५ का वडाध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले वडा नं. ५ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा तथा सुनिश्चितता घोषणा गर्नका लागि छनोट गर्ने निर्णय गरेको हो।

बैठकमा स्वास्थ्य संस्थाबाट हुने प्रसूति सेवा सशक्त बनाउँदै आमाबच्चाको ज्यान सुरक्षित गर्ने उद्देश्य प्रस्तुत गरिएको थियो। स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा सुत्केरी महिलालाई चार पटक नियमित स्वास्थ्य परीक्षण, २४ घण्टासम्म स्वास्थ्य संस्थामा निगरानी, र ३१०० रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था रहेको जानकारी दिइयो।

स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीका अनुसार, “शून्य होम डेलिभरी अभियानले आमा र बच्चा दुबैको ज्यान सुरक्षित राख्छ, संक्रमण घटाउँछ र सुरक्षित मातृत्व सुनिश्चित गर्छ।”

बैठकमा बोल्दै वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेखबहादुर थापाले“शून्य होम डेलिभरीका लागि स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकार पनि सक्रिय रूपमा लागेको बताउनु भयो । अज्ञानता र भौगोलिक दुर्गमका कारण अझै पनि घरमै बच्चा जन्माउने प्रवृत्ति छ, त्यसलाई अन्त्य गर्न सबैको सहकार्य अपरिहार्य छ।”संयोजक थापाले बताउनुभयो।उहाँले संस्थागत प्रसूति बढ्दा मातृ तथा नवजात मृत्युदर घट्ने विश्वास व्यक्त गर्नुभयो।

बैठकमा सामाजिक विकास समितिका सदस्यहरू रमा भण्डारी, श्यामबहादुर बिक, प्रेरणा चन्द, अशोककुमार यादव, सुरेश पौडेल, कर्ताराम यादव र कैलाशचन्द्र चौधरी उपस्थिति रहेको थियो भने आमन्त्रित अतिथिहरूमा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, स्वास्थ्य शाखाका रोहित चौधरी र मनिषा गैरे, साथै ‘प्रेरणा परियोजना’ का सामाजिक परिचालक अमित यादव लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा ‘प्रेरणा परियोजना’को आर्थिक सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले गर्नुभएको थियो।

Please follow and like us:
मा प्रकाशित
[TheChamp-FB-Comments num_posts='5']

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID