गढवाको दुर्गा प्रावि मानिकापुरमा बालबिकास कक्षाको उद्धघाटन

गढवा, २५ जेठ । दुर्गा प्राथमिक बिद्यालय गढवा–६, मनिकापुरमा क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी) को सहयोगमा बालमैत्री बालबिकास कक्षाको ब्यवस्थापन गरि उद्धघाटन गरिएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहनलाल रानाको सभाध्यक्ष, गढवा गाउँपालिकाकी उपाध्यक्ष शारदा चौधरीको प्रमुख आतिथ्य र गढवा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष बिर बहादुर आलेको बिशिष्ट आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि चौधरीले बालबालिकाको शैक्षिक प्रारम्भीक चरण बालबिकास कक्षाबाट शुरु हुने भएकाले यस किसिमको ब्यवस्थापनले कलिला बालबालिकाको शैक्षिक तथा मानसिक स्तर विकासमा महत्वपूर्ण भूमिका खेल्ने साथै शिक्षा क्षेत्रमा सीपी नेपालको कार्य अतुलनिय रहेको बताउनु भएको थियो ।

सीपी नेपालको ६ लाख ४५ हजार १ सय ६८ रुपैया लागतमा बिभिन्न शैक्षिक सामाग्री सहित ब्यवस्थापन गरिएका उक्त दुई कक्षाकोठा कार्यक्रमका प्रमुख अतिथि चौधरी र बिशिष्ट अतिथि आलेले संयुक्त रुपमा रिवन काटि उद्धघाटन गर्नु भएको थियो ।

बालबिकास कक्षाको उद्धघाटन गर्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले शिक्षा क्षेत्रमा सिपि नेपालले पुर्याएको सहयोगको तारिफ गर्नु भयो। हरेका बिपद् लगायतको अन्य हरेक क्षेत्रमा सिपि नेपालले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो। गढवा गाउँपालिका शिक्षामा बिशेष जोड दिएको बताउदै आगामी केही समयमा शिक्षामा गढवा गाउँपालिका फड्को मार्ने बताउनुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष बिर बहादुर आले मगरले सिपि नेपालले गरेको शैक्षिक सामाग्री तथा भवन निर्माणको सहयोग अतुलनीय रहेको बताउदै धन्यवाद दिनु भयो । शैक्षिक सामाग्री सहयोगले विध्यार्थी बालबालिकाहरुलाई पढाईमा थप सहयोग पुग्ने र कक्षाकोठाको उचित ब्यवस्थापन हुने बताउनु भयो ।

सीपी नेपालका बिद्यार्थि संयोजक श्याम चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिद्यालयका प्रध्यानाध्यापक मन्साराम चौधरी, वडा नं. ६ का सदस्य गोबिन्द रोका मगर, बिब्यस सदस्य कृष्ण बहादुर सुनार लगायतको उपस्थिति रकेको थियो भने कार्यक्रमको सहजिकरण हेमराज शर्माले गर्नु भएको थियो । कार्यक्रम पश्चात उपाध्यक्ष चौधरीले बिद्यालयका कक्षाहरु अनुगमन पनि गर्नु भएको थियो ।कार्यक्रमको सहजिकरण गढवा सिपि नेपालका विद्यार्थी संयोजक हेमराज शर्माले गर्नु भएको थियो।

गढवामा साबुन बनाउने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

गढवा, २४ जेठ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा सञ्चालित मधेशी समुदायलाई साबुन बनाउने सात दिने तालिमको बुधबार समापन गरिएको छ ।

सिप सिकौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका लागि सफल जीवनयापनका लागि सकारात्मक सोच विकास तथा सीप विकासका लागि नुहाउने र लुगा धुने साबुन निर्माण सम्बन्धी सात दिने तालिम दिईएको हो।

गढवा गाउँपालिका वडा नम्बर ४,५,६ र ७ वडाका गरी कुल २२ जना मधेसी मुस्लिम समुदायका व्यक्तिहरुलाई सावुन बनाउने तालिम दिन सुरु गरिएको गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ। गाउँपालिकाको आर्थिक बर्ष २०८९/०८० महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत तालिम दिईएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ।

बुधवार सात दिने कपडा धुने र नुहाउने साबुन तालिमको समापन कार्यक्रम बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका समुदायलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले आय मुलक तालिमको आयोजना गरेको र यस तालिम बाट पालिकाले ठुलो अपेक्षा लिएको बताउनुभयो। पालिकाले सम्पूर्ण पालिकाबासीलाई स्वरोजगार बनाउने तर्फ लाग्न उत्प्रेरीत गरिरहेको बताउनुभयो। साबुन उत्पादन गरेर पालिकामा खपत गर्ने र बढीमात्रामा उत्पादन भए बजारीकरणको लागि अन्य पालिकाहरु संग समन्वय गर्ने बताउनु भयो ।तालिम पश्चात सहभागी सबैले समूहगत रुपमा सावुन उत्पादनमा लाग्नु हुनेछ र गढवा गाउँपालिकामा सावुनको उध्योग खुल्छ भन्ने कुरामा आशावादी रहेको बताउनुभयो। तालिम लिने र पछी छोड्ने हो भने तालिमको कुनै अर्थ नरहने बताउदै कुनै पनि हालतमा स्वरोजगार बन्नै पर्ने बताउनु भयो।

आर्थिक अवस्था कमजोर भएका मधेसी/मुस्लिम समुदायको आर्थिकस्तर उकास्ने उद्धेश्यले सावुन बनाउने तालिम आयोजना गरिएको उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भयो । महिलाहरुलाई स्वरोजगार बनाई उत्पादन मुलक कार्यक्रम गर्ने र आय आर्जनको राम्रो स्रोत बनोस भनेर मधेशी/मुस्लिम समुदायका लागि बिशेष गरेर साबुन बनाउने तालिमको आयोजना गरेको बताउनु भयो।

तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न चाहे गढवा उद्योग बाणिज्य संघ बाट भरपूर सहयोग दिने उधोग वाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले आश्वासन दिनु भयो।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मनसरी घर्ती मगरले प्रशिक्षण दिई रहनु भएको छ।

तालिममा गाउँपालिका भित्रका चार वटा वडा गरी कुल २२ जना मधेसी/मुस्लिम समुदायका व्यक्तिहरुको सहभागिता र रहेको छ।समापन कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु निर्माण तालिम गढवामा सम्पन्न 

गढवा, २३ जेठ ।सिप सिकौ रोजगार बनौ’ भन्ने मुल नाराका साथ थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु निर्माण सम्बन्धि २० दिने तालिमको समापन गढवा १ जेठानगाउँमा समापन गरिएको छ ।

गढवा गाउँपालिका कार्यपालिका सदस्य हेमन्ती कुमारी कुमालको अध्यक्षता तथा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माको बिशिस्ट आथित्यमा सम्पन्न भएको हो ।

गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित २० दिने तालिममा १२ जना महिलाहरुको सहभागिता रहेको थियो।

तालिममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गढवा उधोग वाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले थाकलबाट हस्तकला सजावटका सामाग्रीहरुको तालिम एकदमै महत्वपूर्ण र राम्रो सम्भावना बोकेको बताउनुभयो। थाकलबाट हस्तकला सजावटका सामाग्रीहरु बनाएर बजारीकरण गर्न सके आय आर्जनका लागि राम्रो स्रोत हुने बताउनु भयो। तालिममा सिकेको कुरा व्यवहारमा ल्गु गर्दै सके एक्लै नसके समूहगत रुपमा व्यासायीक रुपमा अघि बढ्नै पर्ने बताउनु भयो। पालिकाको लाखो खर्चमा सञ्चालित तालिमहरु आय आर्जनका लागि नभई पालिकाको लगानी खेर गैरहेकोले तालिम पश्चात अनिवार्य स्वरोजगार, आय आर्जनका लागि उत्पादन मुलक कार्यक्रम गर्न सुझाव दिनु भयो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र दिईएको छ।

समापन कार्यक्रममा कार्यपालिका सदस्य रमा भण्डारी, वडा सदस्यहरु जगमति यादव, निमा परियार, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्मा, कृषि शाखा प्राविधिक फुलनदेवी चौधरी, रोजगार शाखाका सत्यपाल यादव लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।