गढवामा साबुन बनाउने तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न

गढवा, २४ जेठ। गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा सञ्चालित मधेशी समुदायलाई साबुन बनाउने सात दिने तालिमको बुधबार समापन गरिएको छ ।

सिप सिकौ, स्वरोजगार बनौ भन्ने मुल नाराका साथ मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका लागि सफल जीवनयापनका लागि सकारात्मक सोच विकास तथा सीप विकासका लागि नुहाउने र लुगा धुने साबुन निर्माण सम्बन्धी सात दिने तालिम दिईएको हो।

गढवा गाउँपालिका वडा नम्बर ४,५,६ र ७ वडाका गरी कुल २२ जना मधेसी मुस्लिम समुदायका व्यक्तिहरुलाई सावुन बनाउने तालिम दिन सुरु गरिएको गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ। गाउँपालिकाको आर्थिक बर्ष २०८९/०८० महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत तालिम दिईएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ।

बुधवार सात दिने कपडा धुने र नुहाउने साबुन तालिमको समापन कार्यक्रम बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले मधेशी/मुस्लिम समुदायका व्यक्तिहरुका समुदायलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले आय मुलक तालिमको आयोजना गरेको र यस तालिम बाट पालिकाले ठुलो अपेक्षा लिएको बताउनुभयो। पालिकाले सम्पूर्ण पालिकाबासीलाई स्वरोजगार बनाउने तर्फ लाग्न उत्प्रेरीत गरिरहेको बताउनुभयो। साबुन उत्पादन गरेर पालिकामा खपत गर्ने र बढीमात्रामा उत्पादन भए बजारीकरणको लागि अन्य पालिकाहरु संग समन्वय गर्ने बताउनु भयो ।तालिम पश्चात सहभागी सबैले समूहगत रुपमा सावुन उत्पादनमा लाग्नु हुनेछ र गढवा गाउँपालिकामा सावुनको उध्योग खुल्छ भन्ने कुरामा आशावादी रहेको बताउनुभयो। तालिम लिने र पछी छोड्ने हो भने तालिमको कुनै अर्थ नरहने बताउदै कुनै पनि हालतमा स्वरोजगार बन्नै पर्ने बताउनु भयो।

आर्थिक अवस्था कमजोर भएका मधेसी/मुस्लिम समुदायको आर्थिकस्तर उकास्ने उद्धेश्यले सावुन बनाउने तालिम आयोजना गरिएको उपाध्यक्ष शारदा कुमारी चौधरीले बताउनु भयो । महिलाहरुलाई स्वरोजगार बनाई उत्पादन मुलक कार्यक्रम गर्ने र आय आर्जनको राम्रो स्रोत बनोस भनेर मधेशी/मुस्लिम समुदायका लागि बिशेष गरेर साबुन बनाउने तालिमको आयोजना गरेको बताउनु भयो।

तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न चाहे गढवा उद्योग बाणिज्य संघ बाट भरपूर सहयोग दिने उधोग वाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगरले आश्वासन दिनु भयो।

तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक मनसरी घर्ती मगरले प्रशिक्षण दिई रहनु भएको छ।

तालिममा गाउँपालिका भित्रका चार वटा वडा गरी कुल २२ जना मधेसी/मुस्लिम समुदायका व्यक्तिहरुको सहभागिता र रहेको छ।समापन कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा कुमारी चौधरी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढामगर, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक रामसुरत यादव, लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *