संसद् पुगेर के भने महासचिव गुटरेसले ? (हेर्नुहोस् पूर्णपाठ)

काठमाडौँ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसद्को संयुक्त बैठकलाई मंगलबार सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले नेपाल सरकार र नेपाली जनतालाई न्यानो आतिथ्यका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

महासचिव गुटरेसले आफ्नो सम्बोधनमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनबाट नेपालले भोगेको असर, नेपालले पछिल्ला २० वर्षमा हासिल गरेको प्रगतिलगायत विषयमा चर्चा गरेका थिए । यस्तो थियो उनको सम्बोधन, हेर्नुहोस् पूर्णपाठ :

 

महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवम् मित्रहरू,

आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो । मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो । म यहाँ पहिलो पटक सन १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ र यो यात्रा पनि कुनै अपवाद होइन । विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैं रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको । अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्य र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु ।

 

महामहिमहरू,

हामी आज संसारको अशान्तिको बीचमा एकअर्कालाई भेट्देछौँ । गरिबी र भोकमरीमा दशकौँको प्रगति उल्टिन्दैछ । मुद्रास्फीतिले घरायसी र राष्ट्रिय बजेटलाई कमजोर बनाउँदैछ । परिवारहरू होस् वा राष्ट्रहरू, आर्थिक संकटको सामना गर्दैछन् । महिलाहरूको प्रतिनिधित्व जनसंख्यामा उनीहरूको अनुपातको तुलनामा र उनीहरूले पाउने पारिश्रमिक पुरुषको तुलनामा कम छ । हिंसा र द्वन्द्व चुलिएका छन् । मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौं माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली थिए । मृत्यु भएका दश नेपाली विद्यार्र्थीका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता श्री विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।

 

माननीय मन्त्रीज्यू तथा सांसदज्यूहरू,

भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेका छन् । साना मुलुकहरू ठूला शक्तिहरूबीचको प्रतिस्पर्धामा सम्पाश्र्विक क्षति हुन डराउँछन् ।जलवायु प्रकोप घातक शक्तिका साथ तीव्र भइरहेको छ । यी सङ्कटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ । यो देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायु सम्बन्धी कार्यको कट्टर समर्थक हो । दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग तपाईँहरू आफैले बनाउनुभएको छ । विगत बीस वर्षको तपाईहरूंको यात्रा हेर्नलायकको छ, अद्भुत छ । नयाँ संविधानसहितको नयाँ गणतन्त्रको केन्द्रमा संयुक्त राष्ट्रसंघको बडापत्र छ । तपाईँहरूले दिगो विकास लक्ष्यहरू शीघ्र अँगाल्नु भयो र तीमध्ये धेरैमा प्रगति गर्दै हुनुहुन्छ । तपाईको मुलुकले द्वन्द्वलाई सफलतापूर्वक साम्य पारेको छ र युद्धबाट शान्तितर्फ उन्मुख भएको छ । यो यस्तो प्रक्रिया हो जसलाई संयुक्त राष्ट्रसंघले समर्थन गर्न पाउँदा गर्व लागेको छ ।

 

महानुभावहरु, माननीय सांसदज्यूहरू,

नेपाल परिवर्तशील छ । तपाईँहरूंको प्रगतिको गतिशील कथा आज पनि निरन्तर छ । अल्पविकसित देशको स्थितिबाट तपाईँहरू अगाडि बढ्दै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघ एक सहज सङ्क्रमणलाई समर्थन गर्न प्रतिबद्ध छ र तपाईँहरू आफ्ना शान्ति प्रक्रियाका अन्तिम चरणको तयारी गर्दै हुनुहुन्छ र सङ्क्रमणकालीन न्यायको माध्यमबाट युद्धको घाउ निको पार्दै हुनुहुन्छ । प्रश्नहरू र अन्यायद्वारा त्रसित पीडित व्यक्ति, परिवार र समुदायलाई शान्ति दिने र विगतलाई पूर्णबिराम दिन मद्दत गर्ने प्रक्रिया हुनुपर्छ । सङ्क्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ तर यो सजिलो भने छैन ।

स्वभावतः यो एक नाजुक र जटिल प्रक्रिया हो । हामीलाई के कुरा थाहा छ भने सङ्क्रमणकालीन न्यायमा सफलताको सबैभन्दा ठूलो सम्भावना हुन्छ जब यो समावेशी तथा बृहत् हुन्छ र यसको केन्द्रमा पीडितहरू हुन्छन् । जब यो सत्य, क्षतिपूर्ति र न्यायमा केन्द्रित हुन्छ । त्यतिमा मात्र होइन जब महिलाहरू पूर्ण रूपमा सहभागी हुन्छन् । यसका अतिरिक्त जब मानवाधिकार उल्लङ्घनका सबै पीडितहरूले अर्थपूर्ण समाधान पाउन सक्छन् । नेपालमा प्रगति र समाधान खोज्ने प्रयासलाई म स्वागत गर्दछु । तपाईँहरू एक्लो हुनुहुन्न । अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने, तपाईँको सर्वोच अदालतका निर्णय र पीडितहरूका आवश्यकता पूरा गर्ने प्रक्रियाको विकास गर्न र यसलाई व्यवहारमा ल्याउन संयुक्त राष्ट्रसंघ तपाईँहरूलाई सहयोग गर्न तयार छ । संयुक्त राष्ट्रसंघ र नेपाल पुराना मित्र हुन् । हाम्रो सहकार्य गहन छ । नेपाल लामो समयदेखि संयुक्त राष्ट्रसंघ परिवारको प्रिय सदस्य र हालैमा अति कम विकसित मुलुकहरूको समूहको अध्यक्षका हैसियतमा विकासोन्मुख देशहरूका लागि प्रभावशाली आवाज भएको छ र यो सानो देशले अन्तर्राष्ट्रिय शान्तिमा ठूलो योगदान गरेको छ । विश्वका सबै राष्ट्रहरूमध्ये नेपाल संयुक्त राष्ट्र संघको मिसनमा सेना पठाउने दोस्रो ठूलो राष्ट्र हो । नेपाली जनताको समर्पण, अदम्य साहस र सेवाका लागि म हृदयदेखि कृतज्ञ छु । हाम्रो नीलो झण्डामुनि रही सेवा गर्दै आफ्नो जीवन गुमाएकाहरूलाई सम्मान गर्न म एक क्षण लिन चाहन्छु ।

बिराम

 

महामहिमहरू,

जलवायु सम्बन्धी कार्यमा नेपाल अग्रपङ्कतिमा छ । तपाईँहरू सन् २०४५ सम्ममा शून्य उत्सर्जनमा पुग्ने लक्ष्यतिर बढिरहनुभएको छ । असाधारण वनजङ्गलको पुनस्र्थापनका प्रयासहरूका लागि धन्यवाद, वनले अब देशको लगभग आधा भाग ओगटेका छन् र तपाईँहरू सबै पहलका लागि हाम्रो पुर्वचेतावनी प्रणालीका अग्रगामीहरूमध्ये एक हुनुहुन्छ, जसको लक्ष्य २०२७ सम्ममा पृथ्वीका प्रत्येक व्यक्तिलाई सुरक्षित राख्नु हो । वैश्विक सङ्कटहरूले नेपाललाई अझै नराम्ररी प्रहार गरिरहेका छन् किनकि नेपाल विश्वका विकासोन्मुख देशहरूमध्ये एक हो । कोभिड–१९ को महामारीका दीर्घकालीन प्रभाव, मुद्रास्फीति र जलवायु संकटले विकासका प्राप्त लाभलाई चुनौती दिइरहेका छन् र लगानीका लागि उपलब्ध हुने रकमको मात्रा खुम्चिरहेको छ । वैश्विक कार्बन उत्सर्जनमा नेपालको योगदान धेरै सानो अंश हो तर मनसुन, आँधीबेहरी र पहिरो तीव्रता र भीषणताको हिसाबले बढ्दैछन् । बाली, पशुधन र सम्पूर्ण गाउँहरू नष्ट गर्दै अर्थव्यवस्थालाई ध्वस्त पार्दैछन् र मानव जीवनलाई बर्बाद गर्दैछन् ।

अगस्टमा भएको भारी वर्षाले ल्याएको पहिरोले विनाश निम्त्यायो र सयौँ मानिसहरूको मृत्यु भयो र हिमनदीहरू असामान्य गतिमा पग्लिरहेका छन् । नेपालले तीस वर्षको अवधिमा आफ्नो हिमनदीको झन्डै एक तिहाइ गुमाएको छ । प्रभाव विनाशकारी छ – पानीले भरिएका ताल फुट्दैछन् । नदी र समुद्रको पानी बढ्दै छ । संस्कृतिहरूले चुनौतीका सामना गरिरहेका छन् र पहाडहरू जोखिममा छन् र चट्टान, पहिरो तथा हिमपहिरोको जोखिम बढ्दो छ । चुनौतीहरू बढ्ने क्रम जारी रहनेछ । हिमालयका नदीहरूले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गर्दछन् । जसरी तिनीहरू सङ्कुचित हुन्छन् त्यसरी नै नदीहरू बग्छन् । भविष्यमा सिन्धु, गङ्गा र ब्रह्मपुत्र जस्ता हिमालयका प्रमुख नदीहरूको बहाव अत्यन्तै सीमित हुनेछ । नुनिलो पानीको अतिक्रमणसँगै यसले यस क्षेत्र र बाहिरका डेल्टाहरूलाई नष्ट गर्नेछ । यसको अर्थ तल्लो समुदायहरू र सम्पूर्ण देशहरू सदाका लागि मेटिन सक्छन् । लाखौँ मानिसहरू सर्नुपर्ने हुन्छ । पानी तथा जमिनको लागि भयङ्कर प्रतिस्पर्धा हुनेछ ।

 

महामहिमहरू,

जलवायु परिवर्तनको परिणामस्वरूप यो देशमा के भइरहेको छ त्यो डरलाग्दो अन्याय हो र जीवाश्म इन्धन युगको गम्भीर आरोप हो । जलवायु सङ्कटको क्रूर प्रभावको सामना गरिरहेका नेपालका ती समुदायहरूप्रति म अति चिन्तित छु । संयुक्त राष्ट्रसंघ उनीहरुको साथमा छ । विश्वले पनि यस्तै गर्नुपर्छ । नेपाल र अन्य विकासोन्मुख देशहरूको विकासमा सहयोग गर्न, जलवायु सम्बन्धी कार्यलाई तीव्रता दिन र हालको वैश्विक संकटको सामना गर्न धेरै ठूलो अन्तर्राष्ट्रिय सहयोग चाहिन्छ । मैले दिगो विकास लक्ष्य स्टिमुलस र जलवायु कार्यको लागि किफायती दीर्घकालीन वित्तपोषणमा कम्तीमा ५ खर्ब प्रतिवर्ष वितरण गर्ने प्रस्ताव गरेको छु । सदस्य राष्ट्रहरूले गत महिनाको महासभामा प्रस्तावलाई स्वागत गरे र यसलाई अगाडि बढाउन प्रतिबद्ध भए । म उनीहरूलाई यी प्रतिबद्धताहरूलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि अब कार्य गर्न आह्वान गर्दछु र म नेताहरूलाई ढिलाइ नगरी जलवायुमा काम गर्न आग्रह गर्दछु — सबैभन्दा ठूला उत्सर्जनकर्ताहरूले नेतृत्व लिनुपर्दछ । विश्वको तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्न सबै देशहरूले मैले प्रस्ताव गरेको एक्सलरेसन एजेन्डालाई प्रभावकारी बनाउनु पर्छ र तिनीहरूले ग्लोबल स्टकटेकमा बलियो परिणामका साथ कोप २८ लाई अर्थपूर्ण बनाउनुपर्छ । हामीले जलवायु न्याय प्रदान गर्न पनि आवश्यक छ । विकसित देशहरूले वार्षिक १ खर्ब डलर दिने वाचा पूरा गर्नुपर्छ र दोहोरो अनुकूलन वित्त, अनुकूलनमा जलवायु वित्तपोषणको आधा खर्च गर्ने पहिलो चरणको रूपमा । जलवायु उत्थानशीलता निर्माण गर्ने प्रयासको केन्द्रमा सबैभन्दा सङ्कटासन्न समुदाय हुनुपर्दछ र यस वर्षको कोप २८ मा सबै पक्षहरूले कोषेढुंगा नोक्सान र क्षति कोषलाई परिचालन गर्नुपर्छ । हामीलाई कोषमा नयाँ र समयमै वाचा चाहिन्छ । नेपाली जनता त्यसैमा निर्भर छन् । आँधीबेहरीमा आफ्ना घर गुमाएका परिवारहरूका लागि र उर्लंदो नदीहरूले आफ्ना गाउँ छोड्न बाध्य भएका समुदायहरूका लागि हानि र क्षति कुनै वार्ताको बिन्दु वा कर्मचारीतन्त्र अमूर्तता होइन । यो एक जीवन रेखा हो ।

 

माननीय मन्त्रीज्यूहरू तथा सांसदज्यूहरु,

नेपाल लामो समयदेखि अन्तर्राष्ट्रिय प्रणालीको मित्रका रूपमा रहेको छ र आज त्यो प्रणालीलाई पुनर्ताजगी, पुनरुत्थान र सुधारको निकै आवश्यकता छ । संसार परिवर्तनको अवस्थामा छ । यो बहुध्रुवीयतातर्फ अघि बढिरहेको छ । यो राम्रो कुरा हो । बहुध्रुवीय विश्वले वैश्विक मञ्चमा नेतृत्व र सन्तुलनका लागि नयाँ अवसरहरू प्रदान गर्दछ तर शान्ति कायम राख्न यो नयाँ गतिशीलतालाई बलिया बहुपक्षीय संस्थाहरू चाहिन्छन् । इतिहासले हामीलाई त्यो प्रमाणित गरेको छ। बीसौं शताब्दीको सुरुमा युरोप बहुधुवीय थियो, तर बलिया बहुपक्षीय संस्थाहरू थिएनन् । यो युद्धमा पर्यो जसले विश्वलाई आफ्नो चपेटमा लियो । त्यो हामीले लिन सक्ने जोखिम होइन । हामीलाई आजको वास्तविकतालाई प्रतिबिम्बित गर्ने बलिया अन्तर्राष्ट्रिय संस्थाहरू चाहिन्छन् ।

तर संसार हाम्रोे ऐना हो जहाँ तिनीहरू स्थापना भएका थिए – लगभग ८० वर्ष पहिले । त्यो परिवर्तन हुनुपर्छ । विकासोन्मुख देशहरूको अन्तर्राष्ट्रिय संस्थाहरूमा अझ बढी प्रतिनिधित्व हुनुपर्छ । मैले संयुक्त राष्ट्रसंघको पुरानो सुरक्षा परिषद्लाई सुधार गर्न आह्वान गरेको छु र मैले विश्वव्यापी वित्तीय संरचनालाई सुधार गर्ने उपायहरू प्रस्ताव गरेको छु जसले गर्दा यसले विकासशील देशहरूलाई अझ राम्रोसँग प्रतिनिधित्व गर्दछ र तिनीहरूका आवश्यकताको प्रतिकार्य गर्दछ र यी प्रस्तावहरूले यस वर्षको संयुक्त राष्ट्र संघ महासभामा र त्यसपछि वास्तविक ध्यान प्राप्त गर्दैछन् । आगामी वर्षको भावी राष्ट्रसंघीय शिखर सम्मेलन थप प्रगतिलाई अघि बढाउने महत्वपूर्ण अवसर हो र हामीले परिवर्तनलाई वास्तविकतामा परिणत गर्नका लागि मद्दत गर्न नेपालले सहयोग गर्ने कुरामा म भरोसा गर्छु ।

 

महामहिमहरू,

बहुपक्षवादले संसारलाई प्रतिबिम्बित गर्नुपर्छ र त्यसलाई प्रतिकार्य गर्नुपर्छ । यसको अर्थ हामीले नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न र नयाँ अवसरहरू प्रयोग गर्न आवश्यक संस्थाहरू र उपकरणहरू सिर्जना गर्नु हो । आजको सन्दर्भमा प्रविधि दुवैको उदाहरण हो । यसले समस्याहरू समाधान गर्न र विकासलाई प्रोत्साहित गर्न सक्छ वा यसले विभाजनलाई निम्त्याउन सक्छ र असमानतालाई बढाउन सक्छ । आज यसले पहिलेको धेरै थोरै गर्दैछ र पछिको धेरै गर्दैछ ।

 

विश्वलाई आश्चर्यजनक गतिमा परिवर्तन गर्ने प्रविधिहरूका लागि हामीलाई वैश्विक प्रतिकार्य चाहिन्छ । मानवताको भलाइको लागि तिनीहरूलाई प्रयोग गर्न र सबै देशहरूले आफ्नो भनाइ राख्न पाउनुपर्छ । मेरो उच्च स्तरीय आर्टिफिसियल इन्टेलिजेन्स निकायमा जी ७७ देशका विज्ञहरू समावेश छन् । यसले यस वर्षको रिपोर्ट गर्नेछ । तसर्थ सदस्य राष्ट्रहरूले आर्टिफिसियल इन्टेलिजेन्सका लागि वैश्विक शासन विकल्पहरू विचार गर्न सक्छन् । हामीले टेक्नोलोजीका फाइदा पनि सबैमा र्पुयाउनुपर्दछ र नयाँ प्राविधिक युगमा कसैलाई पनि पछाडि नछोड्ने कुरा सुनिश्चित गर्नुपर्दछ । संयुक्त राष्ट्र संघले प्रस्ताव गरेको ग्लोबल डिजिटल कम्प्याक्टको उद्देश्य यही हो । प्रविधिले सबैका लागि काम गर्छ भन्ने सुनिश्चित गर्न सरकार र उद्योगहरूलाई एकसाथ ल्याउने र दिगो विकास लक्ष्यहरूलाई गति दिने लक्ष्य राखेको छ । फेरि, भावी शिखर सम्मेलन प्रगतिलाई अगाडि बढाउने एक उत्कृष्ट अवसर हो र बहुपक्षीयता, शान्ति र विकासोन्मुख देशहरूको हितको अटल पक्षधरका रूपमा नेपाल शिखर सम्मेलनमा महत्वपूर्ण सहयोगी हुनेछ ।

महामहिमहरू,

पछिल्ला केही दिनमा यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुसी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन् – नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ । संयुक्त राष्ट्र संघले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न छाड्ने छैन ।

यहाँहरू सबैलाई मेरो हार्दिक धन्यवाद छ ।

इजरायलमै बिलाए जसका सपना सुनसरीदेखि दार्चुलासम्म शोक

काठमाडौँ, २२ असोज। तीन दिनदेखि संसारको ध्यान इजरायल र हमासको युद्धमा छ। धेरै टाढाको भूमिमा भइरहेको युद्धबारे नेपालमा पनि चासो र चिन्ता छ। गाजाको इस्लामिस्ट समूह हमासले गत शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

गाजा नजिकै प्रशिक्षणमा रहेका १७ नेपालीमध्ये एक जना बेपत्ता छन् भने चार जना घाइतेको उपचार भइरहेको छ। अरू दुई जना भने सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट एक महिनाअघि ११ महिनाका लागि इजरायल पुगेका विद्यार्थीको मृत्यु भएपछि सुनसरीदेखि दार्चुलासम्म शोक परेको छ।

हमासको आक्रमणमा परी मारिएकाहरूका आफन्तलाई मृत्युको खबर पत्याउन मुस्किल परिरहेको छ। हमासको आक्रमणले एकातिर भर्खरै इजरायली भूमि टेकेका युवाहरूको सपना बिलाएको छ भने अर्कातिर उनीहरूका परिवारको आशा निभेको छ। सेतोपाटी टिमले इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थीबारे परिवार, आफन्त र जनप्रतिनिधिसँग कुराकानी गरेको छ।

गणेशकुमार नेपाली

जयपृथ्वी नगरपालिका-११, बझाङ

बझाङको जयपृथ्वी नगरपालिका-११ डाँडागाउँका गणेशकुमार पढाइमा सानैदेखि जेहेन्दार थिए। पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै रूचि राख्थे। नृत्य, गायन, कविता लेखनमा पनि उनी कुशल प्रतिभा थिए।

वडाध्यक्ष सर्जनबहादुर थापाका अनुसार एसएलसीपछि उनी पढ्न चितवन गए। २०७३ मा प्रेरणा साइन्स कलेजबाट उनले प्लस टु पास गरेका थिए। त्यसपछि उनी सुदूरपश्चिम विश्वविद्यालयमा कृषि तथा विज्ञान संकायमा अध्ययन गर्थे। कृषिमा असाध्यै रूचि भएकाले उनी त्यता लागेका हुन्। उनी अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीका सचिव पनि थिए। सुदूरपश्चिम विश्वविद्यालयका कृषि विज्ञान संकायका आठौं सेमेष्टरका विद्यार्थी हुन्।

उनका दाजु विकास निजामती सेवामा छन्। परिवारमा बुवा, आमा, दाजु, भाउजू र भाइ पनि छन्।

गणेशकुमार एक महिनाअघि मात्रै इजरायल गएका थिए।

‘पछिल्लो समय मेरो सम्पर्क भएको थिएन। हिजो पो जयपृथ्वी-६ का गणेशकुमार नेपाली भनेर आयो। सुदूरपश्चिम विश्वविद्यालयबाट गएका हुन् भनेपछि मेरा साथी नै हुन् भन्ने निधो भयो। रातभर निदाउन सकिनँ। अहिले म उनका बाबुआमालाई भेट्न जाँदै छु,’ वडाध्यक्ष थापाले भने।

लोकेन्द्रसिंह धामी

मालिकार्जुन-४ दार्चुला

प्रयोगात्मक अध्ययनका लागि इजरायल पुगेका दार्चुलाका लोकेन्द्रसिंह धामीको पनि हमासको आक्रमणमा परी मृत्यु भएको छ।

मालिकार्जुन गाउँपालिका-४ का वडाध्यक्ष धनसिंह धामीका अनुसार लोकेन्द्रले १२ कक्षासम्मको पढाइ गाउँमै पूरा गरेका हुन्।

उनले टीकापुरबाट बिएस्सी एजीसम्मको पढाइ पुरा भएपछि थप अध्ययनका लागि सुदूरपश्चिम विश्वविद्यालय गएका थिए।

त्यहीँबाट एक महिनाअघि इजरायल गएका हुन्।

लोकेन्द्रका दाजु नेपाली सेनामा छन्। उनी परिवारका कान्छा छोरा हुन्। निम्न आर्थिक अवस्थाका उनले केही समय गाउँकै विद्यालयमा पढाएका थिए। उनका श्रीमती र छोराछोरी छन्।

‘लोकेन्द्रको खबर सुनेर हामी शोकाकुल छौं। जिल्लाबाट सिडिओ, जिल्ला प्रहरी प्रमुख आउँदै हुनुहुन्छ। उहाँहरूसँगै हामी मृतकको आफन्त भेट्न जाँदै छौं,’ वडाध्यक्ष धामीले भने,‘उनका बुवाले अहिले पनि खेती किसानी गरेर घरको गुजारा चलाइराख्नु भएको छ। छोरालाई कृषि वैज्ञानिक बनाउने उहाँको धोको थियो। इजरायलमा समाप्त भयो।’

दीपेशराज बिष्ट

लेकम- ५, दार्चुला

२४ वर्षीय दीपेशराज घरका जेठा छोरा थिए। उनका बुवा शिक्षक थिए। तर दीपेशराज सानै हुँदा बुवाको निधन भयो, आमा अहिले राहत शिक्षक छन्।

गाउँपालिका अध्यक्ष रामदत्त जोशीका अनुसार दीपेशराज पढाइमा राम्रो भएकाले परिवारले पढ्न महेन्द्रनगर पठाएका थिए।

‘उनी मेरा भान्जा नाता पर्छन्। महेन्द्रनगरको रेडियन्ट एकेडेमीबाट प्लस २ पास गरेपछि टीकापुरबाट बिएस्सी एजी गरेका थिए,’ अध्यक्ष जोशीले भने,‘बाबु सानैमा बितेकाले पारिवारिक अवस्था कमजार हुने नै भयो। आमा राहत शिक्षिका हुनुहुन्छ। कान्छो भाइ धरानस्थित विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनरत छन्।’

प्रवेश भण्डारी

शारदा-३, सल्यान

सल्यानको शारदा नगरपालिका- ३ साहुटोल सोमबार शोकमा डुबेको छ।

साहुटोलका २४ वर्षीय प्रवेश भण्डारीको इजरायलमा मृत्यु भएको खबर सुनेपछि साहुटोल शोकमा डुबेको हो।

शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीका अनुसार प्रवेश परिवारका एक्ला छोरा हुन्।

‘प्रवेश शारदाको एक चम्किलो तारा बन्ने आशा थियो,’ मेयर भण्डारीले भने, ‘पढाइमा अब्बल थियो। मृत्युको खबर सुनेर मन खिन्न भएको छ।’

प्रवेशका ४५ वर्षीय बुवा चक्रबहादुर भण्डारीले ज्याला मजदुरी गर्दै छोरा उच्च शिक्षासम्म पढाएका थिए।

‘म आज बिहान मात्रै उहाँको घर पुगेर सान्त्वना दिन खोजें,’ मेयर भण्डारीले भने, ‘यो परिवारमाथि परेको बज्रपात मात्रै नभई गाउँ माथि नै परेको बज्रपात जस्तो अनुभूति भइरहेको छ।’

चक्रबहादुरका अनुसार प्रवेश सानैदेखि पढाइमा अब्बल भएका कारण कक्षा एकदेखि बिएस्सी एजी पढ्दासम्म उनले शूल्क तिर्नु परेन। दाङको तुलसीपुरस्थित गोरखा उच्चमाविमा पढ्दा पनि प्रवेशले छात्रवृत्तिमै पढेका थिए।

‘बुवा-आमा अब तपाईंहरूका दुःखका दिन जानेछन्। म फर्किएर आएपछि कुनै ठाउँमा काम गर्छु, हाकिमसरह बन्छु भन्थ्यो,’ चक्रबहादुरले भने, ‘तपाईंहरूका लागि नयाँ घर बनाउने छु र सुखमा राख्छु भन्थ्यो। के भयो भयो!’

छोराको मृत्युको खबरपछि ४४ वर्षीया आमा चन्द्रिका र प्रवेशकी दिदी प्रतीक्षा भण्डारी अचेत अवस्थामा रहेको मेयर भण्डारीले बताए।

‘सुर्खेत विवाह भएकी प्रतीक्षालाई राति नै एम्बुलेन्सले ल्याएको हो,’ उनले भने, ‘आमा र छोरी अर्धचेत अवस्थामा हुनुहुन्छ सलाइन चढाउँदै आइएको छ।’

जे-जस्तो अवस्थामा भए पनि छोरा प्रवेशको शव जति हुन्छ छिटो घरसम्म ल्याइदिने वातावरण बनाइदिन बुवा चक्रबहादुरले आफूसँग अनुनय-विनय गरेको मेयर भण्डारीले बताए।

आनन्द साह

लक्ष्मिनिया-४ धनुषा

२३ वर्षीय आनन्द घरका एक्ला छोरा थिए। उनकी एक दिदी र दुई बहिनी छन्।

लक्ष्मिनिया-४ का वडाध्यक्ष रमेशकुमार साहका अनुसार गत शुक्रबार साँझ आनन्दले परिवारसँग कुरा गरेका थिए।

‘कुरा हुँदा उसले आफू सञ्चै रहेको बताएको थियो। बहिनीको खुटा दुखेको छ भनेपछि डाक्टरलाई देखाउनु भनेको थियो,’ आनन्दका छिमेकी मिथिलेश साहले भने,‘उनका बुवा घरबाहिर गएकाले कुरा भएको रहेनछ। हिजो बिहान यताबाट फोन गर्दा सम्पर्क नै भएन।’

आनन्दका बुवा सोमन साह १५ वर्षसम्म वैदेशिक रोजगारीमा गएका थिए। वडाध्यक्ष साहका अनुसार उनको आर्थिक अवस्था निकै कमजोर छ ।

‘बुढेसकाल लागेपछि विदेशबाट घर फर्केका थिए। थोरै जमिन छ त्यसमै खेतीपाती गरेर बस्छन्,’ वडाध्यक्ष साहले भने, ‘परिवार सम्हाल्नुपर्ने जिम्मेवारी पुरै आनन्दको काँधमा आइपुगेको थियो। उनी घरका पिलर थिए। तर पिलरै ढलेछ। अहिले पुरै टोल शोकमग्न छ।’

आशिष चौधरी

जोशीपुर-५ कैलाली

कैलालीको जोशीपुर-५ का आशिष चौधरीको घरा ताला लागेको छ। इजरायलमा भएको हमलामा परेर आशिषको मृत्यु भएको खबर आएको छ। भारतको बैंगलुरूमा रहेका उनका आमाबुबालाई त्यो खबर कसरी सुनाउने आफन्तहरू पीरमा छन्।

आशिषका बुबाले जोशीपुर बजारमा पसल चलाउन केही वर्षअघि १० लाख जति ऋण लिएका थिए। छोरालाई बिएस्सी एजी पढाउन खर्च लागेपछि पसलको ऋण तिर्न बुबाले सकेनन्। छोरा टीकापुरमा डेरा गरेर पढ्दै गर्दा आशिषका आमाबुबा पसल बेचेर घरमा ताला लगाई भारतको बैंग्लुरू गएका थिए।

‘ऋण तिर्न भनेर बुबाआमा भारत गएका बेला इजरायल जाने अवसर आयो भनेर भान्जा खुसी भएका थिए, कमाइ पनि होला र ऋण कर्जा तिरौंला भनेर विदेश गएका थिए, एक महिना नपुग्दै यस्तो खबर आएको छ,’ आशिषका मामा विनोद चौधरीले भने।

सोमबार बिहान जोशीपुर इलाका प्रहरी कार्यालयबाट पनि आएर आफन्तसित सोधपुछ गरेर गएका उनले बताए।

आशिषकी दिदी विवाहपछि धनगढी बस्दै आएकी छन्। आफन्तले इजरायलमा भएका अरूलाई पनि सम्पर्क गर्न खोजेका छन् तर भएको छैन।

आशिषको मृत्युबारे उनका बुबालाई जानकारी गराइएको छ। आमालाई पनि शंका भएको छ तर नभन्नु भनेको बिनोदले बताए।

‘मलाई छोरासित कुरा गराइदेउ भन्दैछन्, आक्रमण भएर टावर ध्वस्त भएकाले सम्पर्क भएके छैन, भनेको छु,’ उनले भने।

बैंगलुरूबाट आशिषका आमाबुबा सोमबार बेलुकाको हवाइजहाजबाट लखनउ र त्यहाँबाट गाडीमा धनगढी आउन लागेका छन्।

जोशीपुर गाउँपालिका-५ का वडा अध्यक्ष अनरकुमार चौधरीले २५ वर्षीय आशिष पढाइमा राम्रो र मेहेनती थिए।

विदेश गएको एक महिना नबित्दै यस्तो घटना भएपछि वडामा सबैलाई दु:खित बनाएको उनले बताए।

नारायणप्रसाद न्यौपाने

घोडाघोडी-४, कैलाली

कैलालीको घोडाघोडी नगरपालिका–४ मा रहेको नारायणप्रसाद न्यौपानेको परिवारमा आइतबार बेलुकासम्म अशान्ति थिएन। इजारायलको घटनाबारे विभिन्न शंका उब्जेर छटपटाहट भने भएकै थियो। कहीँ अप्रिय खबर पो आउँछ कि भन्ने पीर पनि थियो।

राति १० बजेतिर नारायणको परिवारसामु इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाउनेको नाम भनेर लेखिएको सूची आयो। त्यसमा कैलालीको घोडाघोडी–४ मा जनकपुरका नारायणप्रसाद न्यौपानेको नाम पनि थियो।

त्यसमा लेखिएको भए पनि परिवारले नारायणको मृत्यु भएको विश्वास गर्न मानेका छैनन्। नारायणकी आमा सीतादेवीले ‘छोरासँग कुरा गर्न भिडिओ कल लगाइदेऊ’ भनिरहेकी छन्।

कालिकोटको कोटबाडाबाट बसाइ सरेर आएका न्यौपाने परिवारमा तीन छोरा एक छोरी छन्। वाइफाइमा पैसा सकिएकाले एक सातादेखि नारायणसँग कुरा हुन सकेको थिएन। त्यसअगाडि छोरासँग राम्रै छ भनेर कुरा भएको र खर्चपानी नभए दुई दिनपछि पठाउने कुरा नारायणले आमालाई भनेका थिए।

नारायण परिवारमा माइला छोरा हुन्। एसएलसी पास गरेसँगै कृषि विज्ञान विषय पढ्न कञ्चनपुरको महेन्द्रनगर गएका थिए। महेन्द्रनगरबाट विज्ञान विषयमा राम्रै नम्बर लिएर कक्षा १२ पास भएका नारायणले टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्नातक अध्ययन गर्न थालेको तीन वर्ष भएको थियो। क्याम्पसले विदेश पठाउने खबर नाराणले नै परिवारलाई सुनाएका थिए।

२५ वर्षीय नारायणले इजरायल जानुभन्दा पहिले छ महिना दार्चुलामा इन्टर्नसिप गरेका थिए। इजरायल जाँदा दुई लाख जति खर्च भएको उनको परिवारले जनाएको छ।

पदम थापा

आदर्श-५, डोटी

डोटी आदर्श गाउँपालिका- ५ का २४ वर्षीय पदम थापा भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट ११ महिनाको कोर्सका लागि इजरायल पुगेका थिए।

बिएस्सी एजी स्नातकको परीक्षा दिएर कोर्सका लागि कलेज नै उनीहरूलाई त्यहाँ पठाएको पदमका दाइ भीम थापाले जानकारी दिए।

‘परीक्षाको नतिजा आउन ११ महिना लाग्ने भएकाले त्यो अवधिमा सिक्नका लागि कलेजले पठाएको थियो,’ उनले भने, ‘पदम नेपालमै सरकारी जागिर गर्न चाहन्थ्यो।’

पदम टीकाराम थापा र कैमती थापाका कान्छा छोरा हुन्। उनका दुई दाजु र एक दिदी छन्।

जेठो दाजु दानबहादुर गाउँपालिकामा इन्जिनियर छन्। पदमको पनि लोकसेवा पढेर स्वदेशमै काम गर्ने योजना थियो।

‘घटना भएको दिन अन्तिमपल्ट उसको एउटा म्यासेज आएको थियो। दिउँसो १ बजेर ४५ मिनेटमा ‘म मरें’ भनेर मात्र लेखिएको थियो,’ भीमले भने।

पदमले जेठी भाउजुको नम्बरमा म्यासेज गरेका थिए। त्यसपश्चात उनीसँग कुनै कुरा हुन नसकेको भीम बताउँछन्।

उनले भने, ‘११ महिनाको तालिम सकेर स्वदेशमा केही काम गर्ने योजना बनाएर गएको थियो, बाकसमा फर्किने भयो।’

उनको मृत्युबारे बुबा टीकारामलाई अझै जानकारी दिइएको छैन। अपहरणमा परेका छन् भन्ने सुनेर नै बेहोस भएकाले उनलाई जानकारी नगराइएको भीमले बताए।

आइतबारदेखि बेहोस भएका टीकारामलाई दिपायल अस्पताल पुर्‍याइएको थियो। सोमबार दिउँसो घर फर्काउने तयारी भइरहेको उनले जानकारी दिए।

राजन फुलारा

शिखर-६ डोटी

राजन फुलारा शिखर नगरपालिका–६ चुडी गाउँमा जन्मिएका हुन्। उनी यहीको सरस्वती माध्यमिक विद्यालयमा एसएलसीसम्म अध्ययन गरेका हुन्। मेधावी छात्र भएकाले कृषिमा रूची राखे। उनी टीकापुरको कृषि क्याम्पसमा अध्ययन गरिरहेका थिए।

उनी २३ वर्षका थिए।

शिखर नगरपालिकाका प्रमुख दीर्घबहादुर बलायरका अनुसार उनी परिवारका एक्ला छोरा हुन्। उनकी दुई दिदीको विवाह भइसकेको छ। परिवारमा एक जना बूढी हजुरआमा हुनुहुन्छ। बुवाआमा पनि वृद्ध भइसक्नु भएको छ।

‘अहिले जसरी हुन्छ शव ल्याइदेऊ भनेर छाती पिटीपिटी रोइरहनु भएको छ,’ मेयर बलायरले भने,‘हामी निरूपाय छौं। अहिले प्रमुख जिल्ला अधिकारीलगायतको टोली पनि जिल्लाबाट आउँदै हुनुहुन्छ।’

राजेशकुमार स्वर्णाकर

बराहक्षेत्र- ११ सुनसरी

राजेशकुमार स्वर्णाकर परिवारका साइँला सन्तान हुन्। २३ वर्षका उनले गाउँबाटै उच्च शिक्षा पूरा गरेका हुन्। पछिल्लो समय उनी एक वर्षे कोर्सको लागि सुदूरपश्चिम विश्वविद्यालयको कृषि तथा विज्ञान संकायमा भर्ना भएका थिए।

बराहक्षेत्र नगरपालिका ११ का वडाध्यक्ष श्रीकृष्णकुमार महतोका अनुसार केही समय अघिसम्म उनले परिवारसँग कुरा गरिरहेका थिए।

‘परिवा֥रसँग पनि कुराकानी भइरहने रहेछ। अचानक हिजो बिहान त्यस्तो घटना भयो,’ वडाध्यक्ष महतोले भने,‘अहिले परिवारमा रूवाबासी छ।’

राजेशकुमारका दुई दाजु इन्जिनियर छन्। एक जना नगरपालिकामा काम गर्छन्। अर्को निजी संस्थामा कार्यरत छन्। उनका बुवा कोशी गाउँपालिकाभित्र पर्ने खानेपानी कार्यालयमा काम गर्छन्। – सेतोपाटी बाट

उडुसको प्रकोपले फ्रान्सेली सिनेमा घरमा दर्शक घटे

पेरिसको एक सिनेमा घरमा भ्याकुम लगाउँदै हलका कर्मचारी

काठमाडौं । फ्रान्सले यतिबेला अनौठो खालको प्रकोपको सामना गरिरहेको छ । राजधानी पेरिसका बजार, रेल, सिनेमा घर, विमानस्थल र अस्पतालमा उडुसको प्रकोप फैलिएपछि सरकारलाई टाउको दुखाइ बनेको छ ।

गर्मीयाममा मानिसले पेरिसस्थित सिनेमा घरका सिटमा उडुस फैलिएको भिडियो पोस्ट गर्दै गुनासो गर्न थालेका थिए । उनीहरुले शरीरमा उडुसले टोकेका तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए । त्यसपछि रगत चुस्ने परजीवी कीराको प्रकोप मुलुकभर फैलिन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विगत केही सातामा उडुस फेला पर्ने क्रम बढेको छ । फ्रान्समा केही वर्षदेखि नै उडुस फैलिन थालेको बताइन्छ । यस्तो प्रकोप बढ्न थालेपछि मानिसले आउँदो वर्षको सुरुवातमा हुने ओलम्पिकसँग जोडेर स्वास्थ्य र सुरक्षाबारे प्रश्न गर्न थालेका छन् ।

सिनेमा घरमा पनि उडुस फेला पर्न थालेपछि यसलाई गम्भीरता साथ लिइएको अधिकारीहरुले बताएका छन् । पेरिसको युजीसी बर्सी सिनेमाले दर्शकले उडुसले टोकेको गुनासो गर्न थालेपछि माफी मागेको छ । सोमबार विज्ञप्ति जारी गर्दै सञ्चालकले उडुसले टोकेका सबै पीडितप्रति माफी मागेका हुन् ।

यसका लागि हल सञ्चालकले उडुसलाई मार्न कीटनाशक औषधि प्रयोग गर्ने, उच्च तापक्रम भएको पानी छर्किने जस्ता उपाय अपनाइरहेका छन् । प्रकोप फैलिएको फोटो भिडियो इन्टरनेटमा फैलिन थालेपछि पेरिसका फिल्म हलले दर्शक गिरावटको सामना गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

पेरिसको अर्को मल्टिप्लेक्स सिनेमा घर एमके टुले पनि उच्च तापक्रम, अन्धकार र फेब्रिकले ढाकिएका कुर्सीमा उडुस फैलिएको बताएको छ । विगत दुई-तीन दशकदेखि उडुसको प्रकोप बढ्न थालेको बताइन्छ । यो समस्या फ्रान्समा मात्र नभएर अन्यत्र पनि छ ।

विश्वव्यापीकरणका कारण हुने कन्टेनर प्रयोग हुने व्यापार, पर्यटन र आप्रवासन जस्ता गतिविधिले उडुसको प्रकोप बढेको बताइन्छ ।