प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिन बीच भेटवार्ता

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिन बीच भेटवार्ता भएकाे छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (SCO) शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग द्विपक्षीय भेटवार्ता गर्नुभएकाे हाे।

भेटमा नेपाल–रूसबीच पारस्परिक हितका विषय, क्षेत्रीय सुरक्षा, ऊर्जा र पूर्वाधारलगायत सम्भावित साझेदारीमा गहन छलफल भएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

के हो लेनिनवादी संगठनात्मक पद्धति ?

लेनिनवादी संगठनात्मक सिद्धान्त क्रान्तिकारी नेता भ्लादिमिर लेनिनले विकास गरेको एक क्रान्तिकारी ढाँचा हो, जसले समाजवादी क्रान्तिलाई संगठित र प्रभावकारी बनाउन मार्क्सवादी सिद्धान्तलाई तत्कालिन समाजको विशिष्ट परिस्थितिमा अनुकूलन गरेको छ। यो सिद्धान्तले कम्युनिस्ट पार्टीको निर्माण, सञ्चालन र क्रान्तिकारी आन्दोलनको नेतृत्वमा महत्वपूर्ण भूमिका खेल्छ। लेनिनको यो विचार विशेष गरी उनको पुस्तक What Is to Be Done? (१९०२) मा स्पष्ट रूपमा व्यक्त भएको छ, जहाँ उनले क्रान्तिकारी परिवर्तनको लागि अनुशासित र समर्पित संगठनको आवश्यकता माथि जोड दिएका छन्।

अग्रगामी पार्टी (Vanguard Party)

लेनिनवादी सिद्धान्तको केन्द्रमा अग्रगामी पार्टी (Vanguard Party) को अवधारणा छ। उनले के कुरा अघि सारे भने समाजका उपेक्षित उत्पीडित शोषित वर्ग आफैंमा स्वतःस्फूर्त रूपमा क्रान्तिकारी चेतना विकास गर्न सक्षम हुँदैनन्, आफ्नो दैनिक जीवनमा आइपर्ने सामान्य तलब वृद्धि वा कामको अवस्थामा सुधारको लागि लडे पनि पूँजीवादी व्यवस्थालाई उखेल्न र समाजवादी समाजको निर्माण गर्न आवश्यक वैचारिक र रणनीतिक नेतृत्व उनीहरूसँग हुँदैन। त्यसैले यसका लागि एक सानो, अनुशासित र मार्क्सवादी सिद्धान्तमा पारंगत पेशेवर क्रान्तिकारीहरूको समूह आवश्यक छ, जसले मजदुर वर्गलाई शिक्षित र संगठित गरोस्। यो अग्रगामी पार्टीले मजदुर वर्गको प्रतिनिधित्व गर्छ र उनीहरूलाई क्रान्तिकारी चेतनाले सुसज्जित बनाउँछ। यो पार्टीले समाजको अगुवाइ गर्दै क्रान्तिकारी परिवर्तनको नेतृत्व गर्छ, जसले मजदुर वर्गको हितमा समाजवादी व्यवस्थाको स्थापना गर्ने लक्ष्य राख्छ। त्यसैले लेनिनले वर्ग पक्षधरतामा जोड दिँदै कम्युनिष्ट पार्टी शोषित पीडित जनताका लागि हुनुपर्नेमा बताए ।

लोकतान्त्रिक केन्द्रीयता (Democratic Centralism)

लेनिनवादी सिद्धान्तको अर्को महत्वपूर्ण पक्ष हो लोकतान्त्रिक केन्द्रीयता (Democratic Centralism)। यो सिद्धान्तले पार्टीभित्र आन्तरिक लोकतान्त्रिक छलफल र निर्णय प्रक्रियालाई प्रोत्साहन गर्छ, तर एकपटक निर्णय भएपछि सबै सदस्यले त्यसलाई कडाइका साथ पालना गर्नुपर्छ भन्नेमा जोड दिन्छ। पार्टी कमिटीहरुमा कुनै एजेण्डामा पर्याप्त छलफल गर्ने, बहस गर्ने, तर निर्णयको कडा पालना गर्नुपर्ने यसको मान्यता छ। यो प्रक्रियाले पार्टीमा एकता र अनुशासन कायम राख्छ। उदाहरणका लागि, पार्टीका सदस्यहरूले नीति, रणनीति वा कार्ययोजनाबारे स्वतन्त्र रूपमा छलफल गर्न सक्छन्, आफ्ना विचार राख्न सक्छन् । यसो गर्दा कतिपय सदस्यहरुको विचार अल्पमतमा पर्छ । तर जब बहुमतले कुनै निर्णय लिन्छ, तब सबैले त्यसलाई एकजुट भएर कार्यान्वयन गर्नुपर्छ। यो सिद्धान्तले पार्टीको आन्तरिक विवादलाई कम गर्छ र क्रान्तिकारी आन्दोलनलाई प्रभावकारी बनाउँछ। यसले पार्टीको एकताबद्धता र शक्तिलाई कायम राख्छ। यदि निर्णय भइसकेपछि त्यसको पालना गर्नुको साटो पार्टी कमिटीबाहिर त्यसमा बहस गरिने अवस्थाले पार्टीमा अराजकता पैदा गर्दछ र विरोधी शक्तिहरुले फाइदा लिन्छन् ।

अनुशासन र गोपनीयता

लेनिनले कडा अनुशासन र गोपनीयताको पनि विशेष जोड दिए। रुसी जारशाही शासनको समयमा, क्रान्तिकारी गतिविधिहरू अत्यन्त जोखिमपूर्ण थिए। सरकारको गुप्तचर र दमनकारी नीतिका कारण क्रान्तिकारी संगठनहरू सधैं खतरामा हुन्थे। त्यसैले, लेनिनले पार्टीको संरचनालाई गुप्त र सुरक्षित बनाउनुपर्ने आवश्यकता माथि जोड दिए। पार्टीका सदस्यहरूले क्रान्तिकारी गतिविधिहरूलाई गोप्य राख्नुपर्थ्यो र कडा अनुशासन पालना गर्नुपर्थ्यो। यो गोपनीयताले पार्टीको अस्तित्व र प्रभावकारितालाई जोगायो, विशेष गरी रुसी क्रान्तिको तयारीका समयमा। यो सिद्धान्तले पार्टीका सदस्यहरूलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक लक्ष्यप्रति समर्पित हुन प्रेरित गर्‍यो।

क्रान्तिकारी रणनीति र रणकौशलमा लचकता

लेनिनवादी सिद्धान्तले क्रान्तिकारी रणनीति र रणकौशलमा लचकताको महत्वलाई पनि उजागर गर्छ। लेनिनले क्रान्तिको सफलताको लागि सही समय, अवस्था र रणनीतिको विश्लेषण गर्नुपर्ने कुरामा जोड दिए। उदाहरणका लागि, उनले विभिन्न परिस्थितिमा मजदुर वर्गसँग गठबन्धन गर्न, प्रचार-प्रसार गर्न र आन्दोलनलाई संगठित गर्न लचिलो रणनीति अपनाउन सुझाव दिए। उनले क्रान्तिकारी आन्दोलनलाई प्रभावकारी बनाउन विभिन्न सामाजिक समूहहरूसँग सहकार्य गर्नुपर्ने आवश्यकता माथि पनि जोड दिए। यो लचकताले पार्टीले विभिन्न सामाजिक र राजनीतिक अवस्थाहरूमा आफूलाई अनुकूलन गर्न सक्यो, जसले १९१७ को रुसी क्रान्तिको सफलतामा महत्वपूर्ण भूमिका खेल्यो।

अन्तर्राष्ट्रियतावाद

लेनिनवादी सिद्धान्तले साम्राज्यवाद र अन्तर्राष्ट्रियतावादलाई पनि समेट्छ। लेनिनले साम्राज्यवादलाई पूँजीवादको उच्च चरणको रूपमा विश्लेषण गरे, जसले विश्वभरका मजदुर वर्गलाई शोषण गर्छ। उनले विश्वव्यापी क्रान्तिकारी आन्दोलनको आवश्यकता माथि जोड दिए, जहाँ विभिन्न देशका कम्युनिस्ट पार्टीहरूले एकअर्कासँग सहकार्य गर्छन्। यो अन्तर्राष्ट्रियतावादी दृष्टिकोणले विश्वभरका मजदुर वर्गलाई एकताबद्ध गर्न र साम्राज्यवादी शक्तिहरूको विरुद्धमा लड्न प्रेरित गर्‍यो। लेनिनको यो विचारले विश्व कम्युनिस्ट आन्दोलनलाई एक नयाँ दिशा दियो र विभिन्न देशहरूमा क्रान्तिकारी आन्दोलनलाई बल पुर्‍यायो।

निष्कर्ष

लेनिनवादी संगठनात्मक सिद्धान्तले क्रान्तिकारी आन्दोलनलाई अनुशासित, एकीकृत र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्छ। यो सिद्धान्तले मजदुर वर्गको नेतृत्वमा समाजवादी क्रान्तिको सपनालाई साकार पार्न संगठन, अनुशासन र रणनीतिको महत्वलाई उजागर गर्छ। नेपालजस्ता देशहरूमा, जहाँ सामाजिक असमानता र शोषण अझै पनि प्रचलित छ, यो सिद्धान्तले सामाजिक परिवर्तनको लागि प्रेरणा प्रदान गर्छ। यद्यपि, यो सिद्धान्तको कार्यान्वयनमा स्थानीय परिस्थितिको विश्लेषण र अनुकूलन आवश्यक हुन्छ, ताकि क्रान्तिकारी लक्ष्यहरू प्रभावकारी रूपमा प्राप्त गर्न सकियोस्। अन्ततः, लेनिनवादी सिद्धान्तले हामीलाई सिकाउँछ कि सत्य र न्यायको लागि लड्न संगठित र अनुशासित प्रयास अपरिहार्य छ।

एक अर्कालाई सहयोग, साथ र प्रेम बाँडेर बाँचौं।

सबैको प्यारो बन्न स्वास्थ्य पनि राम्रो चाहिने रहेछ । मेरो पनि जिवन व्यवहारको अनुभव छ भावुक भएँ। हजुरलाई के लाग्छ पढेर बुझिदिन अनुरोध छ ।

भक्तपुर क्यान्सर अस्पतालबाट फर्कने क्रममा कोटेश्वरतर्फ जाने सार्वजनिक गाडीमा चढेँ। दायाँपट्टि अगाडिको सिट खाली रहेछ, त्यहीँ गएर बसेँ र मोबाइल निकालेर त्यसैमा अल्मलिन थालेँ।

बायाँपट्टिको अगाडिको सिटमा करिब ५५–६० वर्षजति उमेरकी एक महिला (दिदी) आफ्नै तालमा बोलिरहेकी थिइन्।

भनिरहेकी थिइन्—“अब कति नै बाँच्छ र! धन–सम्पत्ति, पैसाको के माया? नाति–नातिना पनि हेरियो, यो ज्यानको के भर? तीँ पर पुगेर पनि जान सक्छ…” यस्तै–यस्तै।

मलाई लाग्यो उनी आफ्ना साथीसँग कुरा गर्दैछिन्। कानले सुन्दै थिएँ, तर आँखा मोबाइलमै गाडिरहेको थिएँ।

त्यति नै बेला क्याबिन सिटमा बसेकी, टिसर्ट र प्यान्ट लगाएकी करिब २५–२६ वर्षकी युवतीले मुख खोलिन्-

“हजुर, अघिदेखि के भनिरहनुभएको छ? म सुन्दै थिएँ, भोक लागेकोले यता चिप्स खाँदै थिएँ। तर, के भइसकेको हो?”

उनले आफ्नो खानै रोकेर वा सकेर ती दिदीसँग कुराकानी गर्न थालिन्।

“अघिदेखि ‘कति नै बाँच्छ र’ भनेर भन्दै हुनुहुन्छ, किन यति निराश? के भयो?”

दिदीको जवाफ आयो  – “थर्ड स्टेज क्यान्सर।”

– अनि केमोथेरापी लगाउनुभाको?

– लगाउँदै छु।

– कपाल त झरेको छैन त!

– आन्द्राको क्यान्सर हो, झर्दैन रे कपाल।

– एक्लै आउनुभको?

– आउनैपर्छ। सधैँजसो को आउन चाहन्छ र? डाक्टरले पनि सोध्यो – ‘एक्लै हो?’ भनेँ – ‘सधैं को ल्याउनु?’ आउनैपर्छ।

त्यो संवाद चलिरहँदा म भने अब चुप लागेर बस्न सकिनँ।

ती बहिनीले दिएका कुरालाई समर्थन गर्दै बोलेँ –

“सही हो, हजुर त अत्यन्त तन्दुरुस्त देखिनुहुन्छ। आफैँ एक्लै अस्पताल आउन सक्नुहुन्छ भने त्यो आफैँमा ठूलो हिम्मत हो।

हौसला राख्नुपर्छ। क्यान्सरका बिरामीहरू केमोथेरापीपछि धेरै वर्ष बाँचेका उदाहरण मैले धेरै देखेको छु।

हजुरलाई केही हुँदैन भन्ने आत्मबल मनमा राख्नुपर्छ। ‘कतिनै बाँच्छ र’ भनेर भन्नुहुँदैन।

वरपरका छरछिमेकीहरूले समेत त्यो कुरा सुनेर पर–पर हुन सक्छन्। बरु ‘मलाई केही हुँदैन, उपचार भइरहेछ’ भन्ने आत्मविश्वास देखिनुपर्छ।”

मैले मनिषा कोइरालालगायतका उदाहरण दिँदै केही कुरा थपें।
दिदीले भावुक हुँदै थपिन् –

“हो नि, अहिले मेरै छिमेकीहरू परपर भइसकेका छन्।

‘यो क्यान्सर लागेकी कति बाँच्छे र’ भनेर भन्छन्।

परैबाट सुन्छु, नरमाइलो लाग्छ। तर, आजजस्तो यसरी हौसला दिने मान्छे भए त जीवन अर्कै रै’छ।”

दिदीका कुराले मनभित्र कताकता गहिरो चोट दिए झैँ लाग्यो। सुरुमा म सोचिरहेको थिएँ –

उनी आफ्ना साथीसँग कुरा गर्दैछिन् होला तर उनी त एक्लै रहेछिन्। पछाडिको सिटमा बस्नेलाई एकोहोरो आफ्नै पीडा सुनाइरहेकी रहिछन्।

गाडीमा उभिने मान्छे नभएकोले हामी तीनैजना एक–अर्कालाई प्रष्ट देख्न सक्थ्यौँ।

कुराकानी चलिरहेको थियो। मनोहरा आइपुग्नुअघि फेरि हामी आ–आफ्नै धुनमा फर्कियौँ।

पेप्सीकोला आइपुग्दा म ओर्लिएँ। मनमा भने लागिरहेको थियो-दिदीसँग अझै केही भन्न बाँकी थियो, तर छुट्यो।

यहाँ यो प्रसङ्गसँगै भन्न मन लागेको कुरा:

हामी बिरामी भेट्दा निराशा होइन, हौसला बाँड्ने गरौं।

अस्पतालमा बिरामी भेट्न जाँदा पनि ‘मलाई चिन्यौ?’ भनेर सोध्नु उचित नहुन सक्छ।

किनभने विरामी त आफैँ छिट्टै निको हुने आशा र विश्वासमा हुन्छ। सञ्चाे मान्छेले ‘मलाई चिन्यौ?’ भनेर सोध्दा उसले ‘अब त यो मान्छेले पनि माया मारेको रहेछ’ जस्तो महसुस गर्न सक्छ।

हामी त्यही समाजमा हुर्किएका हौं जहाँ बिरामी भेट्न जाँदा त्यसको रोगलाई अर्कै कोही मृतक व्यक्तिसँग तुलना गरिन्छ।

“फलानालाई पनि यस्तै रोगले लगेको थियो” भनेर।

यसले अस्पतालको बेडमा लडिरहेको विरामी र उसका आफन्तको मनोबलमा कति गहिरो असर पार्न सक्छ, त्यो अब हामीले सोच्नैपर्छ।

समाजमा यस्तो संवेदनशीलता र चेतनाको खाँचो छ।

दुनियाँमा मानवता भन्दा ठूलो केही हुँदैन।

सकेसम्म एकअर्कालाई सहयोग, साथ र प्रेम बाँडेर बाँचौं।