चीनको राजदूतमा श्रेष्ठ नियुक्त

जनवादी गणतन्त्र चीनको आवासीय राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरेकी राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा श्रेष्ठलाई चीनको राजदूत नियुक्त गरिएको हो।

अफगानिस्तानमा भूकम्प, २५० जनाको मृत्यु

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पबाट २५० जनाको मृत्यु भएको छ । कम्तिमा १५० जना घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा करिब ४४ किलोमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो ।

एक जना स्थानीय अधिकारीले बीबीसीसँग २५० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

सरकारका प्रवक्ता बिलाल करीमीले पक्तिका प्रान्तका चार जिल्लामा ठूलो भूकम्प गएको र यसबाट सयौंको ज्यान गएको जानकारी दिएका छन् ।

 

 

आज विश्व योग दिवस बिवि‍ध कार्यक्रम गरि मना‌ईयाे

आज विश्व योग दिवस । संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् २०१४ मा अनुमोदन गरेपछि २१ जुनलाई विश्व योग दिवसको रूपमा मनाउन थालिएको हो ।

भारतीय प्रधानमन्त्रीले नरेन्द्र मोदीले विश्व योग दिवसको प्रस्ताव गरेका थिए र मिति पनि जुनको २१ गते प्रस्ताव गरेका थिए । जुन २१ लाई प्रस्ताव गर्नु पछाडी पनि कारण छ ।

पृथ्वीको उत्तरी गोलार्धमा आज वर्षकै सबैभन्दा लामो दिन हो । आज थुप्रै देशहरूमा मिड-समर-सेलेब्रेसन लगायतका उत्सवहरू मनाइन्छ । हर्षोल्लासका साथ मनाइने २१ जुनलाई योगसँग जोड्नु बुद्धिमता थियो ।

योग विश्वका सबै मानिसहरूको लागि हो तर यसको पृष्ठभुमि केलाउने हो भने नेपाल र भारतको साझा स्वामित्वमा रहेको सांस्कृतिक सम्पदा हो । नेपालका नेतृत्वले नेपालका सांस्कृतिक सम्पदाको महत्व बुझेको भए सायद नेपाल र भारत दुवै राष्ट्रहरूले विश्व योग दिवसको लागि संयुक्त प्रस्ताव गर्थे होला ।

जबकि वि.सं. २०३६ देखि नेपालमा हरिप्रसाद पोखरेलको सक्रियतामा विश्व योग दिवस मनाउन थालिएको थियो भनिन्छ । यसैबाट पाठ पढेर संयुक्त राष्ट्रसंघमा विश्व योग दिवसको लागि पहल गर्न सकिने सम्भावना पनि थियो। तर साधारणसभामा प्रस्ताव गर्दा समर्थन गर्ने र पछि बधाई दिने कार्यमै सिमित रहे ।

सन् २०१६ मा मा योगलाई भारतको तर्फबाट यु .एन .ई .एस्. सि. ओ मा सूचीकृत गरियो । फलस्वरूप नेपाल र भारतको साझा स्वामित्वको सम्पदा भारतको एकलौटी जस्तो बन्न पुगेको छ । यो घटनाबाट पाठ पढेर नेपालका सांस्कृतिक सम्पदाहरूलाई यु .एन. ई. एस्. सि. ओ. मा सूचीकृत गर्दै नेपालको सफ्ट पावरमा वृद्धि गर्न तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री भानुभक्त ढकाल र वर्तमान मन्त्री प्रेम आलेलाई मौलिक जरोकिलो पार्टीको तर्फबाट ज्ञापनपत्र पनि बुझाएका थियौँ ।

तर अहिलेसम्म यस विषयमा केही कार्य गरियो जस्तो लागेको छैन । सत्तावृत्तमा रहेका नेताहरूमा नेपालको सांस्कृतिक सम्पदाको महत्व बुझेर राष्ट्रिय हितमा प्रयोग गर्ने दृष्टिकोण पलाओस् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति हुने भएकाले यसको बिशेष महत्व रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो ।

रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि योग महत्वपूर्ण रहेको निरोगीताका लागि योग भन्ने सन्देश सवैमा जानुपर्ने उहाले बताउनुभयो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र पुनःस्थापनाका लागि योगको महत्वपूर्ण भूमिका रहने उहाको भनाई छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१४ को डिसेम्बर ११ मा हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा मनाउने घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाइने गरिन्छ । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।