नहरमा पानी आएपछि बाजागाजासहित मनाएको खुशीयाली २४ घण्टा नबित्दै विपत्तिमा परिणत

वर्षाैंदेखि पानीको हाहाकार भोगिरहेको गाउँमा नहरबाट पानी आएपछि को खुशी नहोला ? भारतको गुजरातस्थित कच्छको मांडवीमा नहरबाट पानी आउँदा स्थानीयले बाजागाजासहित खुशीयाली मनाए ।

नर्मदा जिल्लामा ४०० किलोमिटर लामो नहरबाट गाउँमा पानी पुगेको थियो । स्थानीयमा खुशीको कुनै सीमा नै थिएन । तर त्यो खुशीयाली एकाएक विपत्तिमा परिणत भयो ।

वर्षाैंदेखिको सपनाका रूपमा रहेको नहर भत्किएपछि पानी बस्तीमा पस्यो । स्थानीयका घरखेत डुबानमा परे । स्थानीयले नसोचेको भयो । पानी आएको २४ घण्टा नबित्दै नहर भत्किएपछि स्थानीयले नहर निर्माणमा भ्रष्टाचार भएको आशंका गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नर्मदा नहरको पानी कच्छ पुर्‍याउने सपना तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीले देखेका थिए । नहरबाट पानी पुगेपछि मुख्यमन्त्री भूपेन्द्र पटेलले ट्वीट गर्दै खुशी व्यक्त गरेका थिए । उनले लेखे, ‘यो केवल पानी मात्रै होइन, कैयौं परिवारको खुशी र समृद्ध जीवनको सौगात हो ।’ अहिले नहर भत्किएर विपत्ति आएपछि स्थानीय आक्रोशित बनेका छन् ।

 

४ हात र ४ खुट्टा भएको बच्चा जन्मियो, भगवानको अवतार मान्न थालिएपछि …

सामान्यतया बच्चा जन्मिँदा २ हात र २ खुट्टा हुन्छन् तर कतिपय बच्चा अस्वाभाविक जन्मिन्छन् ।

भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा भएको घटनामा ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको छ । यस्तो बच्चा जन्मिएपछि कतिपयले भगवान्को अवतार मानिरहेका छन् ।

डाक्टरले भने जुम्ल्याहा बच्चा हुन खोज्दा विकसित नभई ४ हात र ४ खुट्टा भएको जनाएका छन् ।

बच्चा जन्मिएपछि उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । जन्मिँदा बच्चाको तौल करीब ३ किलोग्राम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि बिहारको कटिहारस्थित सदर अस्पतालमा समेत ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको थियो ।

 

जहदामा जन्तीमाथि आक्रमण हुँदा २ जना घाइते

जन्ती आएकाहरूमाथि आक्रमण हुँदा २ जना घाइते भएका छन् ।

मोरङको सुनवर्षी–९ डाइनियाबाट बेहुली लिन जहदा–२ मझारे टोलमा आएका जन्तीमाथि बीचबाटैमा गाडी रोकेर सोमवार राति आक्रमण भएको थियो ।

स्थानीय ६–७ जना युवाको समूहले बाटो छेकेर राति १ बजेतिर आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

को१८प ७५४१ नम्बरको एउटा मोटरसाइकलमा आगजनी समेत गरिएको समेत उनले बताए । आगजनीबाट मोटरसाइकलमा पूर्णरूपमा क्षति पुगेको छ ।

घटनामा परेर जन्ती आएका अन्दाजी २३ वर्षीय मिथलेश झा र रोहित सिंह सामान्य घाइते भएका छन् । घाइतेको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । बेहुला लगायत अरु जन्ती सकुशल छन् ।

घटनामा संलग्न भएको आशंकामा जहदा–२ का विकास मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

अन्य युवाहरू फरार रहेकाले खोजी जारी राखेर घटनाको अनुसन्धान थालिएको श्रेष्ठले बताए ।