गढवामा प्रयोगमा आधारित खगोल साक्षरता कक्षा संचालन

गढवा,३० भदौं । क्रियटिङ पोसिबिलिटिज नेपालको आयोजनामा र टेस्ला साइन्स सेन्टरको समन्वयमा गढवा गाउँपालिकाभित्रका कक्षा ९ र १० मा अध्ययनरत बिद्यार्थीहरुलाई लक्षित गर्दै प्रयोगमा आधारित खगोल साक्षरता कक्षा अभियान संचालन गरिएको छ ।

कक्षा संचालन नासाको स्पेस एप्स च्यालेन्जका नेभिगेटर तथा इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनका सिटिजन साइन्टिस्ट अरुण लोहारले गरिरहेका छन् ।उनले सन् २०२१ मा नासाको स्पेस एप्स च्यालेन्जमा सहभागी भई विश्वभरका वैज्ञानिक, प्रोग्रामर र इनोभेटरहरुसँगै ग्लोबल सिटिजन साइन्स प्रोजेक्टमा विभिन्न समस्या समाधानमा योगदान पुर्याउदै आएका छन् ।

खगोल विज्ञानबारे जनचेतना फैलाउन लोहारले लेक्चर सेसन र नाइट अब्जर्भेसन गरी दुई तरिका अपनाउँदै आएका छन् । लेक्चर सेसनमा विद्यालयमै ४० मिनेटको कक्षा लिई ब्रह्माण्डको उत्पत्ति, ताराको जन्म र मृत्यु, उल्कापिन्ड, रकेट साइन्स तथा स्याटेलाइट प्रविधिबारे सरल तरिकामा प्रस्तुत गरिन्छ । “हामी बच्चाको उमेर र बुझ्ने क्षमताअनुसार कक्षा बनाउँछौं । सानालाई सरल, ठूलालाई गहन तरिकाले बुझाउँछौं,” उनले बताए । नाइट अब्जर्भेसनमा भने टेलिस्कोप मार्फत विद्यार्थीहरुलाई चन्द्रमा, ग्रह र ताराहरू प्रत्यक्ष अवलोकन गराइने गरिएको छ ।

“विद्यार्थीहरुले विज्ञानलाई बुझ्ने दृष्टिकोण फरक बनोस्, ब्रह्माण्ड, तारा, टेलिस्कोप लगायतका विषयलाई पुस्तकमा मात्र होइन, प्रत्यक्ष अभ्यास मार्फत बुझ्न सकून् भन्ने उद्देश्यले टेस्ला साइन्स सेन्टर र विभिन्न विद्यालयहरुसँग मिलेर यो अभियान सञ्चालन गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका कार्यक्रम अधिकृत हेमराज शर्माले जानकारी दिए । उनका अनुसार अहिलेसम्म करिब १४०० विद्यार्थी यस अभियानबाट लाभान्वित भएका छन् ।

गढवामा सुरक्षित आवास मार्फत गढवा ४  की प्रमिला चौधरीको घर सिलान्यास

गढवा, २२ भदौ। गढवा गाउँपालिका, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङ र निवास संस्था बीच साझेदारीमा अति विपन्न, असहाय र एकल महिलाहरूलाई लक्षित गरी आवास निर्माण गर्ने सम्झौता अनुसार आईतबार गढवा गाउँपालिका वडा नम्बर ४ की प्रमिला चौधरीको घरको सिलान्यास भएको छ।

गढवा गाउँपालिकामा यस कार्यक्रम अन्तर्गत ४ वटा घर निर्माण हुने २०८२ भदौ ५ गते गढवा गाउँपालिकामा त्रिपक्षिय  सम्झौता भएको थियो। यस अन्तर्गत गढवा गाउँपालिकाभित्र विभिन्न वडामा घर निर्माण गरिनेछ।

सम्झौताअनुसार गढवा गाउँपालिकामा सन २०२६ डिसेम्बर भित्र चारवटा घर निर्माण सम्पन्न गरिनेछ। ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको परियोजना अन्तर्गत ४ लाख २५ हजार रुपैयाँ, गढवा गाउँपालिकाको कार्यालयबाट २ लाख बराबरको सामग्री सहयोग, र घरमुलीको जनश्रमदान गरी ६ लाख ७८ हजार बराबरको लागतमा “एल आकारको घर” निर्माण गरिने केन्द्रकी अध्यक्ष आसमानी चौधरीले जानकारी दिनुभयो। त्यसैगरी, परियोजनामार्फत गढवा गाउँपालिकाभित्रका १ सय ३० परिवारलाई लालपुर्जा प्राप्तिका लागि आवश्यक प्रक्रियाबारे साक्षरता अभिमुखी कार्यक्रम सञ्चालन गरिने सम्झौतामा उल्लेख छ।
घर निर्माण हुन लागेकी प्रमिला चौधरी एकल महिला हुनुहुन्छ। छोरीको पढाइ खर्च जुटाउन उहाँ मजदुरी गर्दै आउनुभएको छ। मजदुरीबाहेक अन्य आयस्रोत नभएकोले यो घर निर्माणले आफ्नो जीवनमा ठूलो राहत हुने उहाँले बताउनुभयो।

यस्तै, गढवा गाउँपालिका वडा नं. ५ कक्रहवाकी जि.वि. बिकको पनि आवास निर्माण कार्य सुरु भैसकेको छ। माइतीले दिएको एलानी जमिनमा झुप्रो घरमा बस्दै आउनुभएकी बिकले अहिलेसम्म लालपुर्जा प्राप्त गर्न नसकेको बताउनुभयो। वर्षातको समयमा पानी चुहिएर रातभर सुत्न नसक्ने र सर्प लगायतको डर हुने गरेको उहाँले दुःखेसो पोख्नुभयो।

सिलान्यास कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले “गाउँपालिकामा विपन्न, असहाय र एकल महिलाहरूका लागि सुरक्षित आवास निर्माण गर्नु हाम्रो पहिलो प्राथमिकता भएको बताउनुभयो। घर भनेको केवल बस्ने ठाउँ मात्र होइन, यो सम्मान, सुरक्षाको अनुभूति र उज्यालो भविष्यको आधार हो। सुरक्षित आवासले आमाबाबुको सपना पूरा गर्न सन्तानलाई सहज वातावरण दिन्छ, महिलालाई आत्मनिर्भर र आत्मविश्वासी बनाउँछ, र समाजलाई समावेशी र न्यायपूर्ण बनाउन मद्दत पुर्‍याउँछ। गढवा गाउँपालिका कुनै पनि नागरिक आश्रयविहीन नहोस् भन्ने लक्ष्यसहित अगाडि बढिरहेको छ पालिका अध्यक्ष पोख्रेलले भन्नु भयो। यो अभियानले विपन्न वर्गलाई मात्र होइन, सम्पूर्ण गाउँपालिकामा समावेशी विकास र सामाजिक न्यायको आधार बलियो बनाउनेछ।” साथै हामी जनश्रमदान गरेर घर निर्माणमा टेवा पुर्याउने र श्रमदानमा जनता पनि होम्मिनु पर्छ भन्ने सन्देश दिन जनश्रमदान समेत गरेको बताउनु भयो।

सिलान्यास कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी अध्यक्ष आसमानी चौधरी, गाउँपालिका गाउँपालिका वडा नम्बर  ४ का वडाध्यक्ष हरि भगत चौधरी (सानु), कार्यक्रम संयोजक पार्वती बस्नेत, मेटलाईफका क्षत्रिय प्रबन्धक शशिधर पराजुली, निवास संस्थाकी सुस्मा श्रेष्ठ,मेटलाईफका बिष्णु थापा, ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङकी कमला चौधरी, स्थानीयहरुको उपस्थितिमा घरको सिलान्यास गरिएको छ।

गढवामा गोबरडिहा आयुर्वेद औषधालयबाट शिरोधारा सेवा र चूर्ण औषधि उत्पादन सुरु

गढवा, २० भदौं। दाङ देउखुरीको गढवा गाउँपालिका–३ मा अवस्थित गोबरडिहा आयुर्वेद औषधालयमा शिरोधारा कर्म सेवा सुरुवातसँगै चूर्ण औषधि उत्पादनको लागि आवश्यक मेसिन जडान गरी औपचारिक शुभारम्भ गरिएको छ।

शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारु र गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले संयुक्त रूपमा मेसिनको उद्घाटन गर्नुभयो। उद्घाटनपछि अब औषधालयमा जडीबुटी प्रशोधनमार्फत चूर्ण औषधि उत्पादन कार्य थालिने भएको छ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुले शिरोधारालाई आयुर्वेदिक चिकित्सामा प्रयोग हुने एक महत्वपूर्ण पञ्चकर्म भन्दै यसले शरीर र मनलाई शान्त बनाउन, स्नायु प्रणालीलाई सन्तुलनमा ल्याउन र मानसिक तनाव कम गर्न सहयोग गर्ने बताए। उनले गढवाबासीले यसको प्रत्यक्ष लाभ लिनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले शिरोधारा सेवा सुरु हुनु गढवाका लागि आयुर्वेदिक उपचार सेवामा नयाँ आयाम थपिएको बताउनुभयो। उहांले शिरोधाराले तनाव, अनिद्रा, चिन्ता, डिप्रेसन कम गर्न, टाउको दुखाइ र माइग्रेनमा उपयोगी हुनका साथै स्नायु प्रणालीलाई शान्त र सन्तुलित बनाउन मद्दत गर्ने उल्लेख गर्दै यो सेवाबाट स्थानीयवासी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो।

गोबरडिहा आयुर्वेद औषधालयका प्रमुख डा. शंकरनाथ योगीले शिरोधारा टाउकोको अगाडिको भागमा निरन्तर रूपमा औषधीय तेल वा द्रव्यको धार खसालेर स्नायु प्रणालीलाई शान्त पार्ने उपचार पद्धति भएको स्पष्ट पार्दै यसलाई आयुर्वेदको प्रभावकारी रिल्याक्सेसन थेरापीको रूपमा प्रस्तुत गर्नुभयो। उहांले यसले तनाव, अनिद्रा, माइग्रेन, रक्तचाप र चिन्ताजस्ता समस्यामा राहत दिलाउने जानकारी समेत दिनुभयो।

उक्त शुभारम्भसँगै गढवा क्षेत्रमा आयुर्वेदिक सेवाको पहुँच अझ विस्तार भएको छ।