गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता सुरु

ग‌ढवा, २४ फागुन । गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन गरिएको छ ।

गढवा गाउँपालिकाको अध्यक्ष यम नारायण पोख्रेलको सभाध्यक्षता र लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुको प्रमुख आतिथ्यमा तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको बिशिस्ट आतिथ्यमा विविध खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ।

तेस्रो गढवा गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता तथा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री इन्द्रजित थारुले संविधानले समानताको सबै अधिकार सुनिश्चित गरेको भएतापनि कार्यान्वयनमा अझै पनि ढिलाई भएको बताउनुभयो। मतदान, आर्थिक समान्त, राजनीतिक लगायतका थुप्रै क्षेत्रमा हक अधिकारको सुनिश्चित गरेको तर कार्यान्वयनको अवस्था अझै पनि कमजोर भएको बताउनुभयो। अधिकार सम्पन्न महिलाहरुले कम्जोर नभई आफ्ना अधिकार कार्यान्वयन तर्फ अग्रसर हुनु पर्ने बताउनुभयो।

त्यसैगरी ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा तथा गढवा गाउँपालिका स्थापना दिवसको अवसरमा आयोजित तेस्रो खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आजको दिन महिलाहरुले संघर्ष गरेर प्राप्त गरेको स्मरणका रुपमा दिवश मनाउन थालेको बताउनुभयो। दिवश मनाउनुको प्रमुख कारण महिलाहरुको हक अधिकार प्राप्त भएका अधिकार लाई कार्यान्वयन र थप अधिकार प्राप्तका लागि आजको दिन महत्वपूर्ण दिन भएको बताउनुभयो। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा गाउँपालिका संगै विभिन्न संघ संस्थाहरुले एक ठाउँमा मात्र नभई ठाउँ ठाउँमा गाउ बस्तीमा दिवश मनाउनु सकरात्मक भएको बताउनुभयो। आजको समाजले महिला नेतृत्व स्वीकार गर्न नसकेको अवस्थामा गढवा गाउँपालिकाले महिला शसक्तिकरणको क्षेत्रमा कैयन कार्यक्रमहरु अघि बढाएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले आज पनि महिलाहरु पुरुष सरहको हक अधिकार पाउन नसकेको बताउनुभयो। पुरुष सत्तात्मक समाजमा आफ्नो हक अधिकारका लागि महिलाहरु अघि बढ्नु पर्ने बताउनुभयो। समाजमा महिलाहरुको ठुलो भुमिका रहेको समेत उपाध्यक्ष चौधरीले बताउनुभयो।

पालिका स्थापना दिवसको अवसरमा गाउँपालिकाले देउखुरीको चारवटै पालिकालाई समेटेर आयोजना गरेको अन्तरपालिकास्तरीय खेलकुदबाट देउखुरीको एकता, मित्रता र समग्र देउखुरीको विकासको लागि आपसी समन्वय कायम हुने

कार्यक्रम सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजक तथा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापाले जानकारी दिनुभयो।

यसैबीच गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा देउखुरीको गढवामा आयोजित गढवा गाउँपालिका राप्ती गाउँपालिकाबीच भएको जनप्रतिनिधि तथा कर्मचारी विचको मैत्रीपुर्ण फुटबल खेलमा गढवा गाउँपालिकाले ०-३ गोल गर्दै जित निकालेको छ ।

त्यसैगरी पुरुषतर्फको फुटबल खेलमा गढवा गाउँपालिका र राप्ती गाउँपालिका बिचको मैत्रीपुर्ण फुटबल खेलमा राजपुर गाउँपालिका र गढवा गाउँपालिका बिचको फुटबल खेलमा १-३ ले गढवा जित हासिल गरेको छ भने राप्ती गाउँपालिका र लमही नगरपालिका विचको फुटबल खेलमा पेनाल्टी सुट आउटमा ०-३ गोल लमही नगरपालिका जित हात पारेको छ।

त्यसैगरी क्रिकेट खेलतर्फ गढवा गाउँपालिका वडा नम्बर १ र ७ बिचको खेलमा ७ नम्बर वडाले १९ रनले खेल जितेको छ भने वडा नम्बर ३ र वडा नम्बर ५ विचको खेलमा वडा नम्बर ३ ८ रनले म्याच जितेको छ।

त्यसैगरी १०० मिटर उद्यमी महिलाहरु बिचको दौड प्रतियोगितामा सृजना चौधरी प्रथम, सरिना खातुन द्वितीय, हिरामोती चौधरी तृतीय र प्रशंसा पाण्डे सान्त्वना स्थान प्राप्त गर्नु भएको छ।

त्यसैगरी महिलातर्फको कुर्सी दौड प्रतियोगितामा राप्ती गाउँपालिका वडा नम्बर ३ की मुना घर्ति चौधरी प्रथम, गढवा-७ की हिरामोती चौधरी द्वितीय, गढवा – ४ माया चौधरी तृतीय र गढवा – ६ की शान्ता आचार्य सान्त्वना स्थान हासिल गर्नु भएको छ।

स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शिक्षा स्वास्थ्य कृषि र रोजगार समृद्ध गढवा गाउँपालिकाको आधार भन्ने गढवा गाउँपालिकाको मुख्य नाराका साथमा गढवा गाउँपालिकाको तेस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ।

कार्यक्रममा नेकपा एमालेका खिमबहादुर बुढा, नेकपा माओवादी केन्द्र गढवा गाउँपालिका कमिटिका अध्यक्ष तिलक घिमिरे, राप्रपाका बाबुराम सिंह ठकुरी, राष्ट्रिय जनमोर्चा गढवाका टुकमान कुंवर, गढवा उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मदा न्यौपाने ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र गढवाकी प्रमुख ब्रह्मकुमारी यशोदा भट्टराई गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष शोभा रावत क्षेत्री लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

गढवा गाउँपालिका गाउँ कार्यपालिका सदस्य चन्द्रा केसीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।

अबको साहित्य !

साहित्य केवल मनोरञ्जन वा व्यक्तिगत अभिव्यक्तिको माध्यम मात्र होइन, यो समाज रूपान्तरणको बलियो साधन पनि हो । इतिहासलाई हेर्दा समाजको चेतना, मूल्य, र संरचनालाई प्रभावित पार्ने महत्वपूर्ण माध्यमको रूपमा साहित्य विकसित हुँदै आएको छ । समाज परिवर्तनका विभिन्न पक्षमा साहित्यले खेल्ने भूमिकालाई यहाँ विश्लेषण गर्न खोजेको छु ।

साहित्य समाजको ऐना हो । यसले विद्यमान समस्या, अन्याय, र विभेदलाई उजागर गरी चेतना बढाउने काम गर्छ । उदाहरणका लागि युगकवि सिद्धिचरण श्रेष्ठ र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकारहरूले नेपाली समाजमा राष्ट्रियता, स्वतन्त्रता, र चेतनाको भावना भरिपूर्ण कृतिहरू लेखेका छन् । मदनमणि दीक्षितको ‘माधवी’ उपन्यासले लैङ्गिक समानताको विषय उठायो ।

जातीय विभेद, लैङ्गिक असमानता, राजनीतिक अन्याय जस्ता विषय उठाउँनुपर्छ । सामाजिक सञ्जालमार्फत साहित्यिक आन्दोलनहरू चलिरहेका छन् ।

इतिहासमा हेर्दा विभिन्न क्रान्ति र आन्दोलनलाई साहित्यले ठूलो ऊर्जा दिएको पाइन्छ । फ्रान्सेली क्रान्ति (१७८९) लाई प्रेरित गर्ने रूसो, भोल्टेयर, र मोंतेस्कियुको लेखन थियो । नेपालमा राणाशासनविरुद्ध चेतना जगाउने काजी बकुलाहरि भट्ट, सिद्धिचरण श्रेष्ठ, र गङ्गालाल श्रेष्ठका कविताहरूले गरेका थिए । समाज रुपान्तरणको कुरा गरिरहँदा साहित्यीक क्षेत्रले २०४७, २०६२÷०६३ को जनआन्दोलनलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । दाङका साहित्यकारहरुले राप्ती साहित्य परिषद् र जिल्लास्थित क्रियाशिल साहित्यीक संघसंस्थाहरुको अगुवाइमा सडकमै उत्रिएर परिवर्तनको पक्षमा विगतका आन्दोलनहरुमा विशेष योगदान पुराएका थिए । त्यसपछि पनि संविधानसभाबाट संविधान निर्माणदेखि राज्यको पूर्णसंरचनालाई प्रभावकारी बनाउनकालागि अहिले पनि साहित्यीक क्षेत्रमा समर्पित व्यक्तिहरुले आफ्नो सिर्जनाको माध्यमबाट भूमिका खेलि रहेका छन् ।

साहित्यको कुरा गरिरहँदा नारीवादी साहित्य, पर्यावरणीय साहित्य, श्रमिक अधिकारसम्बन्धी कथा–उपन्यासहरूले नयाँ आन्दोलनलाई बल दिइरहेका छन् । साहित्यले समाजको सांस्कृतिक पुनःसंरचना गर्न सहयाग गरिरहेको छ ।

पुरातन र अन्धविश्वासयुक्त सोचलाई तोड्न साहित्यले महत्वपूर्ण भूमिका खेल्छ । समावेशिता, सहिष्णुता, र समानताको सन्देश फैलाउन साहित्य उपयोगी हुन्छ ।

परशु प्रधानको कथा ‘बोक्सी’ ले महिलामाथि हुने हिंसाको यथार्थ प्रस्तुत गरेको छ । विनोद चौधरीको ‘नयाँ नेपाल’ कविता नयाँ नेपालको परिकल्पना प्रस्तुत गरेको छ । प्रवासी नेपालीको जीवन, जलवायु परिवर्तन, प्रविधि र समाजको सम्बन्ध जस्ता विषयमा लेखिएका कृतिहरूले सामाजिक दृष्टिकोणलाई फराकिलो बनाइरहेका छन् ।

साहित्यले मात्र समाजलाई भावनात्मक रूपमा परिवर्तन गर्दैन, यसले आर्थिक र राजनीतिक चेतना पनि फैलाउँछ । माक्र्सवादी साहित्य श्रमिक वर्गको अधिकारको वकालत गरेको छ । नेपालमा जनयुद्धकालीन साहित्यले विद्रोह, शोषण, र वर्गसंघर्षका पक्ष उजागर गरेको थियो । साहित्यले श्रम, रोजगारी, प्रवासी नेपालीहरूको पीडा, भ्रष्टाचार, राजनीतिक बेथिति आदिलाई उजागर गर्ने काम पनि गरिरहेको छ ।

समाज यतिबेला २१ आंै शताव्दीमा उभिएको छ । तसर्थ अहिलेको नयाँ, आधुनिक समाजलाई अब साहित्यीक क्षेत्रबा योगदान दिने हो भने अबको समाजलाई साहित्यले निम्न तरिकाले अगाडि बढाउन सक्छ ।

–डिजिटल प्लेटफर्मबाट सामाजिक मुद्दाहरू उठाउने ।

–शिक्षा प्रणालीमा सामाजिक रूपान्तरणको साहित्यलाई समावेश गर्ने ।

–समावेशी र प्रगतिशील साहित्य लेखनलाई प्रवद्र्धन गर्ने ।

साहित्य समाज परिवर्तनको संवाहक हो । यसले विचार, चेतना, र व्यवहारमा रूपान्तरण ल्याउँछ । साहित्यले सही दिशा दिन नसके समाज अन्धकारमै रहन्छ, तर जब साहित्यले परिवर्तनको पक्षमा आवाज उठाउँछ, तब त्यो समाज नयाँ युगमा प्रवेश गर्छ ।

समृद्धिका लागि साहित्य ः

साहित्य समाजको ऐना मात्र होइन, यो समाजको समृद्धि, उन्नति र भविष्य निर्माणको महत्वपूर्ण साधन पनि हो। आर्थिक, सामाजिक, सांस्कृतिक, र मानसिक समृद्धिका लागि साहित्यले विशेष योगदान पु¥याइ रहेको छ । पछिल्लो समय मुलुकको समृद्धिको कुरा जोडतोडले उठि रहेको छ । यस सवालमा साहित्यलाई समृद्धिसँग जोडेर केही कुरा उल्लेख गरेको छु ।

साहित्यले मानिसको सोचलाई परिष्कृत गर्दै सिर्जनशीलता, आलोचनात्मक चिन्तन, र नवीन दृष्टिकोण विकास गर्न मदत गर्छ । दर्शन, मनोविज्ञान, र प्रेरणादायी साहित्य मानिसको आत्मविश्वास र मानसिक क्षमतामा वृद्धि गर्न सक्छ ।

कथा, कविता, निबन्ध, र उपन्यासहरू समाजका समस्याहरू उजागर गर्दै समाधानको मार्ग देखाउन सक्छन् ।

जीवन व्यवस्थापन, आत्म–परिवर्तन, र सफलताका साहित्यहरूले मानिसलाई लक्ष्य निर्धारण र कार्यान्वयन गर्न प्रेरित गरिरहेका छन् ।

साहित्यले उद्यमशीलता र नवीन सोचको विकास गर्न प्रेरित गर्छ । व्यावसायिक र प्रेरणादायी पुस्तकहरू उद्यमशीलतालाई प्रवद्र्धन गर्छन् । आत्मकथा र सफलता कथाहरू सफल व्यक्तिहरूको संघर्ष र उपलब्धिबाट सिक्न मदत गर्छ ।

पर्यटन, कृषि, प्रविधि, र लगानीसम्बन्धी पुस्तकहरूले आर्थिक अवसरहरूबारे सचेतना फैलाइरहेका छन् । साहित्यले समाजमा न्याय, समानता, र शान्ति स्थापनाको मार्ग देखाउन सक्छ । नारीवादी साहित्य, सामाजिक न्यायका कथा, र मानवअधिकारसम्बन्धी कृतिहरू समाजलाई सकारात्मक दिशामा लैजान मदत गर्छन् । लोक साहित्य र मौलिक संस्कृति समाजको पहिचान र समृद्धिको आधार बन्न सक्छ ।

पारिजातको ‘शिरिषको फूल’  महिला स्वतन्त्रता र समाजको यथार्थतामा आधारित छ । माक्र्सवादी साहित्यले श्रमिक वर्गको अधिकार र समाजवादको परिकल्पना  गरेका छ ।

लैङ्गिक समानता, सामाजिक न्याय, र मानवअधिकार प्रवद्र्धन गर्ने साहित्यले समाज सुधार गरिरहेको छ ।

साहित्यले समाजको भाषा, संस्कृति, र परम्परालाई जोगाउने महत्वपूर्ण भूमिका खेल्छ । लोककथा, ऐतिहासिक उपन्यास, र मौलिक साहित्य सांस्कृतिक पहिचानको रक्षा गर्न मदत गर्छ । भाषिक साहित्यको विकासले समाजलाई आत्मनिर्भर र गौरवान्वित बनाउँछ ।

साहित्यले समाजमा सुशासन, लोकतन्त्र, र उत्तरदायित्वको भावना फैलाउने काम गर्छ । राजनीतिक साहित्य, जीवनी, र विचारधारासम्बन्धी कृतिहरू नेताहरू, नीति–निर्माताहरू, र नागरिकहरूलाई सचेत बनाउन मदत गर्छन् । नागरिकहरूलाई सचेत पार्ने साहित्यहरूले समाजमा उत्तरदायी नेतृत्व विकास गरिरहेका छन् ।

समृद्धिको आधार ज्ञान, सोच, र चेतनामा निर्भर गर्छ, जसलाई साहित्यले प्रवद्र्धन गर्छ । मानसिक रूपमा सचेत नागरिक बनाउन र  प्रगतिशील समाज निर्माण गर्न साहित्यले भूमिका खेल्छ । आर्थिक रूपमा सक्षम व्यक्ति र समृद्ध राष्ट्र निर्माणमा साहितयले भूमिका खेल्छ । सांस्कृतिक रूपमा सशक्त पहिचान र दिगो विकासका लागि पनि साहित्यले प्रभावकारी भूमिका खेल्छ । समृद्धि हासिल गर्न साहित्यलाई सही रूपमा उपयोग गर्नु अत्यावश्यक छ ।

अबको साहित्य ः

अबको साहित्य प्रविधि, समाज, र बदलिँदो चेतनासँग संगत गर्दै अघि बढिरहेको छ । डिजिटल युगमा साहित्यको सिर्जना, प्रकाशन, र अध्ययनको स्वरूप परिवर्तन हुँदै गएको छ ।

आज साहित्य केवल किताब वा पत्रिकामा मात्र सीमित छैन । ई–बुक, अडियो बुक, ब्लग, पोडकास्ट, र डिजिटल म्यागजिनहरू लोकप्रिय बन्दै गएका छन् । च्याट जिपिटी जस्ता कृत्रिम बुद्धिमत्ता (एआई) उपकरणहरूले समेत साहित्य सिर्जनालाई प्रभावित पार्न थालेका छन् ।

फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक, र युट्युबजस्ता प्लेटफर्महरूले साहित्यिक अभिव्यक्तिलाई छोटो, गद्यात्मक, वा भिडिओ फारमेटमा रूपान्तरण गरेका छन् । लघु कथा, कविता, मुक्तक, र स्टोरी टेलिङ (कथा सुनाउने कला) लोकप्रिय बन्दै गएको छ ।

समसामयिक राजनीति, लैङ्गिक समानता, वातावरणीय संकट, प्रवास, साइबर संसार आदिलाई आधार मानेर कथा, कविता, निबन्ध र उपन्यास लेखिँदैछ । प्रयोगवादी शैली र आत्मकथात्मक लेखनको बढ्दो प्रभाव देखिन्छ ।

अनुवाद साहित्यको महत्व बढ्दै गएको छ । नेपाली साहित्यका कृतिहरू अंग्रेजी, हिन्दी, चिनियाँ लगायत भाषाहरूमा अनुवाद भई विश्व बजारमा प्रवेश गर्दैछन्। त्यस्तै, विदेशी साहित्य नेपाली भाषामा अनुवाद भएर पाठकमाझ आइरहेका छन् ।

साहित्य प्रविधिसँग अझ घुलमिल हुनेछ । एआई जनित साहित्य, इन्टरएक्टिभ फिक्सन र भर्चुअल रियलिटी (भिआर) आधारित साहित्य सम्भावनाका रूपमा देखिन्छ ।

युवा पुस्ता छोटा र प्रभावकारी साहित्यतर्फ आकर्षित हुँदैछ, जसले साहित्यको संरचना र लेखन शैलीलाई नै नयाँ मोड दिइरहेको छ । अबको साहित्य परम्परागत स्वरूपमा मात्र सीमित नभई प्रविधिसँग समाहित हुँदै नयाँ रूप धारण गर्दै जानेछ ।

गढवामा जारी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती मावि गोबरडिहा लाई

गढवा ६ माघ। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता – २०८१ को आइतबार समापन गरिएको छ।

जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा जारी तिनदिने राष्ट्रपति रनिङ शिल्ड तथा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भएको हो। गढवामा जारी १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबरडिहाले हातपर्न सफल भएको छ।

१७ स्वर्ण पदक,१० रजत पदक र ८ कांस्य पदक सहित कुल ३५ पदक सहित सरस्वती माध्यमिक बिद्यालय बिध्यानगर गोबडिया १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१को उपाधी चुम्न सफल भएको हो।

१४ स्वर्ण पदक,११ रजत पदक र १० कांस्य पदक सहित कुल ३५ पदक सहित जनता माध्यमिक विद्यालय गढवा द्वितीय र ६ स्वर्ण पदक,शुन्य रजत पदक र २ कांस्य पदक सहित कुल ८ पदक सहित राप्ती साउथन इङ्लिश बोर्डिङ स्कुल तृतीय स्थान हाँसिल गर्न सफल भएको छ।

भने माध्यमिक विद्यालय चैनपुरले ४ स्वर्ण पदक, ५रजत पदक र ५ कांस्य पदक सहित कुल १४ गरी चौथो स्थान र ४ स्वर्ण पदक, शुन्य रजत पदक र ३ कांस्य पदक सहित कुल ७ पदक सहित पाँचौ स्थानमा आएको छ।

दाङ गढवा गाउँपालिकाको आयोजना तथा जनता माध्यमिक विद्यालय गढवाको व्यवस्थापनमा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ सुरु भएको थियो।शुक्रबार ४ गतेदेखि सुरू भएको प्रतियोगिता आइतबार ६ गते सम्पन्न भएको छ ।

१५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१मा भलिबल छात्र/छात्रा अलगअलग र एथलेटिक्स तर्फ छात्र र छात्राहरु दुबैको सहभागी रहने गरि खेल खेलाइएको थियो । प्रतियोगितामा मावि तर्फ ,भलिभल, कबड्डी, एथेलेटिक्स खेल हुनेछन् भने आधारभुत र प्रावि तर्फ एक सय, दुई सय र चार सय मिटर दौड, चम्चा दौड र हिसाव दौड खेल समाबेश गरिएको सचिवालय संयोजक तथा जनता माध्यमिक विद्यालय गढवाका शिक्षक उपेन्द्र चालिसेले जानकारी दिनुभयो।

१५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१को समापन कार्यक्रमको सहजिकरण जनता माध्यमिक विद्यालय गढवाका शिक्षक सुदिप किरण आचार्यले गर्नु भएको थियो।