गढवामा उन्नत जातको विउ बोका तथा मेसिनरी औजार कृषकलाई हस्तान्तरण

गढवा, १८ असार । गढवा गाउँपालिका वडा नं. ६ स्थित कन्दरादेवी पशुपंक्षी कृषक समूह र लालीगुराँस पशुपंक्षी पालन कृषक समूह मनिकापुरमा गठित समूहका किसानहरूलाई एक एक कार्यक्रममार्फत बाख्रापालनमा संलग्न कृषकहरूलाई उन्नत जातका विउ बोका तथा मेसिनरी औजारहरू वितरण गरिएको छ।

गढवा गाउँपालिका पशु विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बाख्रा प्रवर्द्धन कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा नश्ल सुधारका लागि खरिद गरिएका उन्नत जातका बोकाहरू ११ जना कृषकहरूलाई वितरण गरिएको हो।

त्यस्तै, कृषि विकास शाखाको सोही कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान सहयोगमा बाख्रापालन प्रवर्द्धन सहज हुने उद्देश्यले समूहका सदस्यहरूलाई दाना पिस्ने मेसिन दुई थान र च्याप कटर तीन थान वितरण गरिएको छ।

यसै क्रममा, लुम्बिनी प्रदेश सरकारबाट हस्तान्तरण भई सशर्त अनुदानमा सञ्चालनमा आएको कार्यक्रमअन्तर्गत गढवा वडा नं. ६, मनिकापुरमा रहेको लालीगुराँस पशुपंक्षी पालन कृषक समूहका किसानहरूलाई च्याप कटर एक थान, उन्नत जातको बोका आठवटा (ढुवानी सहित), दाना पिस्ने मेसिन चार थान र घाँस खेतीका लागि मिनी टिलर दुई थान वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले लालीगुराँस समूहकी अध्यक्ष रूपा गिरीलाई उन्नत जातका बीउ बोका र कृषि सामग्रीहरू हस्तान्तरण गर्नुभयो। उशहाँले बाख्रापालन व्यवसायलाई आधुनिक बनाउँदै कृषकहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अनन्तराज रेग्मीले कृषकहरूले आफैंले छनोट गरेका सामग्री तथा बीउ बोका खरिद गरी वितरण गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, बीउ बोका ७५ प्रतिशत अनुदानमा र मेसिनरी औजारहरू ५० प्रतिशत अनुदानमा कृषकहरूलाई उपलब्ध गराइएको हो।

कार्यक्रमका प्रमुख अतिथि गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बाख्रापालनलाई व्यवस्थित, व्यावसायिक र वैज्ञानिक ढंगले अगाडि बढाउन आवश्यक रहेको बताउँदै पालिकाले पशुपालन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विविध कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “गाउँपालिकाले किसानको आवश्यकता, माग र यथार्थ बुझेर नीतिगत तथा प्राविधिक रूपमा साथ दिइरहेको छ। आज वितरण गरिएका उन्नत जातका बीउ बोका र मेसिनरी उपकरणहरू कृषकहरूको उत्पादन र आम्दानी वृद्धि गर्ने मुख्य साधन बन्नेछन्। यसले कृषिमा आत्मनिर्भरताको बाटो खुलाउनेछ।”

अध्यक्ष पोख्रेलले स्थानीय तहको नेतृत्वबाट कृषकहरूको क्षमता अभिवृद्धि गर्न तालिम, प्रविधि, सहुलियत ऋण, अनुदानजस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै, “गढवा गाउँपालिकालाई समृद्ध र कृषि उद्यममा आत्मनिर्भर बनाउने हाम्रो साझा लक्ष्य हो, त्यसमा कृषक साथीहरूको सहभागिता र लगाव आवश्यक छ” भन्ने भनाइ राख्नुभयो।

उहाँले कृषकहरूले आज पाएको सामग्रीको दुरुपयोग नगरी दीर्घकालीन सोचका साथ प्रयोग गर्न सुझाव दिँदै, समूहको एकता, अनुशासन र सहकार्यमा जोड दिनुभयो।

कार्यक्रम गढवा गाउँपालिका पशुपंक्षी तथा मत्स्य विकास शाखाका प्रमुख अनन्तराज रेग्मीको अध्यक्षता, गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा वडा नं. ६ का अध्यक्ष वीरबहादुर आले मगरको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा पशुपंक्षी शाखाका अधिकृत खेमबहादुर चौधरी, वडा सदस्य गोविन्द रोकामगर, वडा नं. ६ का इन्जिनियर यसोबर्धन मिश्र, हेफर प्रोजेक्ट नेपालका कार्यकारी अधिकृत महेशकुमार आचार्य, आइएल भिसीका संयोजक हिमाल खड्का लगायतको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमले गढवा गाउँपालिकाका कृषकहरूलाई बाख्रापालन व्यवसायमा वैज्ञानिक, व्यवस्थित र आत्मनिर्भर बनाउने दिशातर्फ थप उत्साहित बनाएको सहभागी कृषकहरूको भनाइ रहेको छ।

सहकारीको लगानी असुलीमा सहजीकरण गर्न सञ्जालद्वारा गढवा पालिकालाई आग्रह

गढवा, १७ असार। गढवा गाउँपालिका स्तरिय सहकारी सञ्जालले सहकारी संस्थाबाट ऋण लिएर किस्ता तथा ब्याज तिर्न आलटाल गर्ने व्यक्तिहरूका विरुद्ध स्थानीय सरकारले उपयुक्त कदम चाल्न माग गर्दै गाउँपालिका समक्ष औपचारिक रूपमा मागपत्र पेश गरेको छ।

सञ्जालका अध्यक्ष बेगम बहादुर गतराजको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेललाई उहाँकै कार्यकक्षमा भेटी ज्ञापनपत्र बुझाएको हो। सञ्जालले गढवा क्षेत्रका सहकारी संस्थाहरूले लगानी गरेका रकम समयमा असुल नहुनुका कारण संस्थाहरू आर्थिक संकटमा पर्ने खतरा बढिरहेको उल्लेख गर्दै ऋणीहरूले किस्ता तथा ब्याज नतिरेको अवस्थाले सहकारी क्षेत्र कमजोर बन्ने चिन्ता व्यक्त गरेको छ।

ज्ञापनपत्रमा सहकारीको लगानी असुली प्रक्रिया सहज बनाउन आवश्यक कानुनी, सामाजिक तथा प्रशासनिक सहयोग उपलब्ध गराउन माग गरिएको छ। साथै, स्थानीय तहले जिम्मेवार व्यवहार देखाई सहकारीको आत्मनिर्भरतामा टेवा पु-याउनु पर्ने सन्देश समेत सञ्जालले दिएको छ।

गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले सहकारीहरू आर्थिक समावेशीकरण र ग्रामीण विकासको मेरुदण्ड भएकाले सहकारीको समस्यालाई गम्भीरतापूर्वक लिइने र आवश्यक पहल गरिने आश्वासन दिनुभएको सञ्जालका सदस्यहरूले जनाएका छन्।

गढवा गाउँपालिकाभित्रका विभिन्न सहकारी संस्थाहरूको साझा आवाजको रूपमा रहेको सञ्जालले यस्ता मुद्दामा पालिका र समुदायबीच सशक्त समन्वय कायम गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएको छ।

 

 

प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ को समापन समारोह सम्पन्न

गढवा, १५ असार। गढवा गाउँपालिका वडा नं. ७ स्थित जनता माविको खेल मैदानमा आयोजित प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ को समापन कार्यक्रम एक भव्य समारोहका साथ सम्पन्न भएको छ ।

गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष विर बहादुर आलेमगरको बिशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि नित्यानन्द शर्माले गढवा गाउँपालिकाले स्थानीय स्रोत, साधनको प्रचारप्रसार र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्न यो मेला अत्यन्त सफल भएको बताउनुभयो। उहाँले गढवामा रहेका धार्मिक तथा ऐतिहासिक सम्पदाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मेला महोत्सवको आयोजनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। राम जानकी मन्दिर, तपोभूमि, स्वर्गद्वारी, कोइलाबास नाका लगायतका क्षेत्रहरूलाई भारतीय पर्यटकसँग जोडेर गढवालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न मिडियाको भूमिकासमेत महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभयो। शर्माका अनुसार, मेलाले स्थानीय बजारको कारोबार, कृषि उत्पादन, कला–संस्कृति र भाषा–संस्कृतिको जगेर्नामा पनि उल्लेखनीय योगदान दिएको छ।

समापन कार्यक्रममा देउखुरीका कुसल, सफल र पछिल्लो समयमा चर्चाको शिखर चुम्न सफल उद्घोषक तथा गायक अनुप बुढा मगर र प्रथम गढवा कृषि पर्यटन सांस्कृतिक तथा व्यापार मेला २०८२ मा सबैभन्दा ठुलो प्रायोजकको रुपमा रहेको जि एग्रोटेड नेपालगञ्ज धर्तिमाता रसायनिक मलको उत्पादकलाई सम्मान गरेको छ।

गढवा उद्योग बाणिज्य संघको आयोजना सञ्चालन भएको प्रथम गढवा कृषि पर्यटन सांस्कृतिक तथा व्यापार मेला २०८२को उद्घाटन कार्यक्रममा झाँकी तथा शोभायात्राको मुल्यांकनटिमले दिएको नतिजा अनुसार ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र प्रथम, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र द्धारा सञ्चालीत सोरठी नृत्य र बाल संसार एकाडेमीको द्वितीय र गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र गढवा र नेपाल अवधी संस्कृति संरक्षण केन्द्र तृतीय स्थान र गढवा गाउँपालिका वडा नम्बर ४ रामनगरको ढोलताजा सान्त्वना स्थान हाँसिल गरेका छन् । सबैलाई नगद र सम्मान पत्र सहित सम्मानित गरिएको छ।राजनितिक दलका प्रतिनिधिहरुलाई स्थानीय उत्पादन माटाको भाँडो मग मायाको चिनोको रुपमा दिईएको थियो।

गढवा उद्योग वाणिज्य संघको आयोजनामा गढवा स्थिति जनता माध्यमिक विद्यालय गढवाको खेलमैदानमा गत असार ३ गतेदेखि प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला – २०८२ को सुरु भएको थियो। असार ३ गतेदेखी असार १२ गतेसम्म सन्ध्याकालीन समयमा ४ बजेदेखि ८ बजेसम्म मेला संञ्चालन भनिएता पनि थप तिन दिन म्याद थप गरी १५ गते सम्म अनुमति लिएर सञ्चालन गरिएको थियो । मेलाको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य लोका बिकले गर्नुभएको थियो ।

कार्यक्रमको संचालन गढवा उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार तथा गढवाका वरिष्ठ पत्रकार शिवराज पन्थीले गर्नु भएको थियो।