आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवाको ११औ वार्षिक साधारणसभा सम्पन्न

गढवा,१४ भदौं। आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवाको ११औ वार्षिक साधारणसभा सनिवार गढवा उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेलले बचत र ऋणले मात्र सहकारी संस्था अगाडी बढ्न‌ नसक्ने बताउनु भयो। आयाम सहकारी संस्थाले कृषि क्षेत्रमा लगानी गरेको देख्दा सुन्दा आफु खुसी भएको बताउँनु भयो। सहकारी संस्थाहरुले कृषि उत्पादनमा लगानी गरी आयआर्जन तर्फ अघि बढ्न सबै सहकारी हरुलाई सुझाव समेत दिनु भयो। सहकारी संस्थाहरुलेमा पछिल्लो समयमा सदस्य संख्या घट्नु बिभिन्न कारणहरु भएको बताउनुभयो। केही नाममा लागि मात्र खुलेका सहकारी संस्थाहरुले एक आपसमा मर्ज गरेर अघि बढ्न सुझाव दिनु भयो। आफुहरु निर्वाचित भएर आएपछी सहकारी शाखा स्थापना गरेर सहकारी संस्थाहरुका व्यवस्थापक लगातशमतलाई विभिन्न समयमा तालिम दिदै आएको बताउनुभयो। गढवा का सहकारी संस्थाहरुले कृषिको क्षेत्रमा उत्पादनमुलक कार्यक्रम गरे पालिकाले सहयोग गर्ने बताउनु भयो।

सहकारी संस्थाको ११औ वार्षिक साधारण सभामा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीले संस्थाले छोटो समयमा राम्रो र सम्मानजनक प्रगति गरेको भन्दै धन्यवाद दिनु भयो। सहकारी संस्थाहरुले बचत तथा ऋण मात्र नभएर महिलाहरुलाई सिपमुलक तालिम दिएर महिलाहरुलाई व्यवसाय संग जोड्ने हिसावको कार्यक्रम गर्न सुझाव दिनु भयो। गढवामा आयाम बहुउद्देश्यीय सहकारी संस्था लिले गढवामा सहकारीको हकरा राम्रो र नितिगत रुपमा अघि बढेको बताउनुभयो। संस्थाहरुले महिला कर्मचारी मात्र राखेको देख्दा आफु हर्षित भएको बताउदै आगामी दिनमा जनताको हकहित र सहयोग हुने गरी जनता लक्षित कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो। गढवा गाउँपालिकाले सहकारी क्षेत्रको समुन्नत विकाशको लागि नियमित नियमन कार्य गर्दै आएको बताउनुभयो।

 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष ओम प्रकाश बसेलले “आयाम बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको ११ वर्षको यात्रामा सदस्यहरुको निरन्तर विश्वास, माया र साथका कारण संस्थाले छोटो समयमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको छ। हाम्रो प्राथमिकता सदस्यहरुको हित, पारदर्शिता र सहकारीको आधारभूत सिद्धान्तलाई आत्मसात् गर्दै अगाडि बढ्नु हो। कृषि, महिला सशक्तिकरण, सीपमूलक तालिम र उत्पादनमुखी क्षेत्रमा लगानी गरेर मात्र सहकारी क्षेत्रलाई दिगो बनाउन सकिन्छ भन्ने विश्वासका साथ हामी अघि बढिरहेका छौं। भविष्यमा पनि सदस्यहरुको साथ र सहकार्यका आधारमा आयाम सहकारीलाई अझ सबल, सुदृढ र आदर्श सहकारीको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

 

संस्थाकी प्रबन्धक सिता नेपालीले आर्थिक वर्ष २०८२/०८३ को बजेट , निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

 

कार्यक्रममा संस्थाका सचिव श्याम चौधरीले संस्थागत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष समिर खानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

 

आर्थिक वर्ष २०८१/०८२ को आय व्यय प्रस्तुत गर्दै संस्थाका सचिव श्याम चौधरीले यस वर्षको संकलित निक्षेप रकम ४ करोड ५४ लाख ६० हजार ५ सय त्रियासी रुपैयाँ छ भने कुल ऋण लगानी ३ करोड ३८ लाख ८२ हजार ५ सय ७८ रुपैयाँ रहेको प्रतिवेदनमा प्रस्तुत गर्नु भएको थियो। त्यसैगरी संस्थाको कुल आम्दानी ४३ लाख १९ हजार ६ सय ८ रुपैयाँ २५ पैसा रहेको थियो भने ३३ लाख ७० हजार ४ सय ६९ रुपैयाँ २४ पैसा जम्मा खर्च प्रस्तुत गर्नुभएको थियो। यस आर्थिक वर्षमा संस्थाका कुल नाफा ९ लाख ४९ हजार १ सय ३८ रुपैयाँ ८१ पैसा रहेको छ।

 

२०७२ साल फागुन १२ गते मुख्य कार्यालय गढवामा स्थापना भएको सहकारी संस्थामा हाल २ हजार ४२ जना सदस्य रहेका छन् संस्थाले गढवा गाउँपालिकाको वडा नम्बर १ कालाकाटे र राजपुर गाउँपालिका (हाल बन्द भएको) र लमही नगरपालिकाअओ लमही बजारमा शाखा स्थापना गरी सेवा प्रदान गरीरहेको छ। हाल संस्थामा १२ जना कर्मचारी कार्यरत रहेका छन्। सहकारी संस्थाले आफ्नै भवन‌ निर्माण गरी २०८२ वैशाख २४ गतेदेखि मुख्य कार्यालय सञ्चालन गरेको छ।

आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवाले ३ करोड ३८ लाख ८२ हजार ५ सय ७८ रुपैयाँ लगानी गरेको छ भने ४ करोड ५४ लाख ६० हाजिर ५ सय ८३ रुपैयाँ बचत संकलन गरेको छ।

 

११औ वार्षिक साधारण सभाको अवसरमा सहकारी सुरुवात चरणदेखि हाल सम्म र विभिन्न समयमा संस्थाको हकहित,बचत, लगायतका क्षेत्रमा उत्कृष्ट काम गर्ने सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिका सहकारी शाखाका अशोक कुमार यादव,गाउँपालिका स्तरीय सरकारी सञ्जालका सचिव दामोदर ढुङ्गाना, नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाका सभापति उमाकान्त पन्त, संस्थाका परिकल्पनाकार तथा पत्रकार किरण बिक्रम शाह, गढवा उद्योग वाणिज्य संघका प्रतिनिधि डेगमान जिसी,गढवा गाउँपालिका द्वारा सञ्चालित भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्मा, वन तथा वातावरण समन्वय समितिका अध्यक्ष पुष्पा यादव, गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका सचिव तिलक पुन, गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक रम्भुनाथ चौधरी,चुरे क्षेत्र बचत तथा ऋण सहकारी संस्था लि गढवाका अध्यक्ष हेमन्त चौधरीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा गढवा‌ गाउपालिका सहकारी शाखा, विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संस्थाका पदाधिकारी, संस्थाका सदस्य, पत्रकार लगायतको सहभागिता रहेको थियो‌।

संस्थाकी प्रबन्धक सिता नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्याम चौधरीले गर्नु भएको थियो।

गढवामा सरकारी दरमा दुग्ध खरिद, महिनामै भुक्तानी पाउंदा किसान खुसीले गदगद

गढवा, ६ श्रावण। गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना अन्तर्गत गठित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाका दुग्ध उत्पादक किसानहरूसँग सरकारी दरमा दुग्ध खरिद गरी प्रतिबद्धता अनुसार महिनामै भुक्तानी पाउंदा खुशीले गदगद भएका छन्।

सहकारीले २०८२ साउन ७ गते बुधबारदेखि गढवा प्रहरी चौकीको उत्तरतर्फ रहेको गढवा दुग्ध संकलन तथा बिक्री केन्द्रबाट किसानहरूले ल्याएको शुद्ध र सफा दूध खरिद गर्ने गरेको छ।

यस कार्यका लागि गाउँपालिकाले भिटा परियोजना मार्फत बुटवलस्थित विशिष्टीकृत सहकारीसँग सरकारी दरमा मासिक भुक्तानी हुने गरी सम्झौता गरेर गढवा गाउँपालिकामा उत्पादित दूध संकलन गरी बजारीकरण गर्न सुरु गरेको यसबाट सदियौ देखि दूध उत्पादक किसानको मुहारमा खुसी ल्याएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले जानकारी दिनुभयो। गढवा गाउँपालिकाले किसानको लागत घटाई कृषि तथा पशुपालनको क्षेत्रमा ज्ञान सिप,तालिम, कृषि सामग्री हस्तान्तरण, बिउविजन, नश्ल सुधारका लागि उन्नत जातका राँगा, भकारो सुधार कार्यक्रम पश्चात उत्पादित दूधको सहज बजारीकरणको लागि यो सफल कार्यक्रम भएको अध्यक्ष पौख्रेलले बताउनुभयो।

कैयन महिनाको दूधको भुक्तानी नपाउने सस्तो दररेटमा दूध बेच्न बाध्य किसानको समस्या समाधान भएको छ, हामीले सरकारी दररेटमा दूध खरिद गरी प्रत्येक महिना भुक्तानी दिने र भैंसीका लागि सहकारी मार्फत दाना उपलब्ध गराउने गरी कार्यक्रम अघि बढाएको यसबाट किसानलाई भैसी पालनमा थप सहजता हुने बिस्वास गरेको बताउनु भयो।

यसअघि गाउँपालिकामा दूध संकलन केन्द्र सञ्चालनमा नआउँदा किसानहरूले उत्पादन गरेको दूधको समयमै भुक्तानी नपाएको गुनासो गर्दै आएका थिए। यस पटक सहकारीले सरकारी दरमा दूध खरिद गरी मासिक रुपमा अनिवार्य भुक्तानी गर्ने व्यवस्था मिलाइएको अध्यक्ष पोख्रेलले बताउनुभयो।

सरकारी दररेट अनुसार १ फ्याटको ७.१५ रुपैयाँ र १ एस एन एफ को ४.५४ रुपैयाँ सरकारी दररेट कायम गराएको गढवा गाउँपालिकाद्वारा सञ्चालित भिटा परियोजना कार्यक्रम संयोजक बसन्तकुमार शर्माले जानकारी दिनुभयो।

साउन महिनाको भुक्तानी पाउदा भैसी पालक किसान दैवराज यादवले दुग्धको बजार अभावमा मर्कामा परेका किसानका लागि यो कार्यक्रम आशाको किरण बनेको बताउनुभयो। गढवा का यादव समुदायको मुख्य पेसा खेती र भैंसी पालन हो तर बर्खाको समयम दूध बिक्री गर्न समस्या त्यसमा पनि सस्तो दररेट र छ सात महिनासम्म भुक्तानी नपाउदा समस्या माथी झन समस्या भोग्नु परेको बताउदै पालिकाले गढवाका किसानका लागि गरेको यो एतिहासीक र सराहनीय कार्य भएको बताउनुभयो।

गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले हाल गढवा साझ बिहानको दूध संकलन गर्दै आएको छ भने केही समयमा गढवाका अन्य वडाहरु बाट समेत दूध संकलन कार्य सुरू गर्ने तयारी गरेको सहकारी संस्थाका व्यवस्थापक रम्भुनाथ चौधरीले जानकारी दिनुभयो।

राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्‌को अध्यक्षमा नेपालका थापा निर्वाचित

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपालका लोकबहादुर थापा निर्वाचित भएका छन् । राष्ट्रसंघको इकाइहरूमध्ये महत्त्वपूर्ण मानिने आर्थिक तथा सामाजिक परिष‌द्मा नेपालको प्रतिनिधित्व गर्दै स्थायी प्रतिनिधि एवं राजदूत थापा २०२६ सम्मका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। नेपाल इकोसकको अध्यक्ष बनेको यो पहिलो पटक हो।

यसअघि २०२४-०२५ का लागि इकोसकमा थापा उपाध्यक्ष थिए। दुई वर्षअघि स्थायी प्रतिनिधिको जिम्मेवारीसहित न्यूयोर्क आएका उनी त्यसअघि बेल्जियम तथा ईयूका लागि राजदूतको भूमिकामा थिए । नेपालको अध्यक्षतामा इकोसकका उपाध्यक्षमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन रिपब्लिक र स्पेन निर्वाचित भएका छन् ।

अमेरिकाको न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा विहीबार भएको बैठकमा परिषद्‌को नेतृत्वका लागि निर्वाचत प्रक्रिया भएको थियो। थापा निर्वाचित भएलगत्तै बैठकमा परिषद्‌का निवर्तमान अध्यक्ष क्यानडाका स्थायी प्रतिनिधि बब रेले ग्याभल हस्तात्त्तरण गर्दै थापालाई अध्यक्षमा पदस्थापित गरेका हुन् ।

अध्यक्षमा निर्वाचित भएपछि थापाले नेपाललाई यस महत्त्वपूर्ण भूमिकाका लागि दिएको विश्वास र समर्थनप्रति सबै सदस्य राष्ट्रप्रति कृतज्ञता व्यक्त गरे। उनले नेपालका लागि यो ऐतिहासिक अवसर भएको भन्दै इकोसकको अध्यक्षता गर्नु बहुपक्षीयताप्रतिको प्रतिबद्धता र निष्पक्ष, समावेशी, न्यायपूर्ण विश्व निर्माणमा योगदान गर्ने अभिलाषाको प्रमाण भएको दावीसमेत गरे ।

अध्यक्षको कार्यभार सम्हाल्ने थापाले जलवायु संकट, आर्थिक अन्योल र गहिरिदो असमानताले बहुपक्षीय प्रणालीमाथि विश्वास घट्‌दै गएको भन्दै प्रविधिमा पनि अवसरसँगै इकोसकमा नेपालले नमुना काम गरेर विश्वलाई देखाउने चुनौतीहरू भएकाले यो बेला इकोसकको भूमिका झनै महत्त्वपूर्ण हुने बताए ।

‘इकोसकले सार्वभौमिक भविष्यका लागि परिवर्तनकारी, न्यायपूर्ण, नवप्रवर्तनशील र सम्भावित कार्यहरू तय गरिसकेको र त्यही नाराअनुसार काम गरिनेछ,’ थापाले बैठकमा भने, ‘इकोसकमा नेपालले नमुना काम गरेर विश्वमा देखाउनेछ ।´

इकोसक राष्ट्रसंघको एक प्रमुख अंग हो, जसले आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्य, मानवअधिकार, वातावरण, महिला सशक्तीकरण र विकासजस्ता विषयहरूमा अन्तर्राष्ट्रिय सहयोग र समन्वय गर्ने विभाग हो।

इकोसकले सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरू, विशेषज्ञ संस्था र नागरिक समाज (जस्तै एनजीओहरू) सँग मिलेर विश्वव्यापी विकासका लक्ष्यहरू प्राप्त गर्न नीति निर्माण, बहस, सल्लाह, अनुसन्धान तथा अनुगमनको काम गर्दछ ।