सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक बिदा दिने

शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताए ।

‘भर्खरै मैले सम्माननीय प्रधानमन्त्रीज्यूसँग समन्वय गरें । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रस्ताव बनिसकेको छ’ उनले भने, ‘शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय बिदा दिने निर्णय भएको छ, यसको आधिकारिक सूचना सरकारी माध्यमबाट आउनेछ ।’

 

दाङमा दुई जना बालबालिकाको सामुहिक हत्या

 दाङमा हत्या गरेर जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ ।
तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोहि ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आर्चाय र १४ वर्षको रोशनी महतारालाई आइतबार(आज) जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
दुवै जनाको शब एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन गरेपछि पहिचान खुलेको हो ।
शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको उहाँले बताउनुभयो । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

विश्व भोकमरी सूचकाङ्कमा नेपालभन्दा खराब स्थिति देखाएको भन्दै भारत आक्रोशित

विश्व भोकमरी सूचकाङ्क (जीएचआइए) मा भारत १०७ औं स्थानमा रहेको रिपोर्टको विषयमा भारतको केन्द्रको मोदी सरकारले कडा प्रतिक्रिया दिएको छ ।   सरकारले जीएचआई सम्बन्धी विज्ञप्ति जारी गर्दै यो सूचकाङ्कले भारतको छवि खराब पारेको भन्दै ‘भोक मापन गर्ने तरिका गलत’ भएको बताएको छ ।

विश्वभर भोकमरी र कुपोषणको अवस्था देखाउने विश्व भोकमरी सूचकांकको प्रतिवेदन सार्वजनिक भएको छ । जसमा भारत १२१ देशमध्ये १०७ औँ स्थानमा छ । यो सूचकाङ्कमा भारतको स्थिति नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेशभन्दा खराब छ । नेपाल ८१ औँ स्थानमा रहेको छ । गत वर्ष ११६ राष्ट्रको वरियतामा नेपाल ७६ औँ स्थानमा थियो ।

यस सूचकाङ्कमा दक्षिण एसियामा श्रीलंका सबैभन्दा राम्रो स्थानमा छ । आर्थिक समस्या झेलिरहेको श्रीलङ्का यस सूचकाङ्कमा ६४ औँ स्थानमा रहेको छ । यस सूचकाङ्कमा भारतलाई १०७ औँ स्थानमा राखेपछि भारत सरकारको महिला तथा बाल विकास मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा के भनिएको छ ?

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘भारतको छविलाई निरन्तर धमिलो पार्ने कार्यले एक राष्ट्रको रूपमा यसले आफ्नो जनसंख्याको खाद्य सुरक्षा र पोषण आवश्यकताहरू पूरा गर्न नसक्ने देखाएको छ । वार्षिक रुपमा जारी हुने ग्लोबल हंगर इन्डेक्सको रिपोर्ट गलत छ । ग्लोबल हंगर इन्डेक्स सन् २०२२ आयरल्याण्ड र जर्मनीको गैर–सरकारी संस्था कन्सर्न वर्ल्ड वाइड एन्ड बेल्ड हंगर हिल्फले जारी गरेको हो जसमा भारतलाई १२१ देशमध्ये १०७ औँ स्थानमा राखिएको छ ।’

भारतले भन्यो, ‘यो सूचकाङ्क भोक मापन गर्ने गलत विधि हो र मापन गर्ने तरिका गम्भीर समस्याबाट ग्रस्त छ । सूचकाङ्क मापन गर्ने चारमध्ये तीन विधि बालबालिकाको स्वास्थ्यसँग मात्र सम्बन्धित छन् र सम्पूर्ण जनसंख्याको प्रतिनिधित्व नहुन सक्छ।’

ग्लोबल हंगर इन्डेक्सको अंक विशेष गरी कुपोषण, गम्भीर नवजात कुपोषण, बालबालिकाको वृद्धि र बालमृत्युदरका चार सूचकहरूको मानमा मापन गरिन्छ ।

भारतले यस रिपोर्टमा जवाफ दिँदै भनेको छ, ‘कुल जनसंख्यामा कुपोषणको अनुपात (पिओयू), यो सूचकाङ्कको चौथो र सबैभन्दा महत्त्वपूर्ण मापन हो, तर त्यो पनि एक जनमत सर्वेक्षणमा आधारित छ जसमा ३००० को एउटा सानो स्याम्पल साइज लिइएको छ ।’

मन्त्रालयले आफ्नो विज्ञप्तिमा थपेको छ, ‘यो सर्वेक्षण मोड्युल खाद्य र कृषि संगठन (एफएओ) को खाद्य असुरक्षा अनुभव स्केल (एफआईइएस) मा आधारित छ जसलाई गेलप वर्ल्ड पोलले पूरा गरेको छ जुन एक जनमत सर्वेक्षण हो । यो आठ प्रश्नमा आधारित छ । यसमा ३ हजार उत्तरदाताहरुको एउटा सानो स्याम्पल साइज छ ।’

एफआईइएसमार्फत् भारतजस्तो देशको कुपोषण अवस्था पत्ता लगाउनु गलत मात्र नभएर अनैतिक रहेको र यसले प्रष्ट पक्षपात मात्र देखाएको विज्ञप्तिमा लेखिएको छ ।

मन्त्रालयले ग्लोबल हंगर इन्डेक्स जारी गर्ने संस्था कन्सर्न वर्ल्ड वाइड एण्ड वेल्थ हंगर हिल्फ बारेमा प्रतिवेदन जारी गर्नुअघि उचित मेहनत नगरेको स्पष्ट पारेको छ ।

भारतले भनेको छ, ‘यो प्रतिवेदन वास्तविकताबाट मात्र टाढा नभई सरकारले आफ्ना जनतालाई खाद्य सुरक्षा प्रदान गर्न गरिरहेको प्रयासलाई पनि जानाजानी बेवास्ता गरेको छ । विशेष गरी कोविड महामारीको समयमा प्रदान गरिएको सहयोगलाई ।’

ग्लोबल हंगर इन्डेक्स के हो ?

विश्व भोकमरी सूचकाङ्क विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन गर्ने र त्यसमाथि निगरानी राख्ने एक माध्यम हो ।

जीएचआईको स्कोर सामान्यतया कुपोषण, शिशुमा देखिएको गम्भीर कुपोषण, बच्चाको विकासमा अवरोध र बाल मृत्यु दरजस्ता चार संकेतका आधारमा मापन गरिन्छ ।

जीएचआईको कुल १०० अंक हुन्छ, जसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइएको छ । अर्थात् कुनै देशको अङ्क शून्य छ भने त्यो राम्रो अवस्थामा छ र कसैको १०० अंक छ भने त्यो निकै खराब अवस्थामा छ ।

भारतको स्कोर २९.१ छ जुन निकै गम्भीर श्रेणीमा पर्दछ ।

यसबाहेक, कुल १७ शीर्ष देशहरू छन् जसको स्कोर ५ भन्दा कम छ । यी देशहरूमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिलीलगायत समावेश छन् ।

बीबीसी