राजधानीमा प्रदेशसभा भवन सार्ने राजनीतिक खिचातानी सुरु

‘आउँदो संसद् बैठक यतै बस्ने गरी तयारी भएको छ । भवन भदौ महिनाभित्रै तयार पारिसक्ने योजना छ’लुम्बिनी प्रदेशको स्थायी राजधानी कार्यान्वयनमा तीव्रता दिइएको छ ।तर राजधानी स्थानान्तरण संगो राजनीतिक चलखेल पनि सुरु भएको छ।

प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । असोजमा संसद् बैठक दाङमै बस्ने गरी तयारी गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलले बताए ।बाहिरी संरचना सबै निर्माण भइसकेको र भित्री सजावटका कामहरू तीव्र गतिम भइरहेको उनले बताए ।

‘आउँदो संसद् बैठक यतै बस्ने गरी तयारी भएको छ । भवन भदौ महिनाभित्रै तयार पारिसक्ने योजना छ,’ उनले भने, ‘सभामुख आएर सबै काम हेर्नुभयो । काममा सन्तुष्ट हुनुभएको छ । अब सभा बस्न सक्ने कुरा निश्चित भएको छ ।’ यसका साथै राजधानी कार्यान्वनका लागि ११ वटा मन्त्रालयका भवनहरू निर्माण गर्न टेण्डर प्रक्रियामा जान थालेको पोख्रेलले बताए ।

‘मन्त्रालयका भवनहरू निर्माणको प्रक्रिया थालनी भैसकेको छ । अन्य डीपीआर निर्माणका कामहरू पनि भइरहेका छन्,’ उनले भने, ‘यस वर्ष मात्रै ७ सय बिघा जमिन उपयोगका लागि तयार अवस्थामा राख्ने गरी काम भइरहेको छ ।’५ करोड २१ लाख ९३ हजारको लागतमा संसद् भवन निर्माण गरिएको हो ।

प्रदेशसभा भवन २०७८ वैशाख २४ मा सम्झौता गरी प्रिफ्र्याब मोडेलमा साउन ३० भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । बीचमा डिजाइन फेरेर बनाउन थालिएपछि अर्थ मन्त्रालयले बजेट रोकेको थियो । बजेट रोकिएपछि पुरानै डिजाइनमा बनाउने गरी सम्झौता थप भएको थियो । टेन्डरको रकम अनुसारका सबै काम सम्पन्न भएको र अब छुट आइटमहरूको मात्रै काम बाँकी रहेको निर्माण कम्पनी वाइवी इन्फ्रास्ट्रक्चरका सञ्चालक तथा इन्जिनियर यज्ञ केसीले बताए ।

‘अब वायरिङ, चर्पी, आँखीझ्याललगायतका काममात्र बाँकी छन्,’ उनले भने, ‘दैनिक ६० जना मजदुरले काम गरिरहेका छन् । बजेट र सामान उपलब्ध भएमा काम केही दिनमै सकिन्छ ।’लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयका विद्यार्थीहरू गढवाको सरस्वती मावि विद्यानगरमा सार्न थालिएको छ । लालमटियामा प्रदेश सरकारको प्रशासनिक केन्द्र बनाउने योजना अनुसार राप्ती प्राविधिक शिक्षालय गढवा सार्न थालिएको हो ।

साउन ३१ गते गढवामा शिक्षालयको साइनबोर्ड टाँगेर स्थानान्तरणको काम थालिएको शिक्षालयका सहायक प्रमुख कुलराज चौधरीले बताए । ‘पढाइ सुरु गर्न सक्ने संरचना सबै तयार भइसकेको छैन । अहिले विद्युत्, पानीलगायतका आधारभूत आवश्यकताहरू जडान भइरहेका छन्,’ उनले भने, ‘सबै संरचना तयार भएपछि कक्षा सुरु हुन्छ ।’ भदौ २० गतेभित्रै फार्मेसी कक्षा सञ्चालन गर्ने र बिस्तारै अन्य कक्षा पनि चलाउने गरी तयारी भइरहेको उनले जानकारी दिए ।सरस्वती माध्यमिक विद्यालयलाई नजिकैको प्राथमिक विद्यालयको पुरानो भवनमा पूर्वाधार थपेर स्थानान्तरण गरिएको छ ।

प्राविधिक शिक्षालयले उपयोग गरेको जग्गा तथा संरचना प्रदेश सरकारलाई उपभोग गर्न दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को २०७८ चैत १ गतेको बैठकले निर्णय गरेको थियो । प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले पनि राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माध्यमिक विद्यालय विद्यानगर गढवामा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । शिक्षालय एसियन विकास बैंकको सहयोगमा २०५० सालमा स्थापना भएको हो ।

निर्वाचनअघि जसरी पनि प्रदेशसभा स्थायी राजधानीमा सार्ने योजना रहेको प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले बताए । ‘स्थायी राजधानी कार्यान्वयन गर्न हामी तीव्रताका साथ लागिरहेका छौं । हामी बिस्तारै भौतिक संरचना भएसम्म प्रदेशसभा र अन्य मन्त्रालयलहरू सार्ने तयारीमा छौं,’ उनले भने, ‘मंसिरको निर्वाचनअघि नै प्रदेशसभा दाङमा ल्याउने योजना भइरहेको छ ।

’हाल लालमटियामा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय र मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ । सिसहनियामा स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालय स्थापना गरिएको छ । अन्य मन्त्रालयहरू पनि स्थानान्तरण गर्दै जाने मन्त्री थारुले बताए ।

गढवामा श्रष्टा सम्मान तथा पुस्तक लोकार्पण

गढवा-१५ भाद्र 

गढवामा श्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रममा समपन्न भएको छ। “पढौ-पढाऔ, निरन्तर शिक्षाका लागी पुस्तकालय जाऔ” भन्ने मुल नाराका साथ १५औ राष्ट्रिय पुस्तकालय दिवश २०७९ को अवसर पारि गढवा गाउँपालिका क्षेत्रका श्रष्टाहरु लाई सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो।

गढवा गाउँपालिका र देउखुरी सामुदायिक पुस्तकलय तथा स्रोत केन्द्रको संयुक्त आयोजनामा गढवा गाउँपालिका भित्रका हरेक बिधामा पुस्तक प्रकाशन गरेका श्रष्टाहरुलाई सम्मान गरेको हो ।

देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रकी अध्यक्ष ओभा पाठकको अध्यक्षता तथा गढवा गाउँपालिका प्रमुख यमनरायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा राष्ट्रिय भूमि आयोग दाङका अध्यक्ष लेखराज रेग्मीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रम गढवा गाउँपालिका क्षेत्रमारही पुस्तक प्रकाशन गरी भाषा, संस्कृति, कला र साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुराएको भन्दै अवधि संस्कृति तथा संरक्षण प्रतिष्ठानका अध्यक्ष राम गोपाल यादव, देउखुरी साहित्य तथा सास्कृतिक मन्चका अध्यक्ष हरि पोख्रेल, गणतन्त्र नेपाल डटकम की सञ्चालिका तथा पत्रकार आस्था केसी, पत्रकार तथा लेखक शिबराज पन्थी, पूर्व गढवा गाविस अध्यक्ष भगवति प्रसाद चौधरी, साहित्यकार जगतराम यादव, अनुसन्धानकर्ता उदयराज आले, साहित्यकार भगवान दास यादव, प्राध्यापन दिपक कुमार यादव, लेखक भूमि प्रसाद शर्मा, जयजय राम यादव, राधा गौतम, लेखक रामसुरत यादव, आशिस अल्पबृक्ष, दुख हरण यादव लाई प्रमाण पत्र सहित सम्मान गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा गढवागाउँपालिका का प्रमुख यमनरायण शर्मा पोख्रेलले यस क्षेत्रको कला, संस्कृति, परम्परा साहित्यको संरक्षण गर्ने कर्तव्य स्थानीय सरकारको रहेकोले यसको संरक्षणका लागी गढवा साहित्यिक प्रतिस्ठान बनाउने बिषयमा आफु तयारी गरी रहेको बताउनु भयो ।

देउखुरी सामुदायिक पुस्तकलय तथा स्रोत केन्द्रको गढवाको अमुल्य गहना भएको र यो पुस्तकालय मात्र नभई देउखुरी कै बौद्धिक विमर्श गर्ने थलोको केन्दको रुपमा रहेकोले यसको संरक्षण गर्न आफु लागि परेको अध्यक्ष शर्माले जानकारी दिनुभयो। यो संगै गढवा गाउँपालिकाको आठ वटै वडामा सामुदायिक पुस्तकालयको शाखा खोल्ने तयारी गरेको बताउनु भयो।

सुचना प्राबिधिको प्रयोग बढेसंगै सामाजिक सञ्जालमा दुई लाइन पढेर आफ्नो बिचार ब्यक्त गर्ने प्रबृति गलत भएको भन्दै पठनपाठनमा बिशेष ध्यान दिनसबैलाई अनुरोध समेत गर्नुभयो। गढवा क्षेत्रको कला, संस्कृति, भाषा, साहित्यको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मा यही क्षेत्रका लेखक साहित्यकारहरुको रहेको भन्दै साहित्यिक क्षेत्रमा निरन्तर कलम चलाउन र पालिका बाट चाहिने सम्पूर्ण सहयोग गर्न आफु तयार रहेको भन्दै लेखक तथा साहित्यकार हरु लाई निरन्तर कलम चलाउन अनुरोध गर्नु भयो ।

कार्यक्रममा गढवा गाउँपालिकाका वडा नम्बर – ६का अध्यक्ष बिर बहादुर आले मगर, नागरिक समाज दाङका उपाध्यक्ष निम बहादुर थापा, थारु भाषा साहित्य संरक्षण मञ्चका अध्यक्ष छविलाल कोपिला, देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक हरेकृष्ण ज्ञवाली, नेपाल ह्रदयरोग निवारण केन्द्र दाङका अध्यक्ष रविलाल आचार्य, गढवागाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बहादुर बिक, नेपाल रेड्क्रस सोसाइटी उपशाखा गढवाका दयाराम यादव, वडा नम्बर छ का वडा सदस्य दिनमणी आचार्य, अर्जुन कुमार पाैडेल, हिमोद पहाडी लगायतकाको उपस्थिति रहेको थियो।

देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रले गढवा गाउँपालिका वडा नम्वर ६ खबरीकी सरस्वती पुनको घरमा आगलागी भई क्षेती भएको हुनाले सरस्वती पुनलाई खाद्यान्न सहयोग गरेको छ। कार्यक्रममा बिर बहादुर आले मगर, हरि पोख्रेल, छविलाल कोपिला, आशिस अल्पबृक्ष, कृष्ण ज्ञवाली, अध्यक्ष राम गोपाल यादव,अर्जुन पौड्याल, शिवराज पन्थी लगायतकाले रचना बाचन गर्नु भएको थियो ।

देउखुरी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका सदस्य महेश अधिकारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवराज पन्थीले गर्नुभएको थियो।

‘डेढ लाख ऋणको डेढ करोड तिरिसकें, ४५ लाख अझै बाँकी छ’

मोरङको धनपालथान गाउँपालिका–७ का अवधेशकुमार मण्डलले सुधान्सु ठाकुरसँग मिलेर २०७३ सालमा साझेदारीमा कुखुरा फर्म सञ्चालन गरे ।

सोही वर्ष फर्मका कामदारले चलाएको मोटरसाइकलको ठक्करबाट एक जना घाइते भए । घाइतेको उपचारका लागि उनले सुधान्सुुसँगै एक लाख ५० हजार रुपैयाँ ऋण लिए । ऋण दिँदै गर्दा उनले भनेका थिए दिनको २ हजार रुपैयाँ ब्याज पर्छ ।

उपचारका लागि लिएको ऋण उनले समयमा तिर्न सकेनन् । ब्याजको मिटर चढ्दै गयो । उनले २ लाख रुपैयाँ जुटाएर उनलाई जिम्मा लगाए । ठाकुरले यो पैसाले साउ कट्दैन ब्याज मात्रै हुन्छ भने । उनले आफ्नो मोटरसाइकलसहित १५ लाख रुपैयाँ थप ठाकुरलाई दिए । डेढ लाख रुपैयाँ ऋणको दुई लाख र पछि १५ लाख भुक्तानी गर्दा पनि उनी ऋण मुक्त भएन् ।

२०७३ सालमा लिएको डेढ लाख रुपैयाँको थप १५ लाख पनि बुझाएपछि उनलार्ई २२ लाख तिर्न दबाब दिए । विस्तारै ७५ लाख रुपैयाँ भयो भन्दै तिर्न दबाब दिए ।

मनि ट्रान्सफरका सन्चालक समेत रहेका उनलाई मिटरब्याजीको समूहले नियन्त्रणमा लियो । नियन्त्रणमा लिएपछि २०७५ भदौ १ गते नकट्ने गरीका पाँच वटा कागजी तमसुक बनाएर छाडे । सोही कागजका आधारमा उनका बुबाले विराटनगर–१ का नितेश बस्नेत, सिरहा घर भई विराटनगर–२ बस्ने सन्जिव कर्ण, कोसी प्रोजेक्ट बस्ने सोमित कामत, सुभम सिंह, रविनकुमार यादव, नितिनकुमार साहलगायतलाई उनको परिवारले एक करोड ५० लाख भुक्तानी गरिसके ।

एउटा लेनदेनको मुद्दा भने अझै बाँकी नै रहेको उनले बताए । ‘अहिलेसम्म डेढ करोड तिरिसकें,’ आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमा उनले भने, ‘अझै ४५ लाखको कागज छ, १० लाख रुपैयाँ दिए मिल्छु भन्दैछन् ।’ उनले मिटरब्याजीका कारण आफ्नो आर्थिक हैसियत डामाडोल भएको गुनासो गरे ।

दुई लाखको सावाँ–ब्याज १८ लाख ९४ हजार सात दिन जेल

२०७४ साल मंसिर पहिलो साता विराटनगरका जगदिश साहले एकसाता भित्र फिर्ता गर्ने गरी विराटनगरकै ताजब्बर सिद्धिकीसँग दुई लाख रुपैयाँ सापटी लिए । सात दिन भित्र पैसा जोहो गरेर सिद्धिकीलाई सम्पर्क गर्दा उनी भारतमा थिए । टेलिफोनमा उनले २/४ दिनपछि दिँदा हुन्छ भन्ने प्रतिक्रिया दिएका थिए ।

गृहमन्त्रालयले गठन गरेको अध्ययन टोली विराटनगरका मिटरब्याज पीडितसँग

२०७४ मंसिर २२ गते फोन आयो । दुई लाख दिन ठिक्क पारेका उनले साहसँग ८ लाख मागे । दिन नसक्ने बताएपछि सोही दिन साँझ एउटा कार घर अगाडि आएर रोकियो ।

काम छ भन्दै लिन घर पुगेको कारमा थिए किरण लामा, अमिस बराल, आकाश यादव र सिद्धिकी । लामा हाल नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको महानगर कमिटी अध्यक्ष छन् । छोटो समयमा राम्रो आर्थिक हैसियत बनाएका लामा बारम्बार विवादमा आइरहन्छन् ।

कार विराटनगरको बसपार्क हुँदै महेन्द्र चोकको टेन–एलेभेन रेष्टुरेन्टमा ल्याएर रोके । सो रेष्टुरेन्टको सञ्चालक लामा नै थिए (हाल सो रेस्टुरेन्ट बन्द छ) । सञ्चालनमा आइनसकेको रेष्टुरेन्टमा हात खुट्टा बाँधेर बेलुकादेखि राति १ बजेसम्म कुटपिट गरे । राति साढे १ बजे कागजमा औँठाछाप गर्न लगाएर छाडे ।

ज्यान जोगाउन औँठा छाप लगाएको बताएका उनले पछि मात्र थाहा पाए औँठाछाप गरेको तमसुकमा सुनिल गुजरातीबाट १५ लाख रुपैयाँ ऋण लिएको उल्लेख रहेछ ।

सोही कागजका आधारमा मिटरब्याजीको समूह जिल्ला अदालत मोरङ गयो । २०७५ माघ १७ गते जिल्ला अदालतले मिटरब्याजीको पक्षमा फैसला गर्यो । फैसला कार्यान्वयनका लागि साह २०७६ माघ ७ गते पक्राउ परे । कागज अनुसारको सावाँ–ब्याज करिब १८ लाख ९४ हजार तिरेपछि उनी २०७६ माघ १२ गते कारागार मुक्त भएका थिए ।

‘अदालतको फैसलापछि म एक साता कारागार बसें,’ साहले भने, ‘श्रीमतीले दुई लाखको सावाँ–ब्याज गरी १८ लाख ९४ हजार तिरेपछि म कारागारबाट छुटें ।’ दुई लाख रुपैयाँको सावाँ–ब्याज गरी १८ लाख ९४ हजार तिर्नुपरेपछि न्याय खोज्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेको उनले बताए ।

ऋणले सुकुम्वासी 

विराटनगर–१८ का ७० वर्षीय बेचनलाल दासले पाँच वर्षअघि बासुदेव मण्डलबाट दुईपटक गरी एक लाख रुपैयाँ ऋण लिएका थिए । उनले एक पटक ८० हजार र अर्को पल्ट २० हजार रुपैयाँ ऋण लिएका थिए । १५ धुर जग्गा राखेर ऋण लिएका उनको जग्गा साहुले आफ्नो बनाइसकेका छन् । लाखौं पर्ने जग्गा हडेपछि उनले पनि न्यायका लागि हारगुहार गरिरहेका छन् ।

मिटरब्याज अपराध नियन्त्रणका लागि गृह मन्त्रालयद्वारा गठित कार्यदलको टोली अध्ययन गर्दै आइतबार विराटनगर आएको थियो । कार्यदलले मिटरब्याज पीडित र सरोकारवालाहरुसँग गरेको छलफलमा पीडितहरुले आफ्ना पीडा पोखेका हुन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङमा मिटरब्याजीबाट ठगिएको भन्दै ४२ वटा उजुरी परेका छन् ।

कार्यदलका संयोजक भिष्मकुमार भुसालले कार्यदलले अध्ययनपछि आवश्यक कारवाहीका लागि सरकारलाई प्रतिवेदन बुझाउने बताए ।