‘खाकी-दि बिहार च्याप्टर’:- बिहारकाे समाजशास्त्र बताउने वेबसिरिज

याे वेबसिरिजले तपाईंलाई राम्रैसँग बाँधेर राख्छ। बिहारकाे पृष्ठभूमिमा बनाइएकाे याे वेबसिरिज प्रहरी र गैंगस्टारबीचकाे टसलकाे कथा हाे। यसले मुख्यतः एक बिहार पुलिस अफिसर अमित लाेढा र एक बिहारी ग्याङ्गस्टार चन्दन महताे बीचकाे टसलकाे कथा भन्छ। चन्दन महताेकाे उदय कसरी भयाे, कसरी चन्दन महताे अपराध जगतमा स्थापित भए, पुलिससँग उसकाे द्वन्द्व के कसरी सुरु भयाे, के कस्ताे र कसरी घटनाक्रमहरुकाे विकास हुँदै जाँदा अमित लाेढा र चन्दन महताे एकअर्कासँग टकराउन पुगे, उनीहरुकाे याे टकराव कहाँ पुगेर, के कसरी अन्त्य भयाे? यही यस वेबसिरिजले बताउँछ।

‘खाकी-दि बिहार च्याप्टर’ आईपिएस अमित लाेढाकाे किताब ‘बिहार डायरिज’ माथि आधारित छ। यस पुस्तकमा आईपिएस अमित लाेढाले आफू बिहारमा पाेष्टिङ हुँदाकाे बखत, आफ्नाे कार्यकालमा गरेकाे कामकारवाही र अनुभवहरुलाई लिपिबद्ध गरेका छन्। बिहारकाे कुख्यात ग्याङ्गस्टार पिन्टाे महताेलाई कसरी उनले ज्यानकाे बाजी लगाई ट्रयापमा पारेर गिरफ्तार गरि सजाँय दिलाउन सके, कसरी उसकाे गैंगकाे सफाया गर्न सके, ती कुराहरुलाई उनले यस डायरीमा अभिलेखन गरेका छन्। त्यसैलाई यस वेबसिरिजमा नाटकीय शैलीमा फिल्मी मसालाहरुका साथ चित्रण गरिएकाे छ। यस सिरिजमा पिन्टाे महताेकाे नाम बदलेर चन्दन महताे राखिएकाे छ तर अमित लाेढाकाे नाम भने यथावत् राखिएकाे छ।

करण (अमित लाेढा) र अविनाश (चन्दन महताे)

‘खाकी-दि बिहार च्याप्टर’ तीनवटा कुरा वा मुद्दाहरुका कारण उल्लेखनीय छ। पहिलाे कुरा, यसले गरेकाे बिहारकाे जातिवादकाे सूक्ष्म चित्रण। भारत एक जातिवादी समाज हाे। त्यसमाथि उत्तर भारत त जातिवादकाे उद्गमस्थल नै भइहाल्याे। उत्तर भारतकाे उत्तर प्रदेश र बिहार दुई यस्ता राज्यहरु हुन् जसकाे धर्तिमा जातिवाद चरमबिन्दुमा छ। यहाँकाे सामाजिक धरातलकाे भित्रैसम्म जातिवादले जरा गाडेकाे छ र यसका जराहरु समाजभित्र चारैतिर टाढाटाढासम्म फैलिएका छन्। यहाँसम्म कि यहाँकाे राज्यप्रणाली वा राज्यसँयन्त्र समेत जातिवादबाट नराम्ररी प्रभावित भएकाे छ (जाे सिद्धान्तत: जात-धर्मबाट निरपेक्ष र कानुन तथा ड्युटीप्रति प्रतिबद्ध रहनुपर्ने हाे। भेदभावरहित र निष्पक्ष रहेर कामकारवाही गर्नुपर्ने हाे।) पुलिस डिपार्टमेन्टभित्र पनि याे जातिवादलाई स्पष्टसँग देख्न सकिन्छ। यस सिरिजमा थुप्रै यस्ता दृष्यहरु छन् जसले प्रहरी विभागभित्र रहेकाे जातिवादलाई दर्शाउँछन्।

दृष्य-१:-

प्रहरीकाे एसएसपी मुक्तेश्वर चाैबे (जाे सत्तारुढ दलकाे निकट हुन्छ) मुख्यमन्त्री उज्जियार प्रसादसामु एएसपी अमित लाेढाकाे बढुवाकाे लागि सिफारिस गर्दै भन्छ, ‘सर एकजना केटाे छ, युवा छ। पटनामा एएसपी छ। अमित लाेढा। राम्राे काम गरिरहेकाे छ। (उसैलाई एसपी बनाऔं)।’

मुख्यमन्त्री भन्छ, ‘अमित लाेढा। याे (लाेढा भनेकाे) कुन जात हाे?’

मुक्तेश्वर भन्छ, ‘सर, जात त थाहा छैन सर। हामीकहाँ त लाेढा हुँदैन। ऊ लाेढा लेख्छ।’

दृष्य-२:-

अभ्युदय सिहँकाे ग्याङ्गले आक्रमण गरेर सत्तारुढ दल निकटका भर्ता लगायतका यादव समुहका गुण्डाहरुलाई मारेपछि अमित लाेढा आफ्नाे टिमकाे आफुभन्दा जुनियर पुलिस अफिसरहरुलाई हकार्दै भन्छन्, ‘जब तपाईंहरुलाई थाहा थियाे कि अभ्युदय सिहँमाथि आक्रमण भएकाे छ। तब उसकाे गतिविधिहरुमाथि निगरानी राख्नुपर्दैनथ्याे? (किन राख्नुभएन?)

तब उनकाे एकजना जुनियर अफिसर भन्छ, ‘हामीलाई अनुमान थिएन कि यादवराजमा ऊ यति ठूलाे काण्ड गर्नेछ।’

उसकाे जवाफ सुनेर अमित भन्छन्, ‘कुनै पनि जातकाे सरकार हुँदैन। सरकार पार्टीकाे हुन्छ।’

दृष्य-३:-

प्रहरीकाे एडिजी अमितलाई फाेन गरेर भन्छ, ‘अमित मैले सुनेकाे छु, आन्तरिक कारणले गर्दा तिमी यी सिहँहरुलाई समातिरहेका छैनाैं।’

‘कस्ताे आन्तरिक कारण?’ भनेर अमितले साेध्दा एडिजी भन्छ, ‘मलाई कसरी थाहा हुन्छ? तिमीलाई पाे थाहा हुनुपर्छ। म तिमीले सकेसम्म चाँडाे उनीहरुलाई गिरफ्तार गर भन्ने चाहन्छु।’

यहाँ एडिजीले भनेकाे आन्तरिक कारण ‘जात’ हाे। आफ्नै जातिकाे भएकाे कारण अमित ती सिहँ अपराधीहरुलाई समातिरहेका छैनन् भन्ने उनले सुनेकाे ‘आन्तरिक कारण’ काे अर्थ हाे। याे कुरा तब झनै स्पष्ट हुन्छ, जब डिआईजी मुक्तेश्वर चाैबे यसबारे अमितसँग सिधै कुरा गर्छ (जसकाे उल्लेख तल गरेकाे छु।)

दृष्य-३:-

मुख्यमन्त्री अमित लाेढालाई फाेन गरेर भन्छ, ‘कप्तान साहेब। तपाईंकाे जिल्लामा पाँचजना यादव मरेकाे छ।’

अमित सच्याउँदै भन्छन्, ‘पाँचजना मानिस मरेकाे हाे सर।’

तर मुख्यमन्त्री जाेड दिदै भन्छ, ‘हाेइन। पाँचजना यादव मरेकाे छ। याद राख्नुहाेस्। याे बिहार हाे। बुझ्नुभाे? काे, कहाँ, के हाे जति छिटाे बुझ्नुहुनेछ, उति तपाईंकाे लागि राम्राे हुनेछ। अन्यथा, समस्यामा पर्नुहुनेछ।’

यहाँनेर मुख्यमन्त्री अमितलाई बिहारकाे जातिय चरित्र वा बिहारकाे राजनीतिकाे जातिय रङबारे बताइरहेकाे हुन्छ।

दृष्य-४:-

अमित लाेढाकाे एकजना कंस्टेबल सुखदेव भन्छ, ‘जय हिन्द सर। सर तपाईं राजस्थानबाट हाे?’

जवाफ दिदै अमित भन्छन् , ‘हाे।’

सुखदेव भन्छ, ‘सर, त्यसाे त म बिहारी हुँ। तर मेराे मूल पनि राजस्थान नै हाे। म पनि राजपूत हुँ सर।’

यसरी कँस्टेबल सुखदेवले एसपीलाई आफु उनकै जातकाे हुँ भनेर चिनाउनुकाे कारण सजातीय भएकाे नाताले एसपीले मलाई च्याप्नेछ वा च्यापाेस् भनेर हाे।

दृष्य-५:-

अमितलाई डिआईजी मुक्तेश्वर चाैबेकाे फाेन आउँछ। चाैबे भन्छ, ‘अमित, मैले उज्जियार बाबुसँग लडेर तिमीलाई नालन्दा जस्ताे जिल्ला दिलाए। तर तिमीले नै मलाई याे कुरा भनेनाैं यार।’

छक्क पर्दै अमित साेध्छन्, ‘के कुरा सर?’

चाैबे भन्छ, ‘यही कि तिमी राजपूत हाैं। मलाई यति त थाहा थियाे तिमी राजस्थानका हाै तर…(राजपूत भन्ने थाहा थिएन।)

बीचमा उसकाे कुरा काट्दै अमित साेध्छन्, ‘सर कसले तपाईंलाई भन्याे कि म राजपूत हुँ?’

चाैबे भन्छ, ‘अरे, पूरै डिपार्टमेन्टमा हल्ला छ। यदि तिमी राजपूत नभएकाे भए अभ्युदय सिहँलाई अहिलेसम्म गिरफ्तार गर्दैनथ्याै त?’

तिलमिलाउँदै अमित जवाफ दिन्छन्, ‘सर एक त म राजपूत हाेइन। अर्काे, म आफ्नाे तर्फबाट अभ्युदय सिहँलाई समात्ने पूरै काेशिश गरिरहेकाे छु। म छिट्टै उसलाई समात्नेछु।’

अमित लाेढा बनेका करण ठाकेर

चाैबे भन्छ, ‘साँच्चै हाे र? तिमी साँच्चै राजपूत हाेइनाै त? त्यसाे भए तिमी एउटा काम गर। दुई-चारजना राजपूतलाई समातेर जेलमा हाल। अनि आफ्नाे जातिकाे स्टाटस क्लियर गर। नत्र भने डिपार्टमेन्टमा याे फाल्तुकाे हल्ला चलिरहन्छ। म पनि आफ्नाे तर्फबाट याे कन्फ्युजन हटाउने काेशिश गर्नेछु। बुझ्याै?’

यी दृष्यहरु बिहारकाे पुलिस डिपार्टमेन्टभित्र अन्तर्निहित जातिवादलाई बुझाउन पर्याप्त छन्। मन्त्री आफुले प्रमाेट गर्न लागेकाे प्रहरी अधिकृतकाे जात जान्न चाहन्छ। आईजिपी उसकाे जात जान्न चाहन्छ। पुलिस कंस्टेबल जातकाे साइनाे जाेडेर एसपीकाे निकट आउन चाहन्छ। प्रहरी विभागभित्र हर काेही साेच्छ कि प्रहरी आफ्नाे जातकाे मान्छेहरुलाई समाउँदैन, उनीहरुलाई कारवाही गर्दैन। बरु उनीहरुलाई बचाउँछ, सँरक्षण गर्छ। उनीहरु हरेक काममा जातलाई ल्याएर जाेड्छन्। प्रहरीकाे हरेक कामकारवाहीकाे लेखाजाेखा जातअनुसार राख्छन्। त्यसैले त अमित लाेढाले अभ्युदय सिहँलाई गिरफ्तार नगरिन्जेलसम्म सिहँ उनकाे आफ्नै जातकाे (राजपूत) भएकाेले गिरफ्तार नगरेकाे हल्ला चल्छ, जबकि अमित जातपातमा हैन, कानुन र ड्युटीमाथि विश्वास गर्छन्। जातिवादले आक्रन्त बिहारकाे परिवेश र त्यसबाट नराम्ररी प्रभावित बिहारकाे पुलिस डिपार्टमेन्टकाे याे सत्यलाई यस सिरिजले दर्शाउँछ।

दाेस्राे कुरा, राजनीति र अपराधबीचकाे ‘कनेक्शन’। राजनीतिकर्मी-पुलिस-गैंगस्टार बीचकाे ‘नेक्सस’ काे पर्दाफास। हुन त हरेक क्राइम बेस्ड सिरिजहरुमा याे ‘नेक्सस’ वा ‘कनेक्शन’ लाई देखाइएकाे हुन्छ। याे क्राइम बेस्ड सिरिजहरुकाे एसेन्टियल एलिमेन्ट नै हाे। याे सिरिजमा पनि नेता र ग्याङ्गस्टारकाे यस कनेक्सनलाई छर्लङ्ग गरि देखाइएकाे छ।

यस सिरिजकाे सुरुमै एउटा दृष्य छ, जुन दृष्य उनीहरुकाे याे नेक्ससलाई छर्लङ्ग पार्न पर्याप्त छ। एक सब-इंस्पेक्टर पुलिस फाेर्सकाे नेतृत्व गर्दै कुख्यात ग्याङ्गस्टार चन्दन महताेलाई पक्रन गइरहेकाे हुन्छ। माथि केन्द्रमा भने सबैजना हालै सम्पन्न विधानसभाकाे निर्वाचनकाे परिणामकाे व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका हुन्छन्। विधानसभाकाे निर्वाचनकाे मतगणना धमाधम भइरहेकाे हुन्छ। प्रारम्भमा उज्जियार प्रसादकाे सत्तारुढ दल सर्वेश कुमारकाे विपक्षी दलभन्दा काेशाैं अगाडि देखिन्छ। डिजिपीकाे साला मतगणना स्थलमै हुन्छ। ऊ डिजिपीलाई फाेन गरेर ‘उज्जियार बाबुले निर्वाचन जित्ने देखिएकाे अनि चन्दन महताेले उसकाे कार्यकर्ताहरुलाई मारेकाेले, चन्दन महताेलाई गिरफ्तार गरेर उज्जियार बाबुलाई जीतकाे बधाईकाे साथमा चन्दन महताेकाे गिरफ्तारीकाे ‘गिफ्ट’ पनि दिएर आफ्नाे कुर्सी जाेगाउन’ सल्लाह दिन्छ। डिजिपी तुरुन्त आफुभन्दा एक स्टेप तलकाे अफिसर आईजीलाई फाेन गरेर चन्दन महताेलाई गिरफ्तार गर्न आदेश दिन्छ। आईजी डिआईजीलाई, डिआईजी एएसपीलाई, एवं रितले अन्त्यमा सब-इंस्पेक्टरसम्म चन्दन महताेलाई गिरफ्तार गर्ने आदेश आइपुग्छ। किनभने अन्ततोगत्वा फिल्डमा-एक्शनमा उत्रिने त ऊ र उसकाे नेतृत्वमा रहेकाे पुलिस फाेर्स नै हुन्छ।

सब-इंस्पेक्टर आफ्नाे पुलिस फाेर्सलाई परिचालन गरेर चन्दन महताेलाई चारैतिरबाट घेरा हाल्छ। तर उता क्षणभरमै निर्वाचनकाे परिणाम बदलिन्छ। सुरुवातमा अग्रता लिइरहेको उज्जियार बाबुकाे सत्तारुढ दललाई पराजित गर्दै सर्वेश बाबुकाे विपक्षी दलले बहुमत ल्याउँछ। डिजिपीकाे साला याे खबर डिजिपीलाई सुनाउन डिजिपीलाई फाेन गर्छ। सालाकाे कुरा पूरै सुनिनसक्दै डिजिपी उसकाे फाेन काट्छ र आफुभन्दा तल्लाे अफिसर आईजीलाई फाेन घुमाउन थाल्छ किनभने उसले उसकाे सालाले आ गर्दा अलंकार बुझिसकेकाे हुन्छ अर्थात् निर्वाचनकाे परिणाम उल्टिसक्याे भन्ने कुरा बुझिसकेकाे हुन्छ। अनि, फेरि त्यही चक्र सुरु हुन्छ। आईजी डिआईजीलाई फाेन घुमाउन थाल्छ। डिआईजी आफुभन्दा तलकाे अफिसरलाई, त्याे अफिसर उनीभन्दा तलकाे अफिसलाई। यसरी अन्ततः सब-इंस्पेक्टरलाई, जाे चन्दन महताेलाई गिरफ्तार गर्न अघि बढ्नै लागेकाे हुन्छ कि इस्पेक्टरकाे फाेन आउँछ। फाेनमा उसलाई चन्दन महताेलाई गिरफ्तार नगर्न र पुलिस फाेर्सलाई फर्काएर ल्याउन आदेश दिइन्छ। सब-इंस्पेक्टर विवश हुन्छ। माथिकाे आदेशकाे तामेल त उसले गर्नैपर्छ। यस्तोमा चन्दन महताेलाई छाडेर पुलिस फाेर्सलाई फर्काउनु बाहेक ऊ सँग अर्काे विकल्प हुँदैन र ऊ चन्दन महताेलाई गिरफ्तार नगरि टिमलाई फर्काएर लैजान्छ।

याे एक दृष्यले धेरै कुरा बताउँछ। राजनीतिकर्मी-अपराधी-पुलिसबीचकाे नेक्सस वा इकाेसिस्टमलाई छर्लङ्ग पार्छ याे एक दृष्यले। त्यस्तै, पुलिस डिपार्टमेन्ट कसरी चल्छ? वा हाम्राे सिस्टम-राज्यप्रणाली वा राज्यसँयन्त्र कसरी चल्छ? भन्ने कुराकाे पनि धेरथाेर जवाफ दिन्छ याे एक दृष्यले। कुरा के हाे भने, नेता वा राजनीतिकर्मीहरु र गुण्डा वा ग्याङ्गस्टारहरुका बीच सीधा सम्बन्ध हुन्छ। नेताहरु गुण्डा पाल्छन्। गुण्डाहरु नेताहरुका लागि काम गर्छन्। अनि, पुलिस चाहिँ बीचमा बसेर गुण्डाहरुकाे पाेलेटिकल कनेक्शन हेरेर आफ्नाे स्वार्थलाई प्राथमिकतामा राखि कसलाई कारवाही गर्ने वा नगर्ने भनेर निर्णय गर्छ। सत्तारुढ दल र नेता निकटका गुण्डाहरुलाई चलाउँदैन। उनीहरुकाे दुश्मन दलका गुण्डाहरुलाई टार्गेट बनाउँछ। याे एउटा चक्र हाे, एउटा ‘इकाेसिस्टम’ हाे। याे सिस्टम यसरी नै चल्छ।

तेस्राे कुरा, यसले बिहारकाे अपराधकाे माेटामाेटी समाजशास्त्र बताउँछ। बिहारमा (वा अन्य राज्यहरुमा पनि) अपराधमा लाग्नेहरु मुख्यतः तल्लाे जातकै व्यक्तिहरु हुन्छन्। यस्तो किन हुन्छ भने, समाजमा सबैभन्दा दलनमा परेका उनीहरु नै हुन्छन्। गरिब, अभावग्रस्त र बेराेजगार पनि उनीहरु नै हुन्छन्। अनि, थिचोमिचो वा उत्पीडनमा परेका, ठूलाठालु वा शक्तिशालीहरुबाट हेपिएका-चेपिएका पनि उनीहरु नै हुन्छन्। यसले उनीहरुलाई अपराधमा लाग्न मलिलाे जमिन वा अनुकुल वातावरण प्रदान गर्छ।

‘खाकी’ काे पाेस्टर

अर्काेतिर, पढेर-लेखेर आईएएस वा आइपिएस बन्ने, आफ्नाे भविष्य बनाउने वातावरण त उनीहरुकहाँ हुदैन नै। उनीहरु गुणस्तरीय शिक्षाबाट बन्चित हुन्छन्। पढेर सँघर्ष गर्नका लागि उनीहरुसँग सँसाधन हुदैन। उनीहरुलाई सिकाउने, याे बाटाेतर्फ डाेर्‍याउने वा प्रेरणा दिने पनि काेही हुँदैन। यस्तोमा उनीहरु अपराधकाे बाटाे राेज्छन् जसमा जाेखिम भएता पनि अघि बढ्न सजिलाे हुन्छ। शिक्षा, मानवीय-गरिमामय जीवन र सामाजिक न्यायबाट बन्चित उनीहरु दलन र उत्पीडनबाट मुक्ति पाउन अपराधमा लाग्छन्। बम र बन्दुक समाउँछन् अनि मान्छे मार्न थाल्छन्। किनभने उनीहरु शक्तिहीन हुन्छन् र उनीहरुले आफुहरुमाथि भइरहेकाे उत्पीडनकाे प्रतिराेध गर्नुपर्ने हुन्छ। आफ्नाे रक्षा गर्नुपर्ने हुनेछ, गरिमामय जीवन पनि जिउनुपर्ने हुन्छ, आफ्नाे वरिपरि बलियाे सुरक्षाकवच पनि बनाउनुपर्ने हुन्छ। उनीहरुकाे यी सबै आवश्यकतालाई अपराधले पूरा गरिदिन्छ।

अपराधमा लागेपछि, बन्दुक र पैसा हात पर्छ। बन्दुक र पैसाले उनीहरुलाई शक्तिशाली बनाउँदै लैजान्छ। जति शक्तिशाली भयाे, उति उनीहरुले हेपिनुपर्दैन। हातमा बन्दुक र साथमा पैसा भएपछि उनीहरुलाई कसैले हेप्न सक्दैन। उल्टै उनीहरुदेखि मानिसहरु डराउन थाल्छन्। बन्दुक-पैसा हातमा भएपछि उनीहरु पनि आफ्नाे ठाउँमा पावरफुल हुन्छन्। मान्छेहरु उनीहरुका अगाडि झुक्न थाल्छन्, डराउन थाल्छन्। यसप्रकार बन्दुक र पैसाले उनीहरुलाई सशक्त बनाउँछ, शक्तिशाली बनाउँछ र शक्तिशाली भएपछि उनीहरु स्वत: दफन-उत्पीडनबाट मुक्त हुँदै जान्छन्। शक्तिले उनीहरुलाई दफन-उत्पीडनबाट मुक्त गर्दै लैजान्छ। यसरी, समाजमा दबिएर रहेकाहरुले अपराधमार्फत् आतंक फैलाएर, पैसा कमाएर पावर इंजाेय गर्न थाल्छन्।

त्यसैले, जाेखिमपूर्ण र ज्यान जाने खतरा भए पनि एकपटक अपराधमा लागिसकेपछि उनीहरु अपराधकाे बाटाेलाई छाेड्न सक्दैनन्। त्यसैले भनिन्छ नि, ‘अपराधकाे दुनियाँमा पस्ने बाटाे हुन्छ, निस्कने बाटाे हुँदैन। एकपटक अपराधकाे दुनियामा पसेपछि लास मात्र निस्किन्छ।’ यही बिहारकाे अपराधकाे माेटामाेटी समाजशास्त्र हाे।

‘खाकी’ काे पाेस्टर

‘बिहार डायरिज’ जुन पुस्तकमाथि याे सिरिज आधारित छ, याे सन् २०००-२००६ सम्मकाे कथा हाे। अर्थात्, याे सिरिजकाे कथा सन् २००० काे दशककाे मध्यसम्मकाे हाे। भनेपछि, सन् २००० काे दशककाे मध्यसम्म पनि दलित तथा पिछडा जातिहरुकाे यही अवस्था थियाे। सन् १९८० र १९९० काे दशककाे कुरै छाेडिदिऊ। (तथापि, सन् १९९० मा मण्डल कमिशनले दलित तथा पिछडा वर्गलाई आरक्षणहरुकाे व्यवस्था गरेपछि समाजमा उथलपुथल भएकाे र याे चक्रलाई भत्काउन याे चक्रमाथि दबाव परेकाे पक्का हाे।)

तर सन् २०१० पछि भने परिस्थिति बदलिन थालेकाे छ। दलित तथा पिछडा वर्ग-जातिहरुकाे शिक्षामा पहुँच बढ्न थालेकाे छ अनि प्रशासनमा उनीहरुकाे हस्तक्षेप (सहभागिता) पनि। उनीहरु लाेकसेवा आयाेगकाे परीक्षा उत्तीर्ण गरेर राज्यप्रणालीमा सहभागी हुने क्रम बढेकाे छ। यस्ताे लाग्छ, उनीहरुले अब शिक्षाकाे महत्वलाई बुझ्न थालेका छन्। शिक्षारुपि हतियार र आरक्षणकाे उपयाेग गरेर आफ्नाे ‘स्टाटस’ (सामाजिक-आर्थिक अवस्था वा हैसियत) लाई बदलिरहेका छन्, साथै आफ्नाे समुदायकाे पनि ‘स्टाटस’ लाई बदलिरहेका छन्।

यस्ताे लाग्छ, दलित-पिछडाहरुकाे मूलधारले अब आफ्नाे बाटाे माेडेका छन्। अब उनीहरु बन्दुककाे स्थानमा कलमले प्रतिराेध गर्न थालेका छन्। जँगलकाे स्थानमा सरकारी कार्यालयहरुकाे टेबललाई युद्धस्थलकाे रुपमा राेजेका छन्। समय अघि बढेकाे छ। सन् २०१० पछिकाे बिहारमा बदलाव देखिन थालेकाे छ। आशा छ, आगामी दिनहरुमा दलित तथा पिछडा वर्ग-जातिहरुमा आएकाे याे परिवर्तनलाई पनि फिल्ममेकरहरु आफ्नाे बेवसिरिजहरुमा ‘क्याप्चर’ गर्नेछन्। दलित-पिछडा वर्ग-जातिहरुकाे समाजशास्त्रकाे याे बदलिन्दाे तस्वीरलाई देखाउनेछन् जुन सुन्दर र उज्यालाे देखिन्छ।

बिहारकाे अपराधकाे समाजशास्त्रलाई केही हदसम्म देखाए पनि यस वेबसिरिजले अपराधीहरुप्रति पटक्कै सहानुभूति सिर्जना गरेकाे छैन। बिहारकाे दलित-पिछडाहरुकाे अपराधसँगकाे कनेक्सन वा बिहारकाे अपराधकाे समाजशास्त्रकाे मीमांसा गर्नु, अपराधकाे कारणहरुलाई केलाउनु, काेही किन अपराधी बन्छ भनेर जाँचपड्ताल गरि सिङ्गाे समाज, राज्य र राजनीतिलाई कठघरामा उभ्याउनु, सामाजिक न्यायकाे दृष्टिकाेणबाट याे बिषयलाई ‘अप्राेच’ गर्नु सायद याे वेबसिरिजकाे उद्देश्य हाेइन।

याे वेबसिरिजले पुलिसकाे दृष्टिकोणबाट बिहार र दलित-पिछडाकाे कथा भन्छ वा यी सबै बिषयवस्तुलाई हेर्छ। पुलिसकाे दृष्टिकोण भनेकाे राज्य वा सँस्थापनकाे दृष्टिकोण हाे। किनभने पुलिस समाजमा राज्यकाे प्रतिनिधि हाे। त्यसले यसकाे दृष्टिकोण सिधा छ, १८० डिग्रीकाे सरल रेखाजस्तै जसले ‘अपराधी जाे काेही हाेस्, त्यसलाई छाड्नुहुदैन। कि त त्यसलाई इंकाउन्टर गरेर सिध्याउनुपर्छ कि त त्यसलाई गिरफ्तार गरेर कानुनी-अदालती प्रक्रियामार्फत् कारवाही चलाएर भए पनि उचित सजाँय दिलाउनुपर्छ’ भन्छ। अनि, अपराधीहरुलाई उनीहरुकाे अँजामसम्म पुर्‍याउनका लागि पुलिस अफिसरहरु उच्च नैतिकवान्, इमानदार र कर्तव्यनिष्ठ हुनुपर्ने कुरामा हदैसम्म जाेड दिन्छ।

‘खाकी’ काे एउटा दृष्य

सारमा, याे वेबसिरिजले अपराधीलाई कठाेर दण्ड दिनुपर्ने कुरामा जाेड दिन्छ। तर ऊ कुन परिस्थितिमा अपराधी बन्याे? उसलाई कुन परिस्थितिले अपराधी बनायाे? त्याे परिस्थितिलाई हटाउन वा बदल्न पुलिस र राज्यले के कस्ताे भूमिका निभाउन सक्छ वा निभाउनुपर्छ भन्ने कुरातर्फ भने सराेकार राख्दैन। केवल सक्षम र याेग्य पुलिस फाेर्स खडा गरेर अपराध र अपराधीलाई समाप्त पार्नुपर्छ भन्छ। तर समाज-राज्यमा अपराधी जन्माउने सिस्टम त कायमै छ नि। जातिवाद, जातिय उत्पीडन, गरिब-निमुखाहरुकाे दलन र उत्पीडन, आधारभूत मानव अधिकार र मानवीय सेवासुविधाहरुबाट उनीहरुकाे वंचितिकरण र राज्यप्रणालीबाट उनीहरुकाे सीमान्तीकरण त जारी छ नि। त्यसलाई के गर्ने? राज्यमा सामाजिक न्यायकाे निम्छराे अवस्था छ। त्यसलाई के गर्ने? यिनै कुराहरु नै त हुन्, जसले अपराधी जन्मिने परिस्थितिलाई उत्पन्न गर्छन्। त्यसलाई के गर्ने? सारमा, अपराधी जन्माउने ‘इकाे सिस्टम’ लाई के गर्ने? यसकाे जवाफ याे वेबसिरिजमा भेटिन्न। यसकाे जवाफ हामीले बाहिर खाेज्नुपर्छ।

अब सैद्धान्तिक प्रश्नहरुमाथि बिराम लगाउँदै म यस वेबसिरिजकाे अन्य पाटाेतर्फ लाग्छु। बलिउडमा पुलिस र अपराधी वा ग्याङ्गस्टारबीचकाे टसलकाे कथा यसअघि धेरैपटक, धेरै तरिकाबाट भनिसकिएकाे छ, अझै भनिन्दै छ। ती फिल्म वा सिरिजहरुभन्दा ‘खाकी-दि बिहार च्याप्टर’ कुन मानेमा फरक वा अब्बल छ त भन्ने प्रश्नकाे स्पष्ट उत्तर म सँग छैन। ‘खाकी-दि बिहार च्याप्टर’ काे कथामा नवीनता छ वा यसकाे कथा एक्ट्राअर्डिनेरी छ भनेर म भन्दिन। न त यसकाे पटकथा वा प्रस्तुतिकरण एक्ट्राअर्डिनेरी छ भन्छु। यसकाे कथा ‘एज युजल’ नै छ। पटकथा ठीक त्यसरी नै लेखिएको छ, जसरी कुनै पनि बेवसिरिजकाे पटकथा लेखिन्छ। साना कथालाई लामाे पारेर वा निश्चित लम्बाईमा बिस्तार गरेर। ‘खाकी-दि बिहार च्याप्टर’ कुनै हेर्नैपर्ने सिरिज पनि हाेइन। तर यसकाे अन्तरवस्तुमा जुन दुई-तीनवटा कुराहरु दृष्टिगाेचर हुन्छन् (जसकाे उल्लेख मैले माथि गरे) ती कुराहरुले याे वेबसिरिजलाई अर्थपूर्ण बनाउँछन्, महत्त्वपूर्ण बनाउँछन्, बिहारकाे वातावरणमा भिजाएर बिहारकाे अपराधकाे समाजशास्त्रलाई बुझ्न गतिलाे ‘मटेरियल’ प्रदान गर्छन्।

‘खाकी-दि बिहार च्याप्टर’ सँग निरज पाण्डेकाे नाम जाेडिएकाे छ। निरज पाण्डे बलिउडकाे स्थापित हस्ती हुन्। खासगरि, पुलिस, क्राइम वा टेरियरिस्टसँग सम्बन्धित बिषयवस्तुमाथि उनी गजबका फिल्महरु बनाउने गर्छन्। पुलिसिया वा खुफिया एजेन्टबेस्ड फिल्महरुका लागि विशेष गरेर चिनिन्छन् उनी। ‘अ वेडनसडे’, ‘स्पेशल-२६’, ‘बेबी’, ‘नाम शबाना’, ‘स्पेशल उप्स’ (वेबसिरिज) आदि उनका निकै चर्चित, एक्लेम्ड र हिट फिल्महरु हुन्। याे वेबसिरिज ‘खाकी-दि बिहार च्याप्टर’ पनि एक पुलिसिया फिल्म नै हाे। तर यसपटक उनले यस सिरिजकाे निर्द‌ैशन भने गरेका छैनन्, निर्दैशन अर्कैले (भाव धुलिया) ले गरेका छन्। उनले यसकाे स्क्रिप्टलेखनकार्य, निर्माण र सुपरिवेक्षणमात्र गरेका छन्।

‘खाकी-दि बिहार च्याप्टर’ मा निरज पाण्डेले नायक र खलनायककाे प्रमख दुई भूमिकामा नयाँ अभिनेताहरुलाई लिएका छन्। पुलिस अमित लाेढाकाे राेलमा करण ठाकेरलाई लिएका छन् भने गैंगस्टार चन्दन महताेकाे राेलमा अविनाश तिवारीलाई। करण ठाकेर एक टिभी एक्टर हुन्। उनले ‘खाकी-दि बिहार च्याप्टर’ मा प्रमुख भूमिका निभाउनु अघि निरज पाण्डेकै ‘स्पेशल उप्स’ र ‘स्पेशल उप्स १.० – दि हिम्मत स्टाेरी’ मा सहायक भूमिका निभाएका थिए। त्यसपछि गएर उनले निरजकाे यस सिरिजमा प्रमुख भूमिका निभाउन पाए।

अमित लाेढाकाे रुपमा करण ठाकेर

करण झण्डैझण्डै तेलुगु फिल्मकाे हिराे बेल्लमकाेंडा श्रीनिवास जस्तै देखिन्छन्। दायाँ-बायाँ, तल-माथि सबैतिरबाट हेर्दा उनी बेल्लमकाेंडा श्रीनिवास झै लाग्छन्। उनकाे अनुहार पनि बेल्लमकांडा श्रीनिवाससँग मिल्दाेजुल्दाे देखिन्छ तर पनि स्टारडममा श्रीनिवाससँग उनकाे तुलना हुन सक्दैन। उनी बेल्लमकाेंडा श्रीनिवास जस्ताे स्टार हाेइनन् जबकि बेल्लमकाेंडा श्रीनिवास तेलुगु फिल्मका स्टार हिराे हुन् र एक टप फिल्म प्राेडक्शन हाउसकाे मालिक हुन्। कहाँ तेलुगु फिल्मकाे स्टार हिराे बेल्लमकाेंडा श्रीनिवास, कहाँ टिभी स्टार करण ठाकेर। उनीहरुकाे कम्प्यारिजन नै हुन सक्दैन। तर जे हाेस्, करण यस सिरिजमा पुलिस अफिसरकाे राेलमा राम्राे देखिएका छन्। अमित लाेढाकाे रुपमा उनी सुहाएका छन्। उनकाे पर्फमेन्स पनि ठीक छ।

अविनाश तिवारी पनि एक टिभी+फिल्म एक्टर हुन्। करणले धेरै टिभी सिरियलहरुमा काम गरे तर फिल्ममा चान्स पाएनन् भने अविनाशले टिभी सिरियलहरुका साथै फिल्महरुमा पनि काम पाए। ‘खाकी-दि बिहार च्याप्टर’ मा प्रमुख भूमिका निभाउनु अघि उनले ‘तू है मेरा संडे’, ‘लैला मंजनु’, ‘घाेस्ट स्टाेरिज’, ‘बुलबुल’ र ‘द गर्ल अन द ट्रेन’ जस्ता फिल्महरुमा काम गरिसकेका थिए।

अविनाश तिवारी पनि चंदन महताेकाे राेलमा सही छन् र आफ्नाे भूमिका ठीकसँग निभाएका छन्। उनकाे अनुहारबाट एक गरिब-निमुखाकाे लाचारीपना र एक अपराधीकाे कुटिलता तथा धूर्तता दुवै चुहिएकाे देखिन्छ। तर हिंसाका दृष्यहरुमा भने उनी कमजाेर देखिएका छन्। उनी त्यति हिंस्रक लाग्दैनन् जति हिंस्रकपना उनकाे राेलले डिमान्ड गर्छ। व्यक्तिगत रुपमा मलाई यस्ताे लाग्याे।

चन्दन महताेकाे रुपमा अविनाश तिवारी

यस सिरिजमा करण (अमित लाेढा) र अविनाश (चन्दन महताे) दुवैकाे राेल बराबर राखिएकाे छ र दुवै पात्रका बीच सन्तुलन कायम गरिएकाे छ। दुवैले बराबर स्क्रीनस्पेश पाएका छन्। अनि, दुवैकाे चरित्रलाई राम्राेसँग लेखिएकाे र स्थापित गरिएकाे छ।

उनीहरुका अतिरिक्त अभिमन्यु सिहँ र आशुताेष राणाकाे भूमिका पनि उल्लेखनीय छ। अभिमन्यु सिहँले राम्राे स्काेप पाएका छन् यस वेबसिरिजमा। सधै भिलेनकाे राेलमा देखा पर्ने अभिमन्यु सिहँकाे यस वेबसिरिजमा साइडहिराेकाे राेल छ। एसपी अमित लाेढाकाे प्रमुख सहयाेगी सब-इंस्पेक्टर रँजन कुमारकाे राेलमा उनी देखिएका छन्। एसपी अमितजस्तै एक इमानदार र कर्तव्यनिष्ठ पुलिस अफिसरकाे भूमिकामा। यदि अमित यस सिरिजका हिराे हुन् भने उनी साइडहिराे। उनले आफ्नाे भूमिका राम्राेसँग निभाएका छन्। यसका साथै उनले यस वेबसिरिजमा सुत्रधारकाे काम पनि गरेका छन्।

रंजन कुमारकाे रुपमा अभिमन्यु सिहँ

अभिमन्यु सिहँपछि आशुताेष राणा पनि एक अवसरवादी पुलिस अफिसरकाे भूमिकामा जमेका छन्। सुरुमा एसएसपीकाे रुपमा प्रकट भएर डिआईजी हुँदै अन्तिमसम्ममा आईजीसमेत बन्न भ्याउँछ याे पात्रले। सकरात्मक-नकारात्मक दुवैखाले सेड्स पाइन्छ याे पात्रमा। तर धेरैजसाे अमितकाे असल उद्देश्यमा मदत नै गर्छन् उनी।

अब मेराे कुरालाई बिट मार्छु, यदि तपाईं फुर्सदमा हुनुहुन्छ भने याे वेबसिरिज एकपटक हेर्न सक्नुहुन्छ।

१५ दृष्यमा ‘फाेटाेग्राफ’:-

दृष्य १.

रफिक बार्दलीमा निस्कन्छ र लेख्न थाल्छ, ‘दादी, मैले यहाँ (एकजना) केटी भेटेकाे छु। उनीसँग भेट्दा मलाई यस्ताे लाग्याे कि तपाईंले नै उनलाई खाेजी-खाेजी (मेराे लागि) राेज्नुभएकाे हाे। (उनकाे) आँखामा दुनियाँभरिका प्रश्न र तिनका जवाफ (पनि छ)। मुस्कान यस्ताे कि सब दु:ख-पीडा, थकान उडाइदिने (दिन्छ)। अनि, उनकाे हाँसाे, हाम्राे खेतमा भएकाे पहिलाे बर्षाजस्तै (छ)। नाम पनि कति प्याराे छ……

टाढा कतै गीत बज्छ,

‘आ जा रे आ जा रे
ओ मेरे दिलबर आ जा
दिल की प्यास बुझा जा रे…

ओ…नूरी नूरी नूरी’

रफिक पत्रमा लेख्छ,

…उनकाे नाम हाे नूरी।’

दृष्य-२.

ट्याक्सी ड्राइभर साेध्छ:- ‘साहब के तपाईं र म्याडम एक्टर हाे? नाटककाे?’

‘हाे’। रफिक जवाफ दिन्छ।

‘र त म साेच्दै थिए कि उहाँ जस्ताे केटी तपाईँसँग…(कसरी?)

याे दृष्यले सुन्दरता सम्बन्धि सर्वसाधारणमा विधमान धारणालाई दर्शाउँछ। राम्री (गाेरी) केटीले नराम्राे (कालाे) केटासँग कसरी लभ गर्न सक्छ?

दृष्य:- ३.

रफिक र मिलाेनी

रफिककी दादी मिलाेनीलाई पाउजु दिन्छिन्। त्यसकाे अर्काे दृष्यमा, मिलाेनीकाे घरमा खाना पकाउने नाेकर्नीले पनि खुट्टामा पाउजु लगाएकी देखिन्छ। यसबाट ‘पाउजु गाउँका गरिब बासिन्दाहरुकाे घरका महिला वा बुहारीहरुले लगाउने चीज रहेछ’ भन्ने बाेध हुन्छ।

मिलाेनी त्याे साँझ नाेकर्नीलाई बाेलाएर गाउँकाे बारेमा साेध्छिन्। ‘गाउँमा उनकाे परिवारलाई के कस्ताे छ? गाउँमा उनीहरु के गर्छन्?’ यस्तै यस्तै साेध्छिन्। जब नाेकर्नीले गाउँकाे बारेमा सबै कुरा बताउँछिन् र ‘गाउँमा शान्ति छ’ भन्छिन्, तब उनी पनि एकदिन त्यसै उनकाे गाउँ हेर्न आउने कुरा गर्छिन्।

यस दृष्यले गाउँप्रति उनमा बढ्दै गइरहेको उत्सुकतालाई दर्शाउँछ। गाउँकाे बारेमा, गाउँकाे जनजीवनका बारेमा जान्ने उनकाे चाहनालाई दर्शाउँछ। याे पक्का छ, उनमा यस्ताे उत्सुकता वा चाहना रफिक र उनकाे दादीकाे कारण उत्पन्न भएकाे हाे। यसले रफिककाे परिवार-गाउँतर्फ उनकाे झुकाव बढ्दै गइरहेकाे कुरालाई इङ्गित गर्छ।

दृष्य:-४.

जब मिलानीलाई हेर्नका लागि केटाका अभिभावकहरु आउँछन् र केटालाई देखाउनका लागि मिलाेनीकाे फाेटाे माँग्छन्। तब मिलाेनीका आमाबाबुसँग उनकाे फाेटाे हुँदैन। उनीहरुले कहिल्यै मिलाेनीकाे फाेटाे खिँचेका वा खिँचाएका हुँदैनन्। [यसले मिलाेनीका आमाबाबुकाे आफ्नो छाेरीसँग घनिष्टता नभएकाे, मिलाेनी आफ्ना आमाबाबुुसँग निकट नभएकी, उनीहरुकाे सम्बन्ध टिपिकल आमाबाबु र छाेरीकाे जस्ताे (Bossy, आदेश दिने आमाबाबु र प्रश्न नगरि मान्ने छाेरीकाे जस्ताे) औपचारिक भएकाे सँकेत गर्छ।] तब मिलाेनी भन्छिन्, ‘म सँग एउटा फाेटाे छ। ‘गेटवे अफ इंडियामा खिँचाएकी हुँ। राम्राे फाेटाे छ। एकछिन पख्नुहाेस्, म ल्याउँछु।’

मिलाेनीलाई रफिकले खिँचेकाे आफ्नाे त्याे फाेटाे मनपर्छ। उनी रफिककी दादीलाई पनि भन्छिन्, ‘जब मैले त्याे फाेटाे हेरे, तब मलाई लाग्याे, याे केटी अरु नै काेही हाे। (उनी हाेइनन्।)’

‘किन (त्यस्ताे लाग्याे)?’ भनेर रफिककी दादीले साेध्दा उनी भन्छिन्, ‘त्याे (फाेटाेकी) केटी म भन्दा धेरै खुशी र म भन्दा धेरै सुन्दर देखिन्थिन्।’

मिलाेनीलाई आफू सुन्दर छु भन्ने लाग्दैन। तर उनलाई त्याे फाेटाेमा आफु सुन्दर लागिरहेकाे छ। उनी आफुलाई त्याे फाेटाेमा सुन्दर देखिरहेकी छन्। यसकाे अर्थ हाे, उनी आफुलाई रफिककाे नजरबाट हेरिरहेकी छन्। रफिककाे नजरमा उनी सुन्दर छिन्। फलत: उनी आफुलाई पनि सुन्दर देखिरहेकी छन्।

उनी भन्छिन्, ‘फाेटाेकी केटी म भन्दा खुशी देखिन्थिन्।’ उनलाई आफ्नाे अवस्था थाहा छ। उनलाई थाहा छ, उनी आफ्नो जीवनमा खुशी छैनन्। उनी आफ्नाे आमाबाबुसँग निकट छैनन्। आमाबाबुसँग उनकाे भेट डाइनिङ टेबुलमा मात्र हुन्छ। उनीहरुले साेधेकाे कुराकाे जवाफ दिनु बाहेक आमाबाबुसँग उनकाे अरु कुरा हुँदैन। उनीहरुसँग आफ्नाे मनकाे भावना वा समस्याहरु सेयर गर्दिनन् उनी। उनी घरदेखि कलेज जान्छिन्, कलेजदेखि घर फर्किन्छिन्। अर्थात्, उनकाे कुनै ‘प्रपर फ्रेन्ड’ छैन/देखिन्दैन जाे सँग मनकाे कुरा सेयर गर्न सकियाेस्। (घरमा उनकी एकजना नाेकर्नी छिन्। तर उनीसँग पनि अलिअलि मात्र बाेल्छिन् मिलाेनी। उनीसँग पनि आफ्नाे मनकाे कुरा खासै खाेल्दिनन् मिलाेनी।

अर्थात्, उनी लगभग एक्ली छन्। एक्लाेपनामा बाँचिरहेकी छन् उनी। एक्लाेपनामा पैदा हुने अवसादले उनलाई छाेपेकाे छ, सायद। त्यसैले उनी खुशी हुन सकिरहेकी छैनन्। तर फाेटाेमा भने उनी खुशी देखिइरहेकी छन्। (कम्तिमा उनलाई त्यस्ताे लाग्छ)। याे रफिककाे नजर हाे। रफिकले उनकाे फाेटाे खिचेकाे हाे। रफिक उनलाई खुशी देखिरहेकाे छ अथवा रफिक उनलाई खुशी भएकाे देख्छ। यतिबेला उनी रफिककै नजरले आफुलाई हेरिरहेकी हुन्छन्।

दृष्य:-५.

‘फाेटाेग्राफ’ काे पाेस्टर

केटी ‘काेला’ (काेकाकाेला) खाँदिनन्। (दादीसँगकाे भेटमा पनि उनकाे अगाडि ‘लिम्का’ देखिन्छ, रफिककाे अगाडि ‘काेला’।) रफिकले उनले ‘काेला’ नपिउनुकाे कारण साेध्दा उनी रफिकलाई ‘उनी सानाे छँदा उनलाई उनका दादाले ‘केम्पाकाेला’ खुवाउने गरेकाे तर पछि दादाकाे मृत्यु भएकाे साथै केम्पाकाेला पनि बन्न छाेडेकाेले काेला खान छाेडेकाे’ बताउँछिन्।

याे सुनेर रफिक केम्पाकाेला खाेज्न निस्कन्छ। केम्पाकाेलाकाे खाेजमा दर-ब-दर भाैतारिन्छ अनि अन्ततः उनकाे लागि केम्पाकाेला खाेजेरै छाड्छ। त्यतिमात्र हैन, रफिक आफ्नाे फाेटाेग्राफीकाे पेशा छाेडेर केम्पाकाेलाकाे सानाे फ्याक्ट्री खाेल्ने याेजना पनि बनाउँछ।

रफिकले किन त्यत्राे कष्ट उठाउँछ त? त्याे के चीज हाे जसले उसलाई याे सब कष्ट उठाउन उत्प्रेरित गर्छ? मेराे विचारमा त्याे प्रेम हाे। प्रेमबाहेक अरु कुनै पनि चीजले कसैलाई पनि त्यसाे गर्न उत्प्रेरित गर्दैन।

दृष्य:-६.

रफिकसँग भेटेपछि मिलाेनी ट्याक्सीमा घर फर्केिन्छिन्। ट्याक्सीमा माेहम्मद रफीकाे राेमान्टिक गीत बजिरहेको हुन्छ। मिलाेनी ड्राइभरलाई गीतकाे भाेल्युम बढाउन भन्छिन्। यसबाट उनकाे मनस्थिति बुझ्न सकिन्छ। उनकाे मनमा प्रेमपूर्ण भावनाहरु उर्लिरहेकाे सँकेत पाइन्छ।

दृष्य:-७.

रफिक मिलाेनीलाई लिएर सिँगल स्क्रीन थिएटरमा सिनेमा हेर्न जान्छ। पर्दामा माेहम्मद रफीकाे साेही गीत बजिरहेको हुन्छ, जुन गीत उनी ट्याक्सीबाट फर्किन्दा ट्याक्सीमा बजिरहेको थियाे। अचानक, मिलाेनीकाे खुट्टा माथिबाट केही चीज कुद्छ। मिलाेनी तर्सिन्छिन्। रफिक ‘मुसा हाेला, खुट्टाबाट सिधै निस्किन्छ मुसा’ भन्छ। मिलाेनी असहज मान्छिन्। कस्ताे-कस्ताे अनुहार बनाउँछिन्।

दृष्य:-८.

मिलाेनी, रफिककी दादीसँग गाेला (एक प्रकारकाे बरफ) खान्छिन्। रफिक उनलाई ‘गाेला नखानु’ भन्छ तर दादीले कर गरेपछि मिलाेनी गाेला खान्छिन्। अर्काेदिन मिलाेनीलाई उनकाे पितासँग अस्पतालमा डाक्टरसँग कन्सल्ट गरिरहेकाे देखिन्छ। उनकाे पिता भन्छन् कि हिजाे रातिदेखि उनलाई यस्ताे भएकाे हाे। स्ट्रिटमा गाेला खाइन्। उनले स्ट्रिटमा फूड खानु हुँदैन। उनकाे परीक्षा आउँदैछ। उनी अस्वस्थ्य भए उनकाे परीक्षामा असर पर्न सक्छ। परीक्षा बिग्रिन सक्छ।

‘फाेटाेग्राफ’ काे पाेस्टर

अर्काे दिन, मिलाेनी भेट्न नआएकाेमा रफिककी दादी चिन्ता व्यक्त गर्छिन्। रफिक भन्छ, ‘उनी गाेला खाएर बिरामी परिन्। तपाईँले जबर्जस्ती नखुवाउनु भएकाे भए बिरामी पर्दिनथिन्।’

दादी भन्छिन्, ‘अरे उनीमात्र कसरी बिरामी परिन्? गाेला त हामी सबैले खाएका थियाैं। हामी त बिरामी भएनाैं। कहाँबाट खाेजिस् हँ यतिसाह्राे नाजुक केटी जाे एउटै गाेला खाएर बिरामी हुन्छिन्।’ रफिककाे मित्र भन्छ परिवारले लाडप्यारले हुर्काएका हाेलान्। रफिक मियाँकाे प्रेमकाे गाेला आज नभए नि भाेलि त पचाएरै छाड्छिन्। मेरी पत्नी पनि यस्तै नाजुक थिइन्, तर पछि पचाइन्।’

यहाँनेर दादी साेचिरहेकी हुन्छिन् कि उनी र मिलाेनी एकै तप्काका हुन्। एकै वर्गका हुन् उनीहरु किनभने, रफिक र मिलाेनी दुवैले उनलाई ढाँटेका हुन्छन्। मिलाेनीले बरफ खाँदा बिरामी पर्नुले उनकाे वर्गलाई इङ्गित गर्छ। मिलाेनी सडकमा स्ट्रिट फूड खाने वर्गकी हाेइनन्। उनी रफिक वा उनकी दादीले जसरी स्ट्रिट फूड पचाउन सक्दिनन्। त्यस्ताे चीज खाँदा उनकाे शरीरले रिएक्ट गर्छ। त्यसैले उनी बिमार भइन्।

वास्तवमा, याे दृष्यले मिलाेनी र रफिककाे वर्गीय अन्तरलाई दर्शाउँछ। उनीहरु समाजकाे अलग-अलग तप्काका मानिसहरु हुन्। उनीहरु समाजकाे अलग-अलग वर्गबाट आउँछन्। मिलाेनी उच्च वर्गकी केटी हुन् भने रफिक निम्न वर्गकाे केटा। उनीहरुकाे वर्ग मिल्दैन। त्यसैले, उनीहरूकाे जीवनशैली, रहनसहन वा खानपान पनि मिल्दैन। उनीहरु दुई छुट्टाछुट्टै सँसारका प्राणीहरु हुन्। याे सत्यलाई फिल्मले पटकपटक विभिन्न दृष्यहरुबाट उजागर गरेकाे छ।

तर यसकाे अर्थ उनीहरुबीच मेल हुन सक्दैन भन्ने पनि हैन। रफिककाे मित्र भन्छन्, ‘मेल भएपछि अलग कुराकाे बानी पर्दै जान्छ। बानी पर्दै गएपछि पचाँउँदै जान्छिन्।’ मिलाेनीकाे फेमिली डाक्टर पनि बताउँछ, ‘कहिलेकाहीँ खाँदा यस्ताे हुन्छ। सधै स्ट्रिटफूड खाने गरे उनीभित्र राेग प्रतिरोधात्मक क्षमताकाे विकास हुन्छ। त्यसपछि यस्ताे समस्या आउदैन।’ अर्थात् अर्काे वर्गकाे जीवनपद्धतिसँग एकाकार हुन नसकिने भन्ने हुँदैन, एकाकार हुन सकिन्छ।

दृष्य:-९.

रफिक र मिलाेनी ट्याक्सीमा चढ्छन्। ट्याक्सी ड्राइभरले धेरै बकबक गर्दा रफिकले चुप बनाइदिन्छ। दुवैबीच विवाद हुन्छ, चालक आफू बनारस विश्वविद्यालयबाट इंलिश लिटरेचरमा एमए गरेकाे बताउँछ र भन्छ ‘काेही टैक्सी चलाता है, काेई लड़की घुमाता हैं।’ ऊ रफिकप्रति ईर्ष्या प्रकट गर्छ।

दृष्य:-१०.

दृष्य-९, ट्याक्सीमा रफिक र मिलाेनी

समुन्द्र किनारमा रफिकसँग अँगालेर फाेटाे खिचिरहेकी मिलाेनीलाई उनकी नाेकर्नीले देख्छे। अर्काे दृष्यमा मिलाेनी खानाकाे मेचमा बसिरहेकी हुन्छन्। क्यामेरा उनकाे खुट्टामा फाेकस्ड हुन्छ। मिलाेनी खुट्टा हल्लाइरहेकी वा उनकाे खुट्टा कामिरहेकाे देखिन्छ। यसले नाेकर्नीले परिवारका सदस्यहरुलाई कुरा सुनाइदेलान् कि भन्ने उनकाे डरलाई दर्शाउँछ।

दृष्य:-११.

मिलाेनी आफ्ना बुवाआमाकाे आज्ञा अनुसार ‘उनीहरुले भेट्नु’ भनेकाे केटालाई भेट्न जान्छिन्। कुरा गर्ने क्रममा केटाले तिमीलाई कहाँ बस्न मनलाग्छ भन्दा मिलाेनी ‘गाउँमा’ भन्छिन्। ‘गाउँमा के गर्छाै?’ भनेर साेध्दा मिलाेनी भन्छिन्, ‘बिहान खेती गर्छु, दिउँसो रुखकाे छायाँमा सुत्छु।’ यसले मिलाेनीमा उत्पन्न भएकाे गाउँप्रतिकाे माेहलाई देखाउँछ जसले पराेक्ष रुपमा रफिक र उनकी दादीप्रतिकाे माेहलाई सँकेत गर्छ।

मिलाेनी र रफिककाे चरित्रमा सान्या र नवाज़ुद्दिन

त्यही अर्काेपट्टि कसैकाे बर्थडे सेलिब्रेसन चलिरहेको हुन्छ। मिलाेनीलाई रफिककाे दादीकाे बर्थडे याद आउँछ। अर्काेदिन ट्याक्सीमा मिलाेनी रफिकलाई दादीकाे बर्थडे पार्टीबारे साेध्छ। रफिक ‘राम्रै भयाे’ भन्छ। त्यसपछि, अर्काे दृष्यमा मिलाेनीकाे आमाबाबुकाे कुरा सुनेर थाहा हुन्छ, मिलाेनीले त्याे केटालाई रिजेक्ट गरिदिइन्।

दृष्य:-१२.

बाटाेमा भेटिएकाे मिलाेनीकाे कलेजकाे शिक्षक उनलाई कफी पिउन क्याफे जानका लागि कर गर्छ। मिलाेनी मानिरहेकै हुँदिनन्, ऊ ‘तिम्राे फाेटाे अझै म सँग छ’ भनेर ब्ल्याकमेल गर्छ। तर पनि मिलाेनी मानिरहेका हुँदिनन्।

त्यहीबेला रफिक आउँछ, रफिकले ‘म्याडम सब ठीक छ?’ भन्छ। टिचरले रफिकलाई ‘सब ठीक छ। तिमी जाऊ न’ भन्छ तर मिलाेनी ‘मलाई जानु छ’ भनेर ट्याक्सीमा पस्छिन्। टिचर उनकाे हात समाउँदै उनलाई राेक्न खाेज्छ। तर मिलाेनी रुक्दिनन्।

याे देखेर रफिक अपसेट हुन्छ। ‘त्याे तपाईंकाे टिचर थियाे? साेधेर हात समाउनुपर्थ्याे। मन त लाग्याे कि बाहिर निस्केर (त्यसकाे पिटिदिऊ) तर केही गर्न सकिन।’

रफिककाे याे लाचारीमा पनि उनकाे मिलाेनीप्रतिकाे प्रेम झल्किन्छ। आफुले मनपराएकाे केटीलाई कसैले दुर्व्यवहार गरेकाे देख्दा रिस उठ्नु, त्यसलाई ‘कुच्याउन’ मन लाग्नु…याे पनि त प्रेम (काे अभिव्यक्ति) नै हाे।

रफिक र मिलाेनी बसमा

दृष्य:-१३.

रफिक मिलाेनीलाई आफ्नाे डेरामा लिएर आउँछ र उनकाे लागि खानेकुरा (पकाैडा) लिन जान्छ। भित्र काेठामा मिलाेनी रफिककाे फेसक्रिम देख्छिन्। मिलाेनीसँग भेटेदेखि रफिक सुन्दर देखिन फेसक्रिम लाउन थालेका हुन्छन्। किनभने, मिलाेनी गाेरी छिन्। रफिक कालाे। रफिकलाई पनि मिलाेनीजस्तै सुन्दर देखिनु छ। मिलाेनीसँग सुहाउँदाे (गाेराे) देखिनुछ, त्यसकाे लागि उपाय भनेकाे बजारले उपलब्ध गराएकाे फेसक्रिम बाहेक अरु छैन।

मिलाेनी रफिककाे डसनामुनि आफ्नाे धेरै तस्वीरहरु पनि भेट्छिन्। यसबाट उनले ‘रफिक मलाई मन पराउँछ’ भन्ने कुरा स्पष्टसँग थाहा पाउँछिन्। मिलाेनी अब साेचमा पर्छिन्। रफिक पनि साेचिरहेकै हुन्छ।

दृष्य:-१४.

रफिककी दादीले ‘मिलाेनी आफ्नाे धर्मकी केटी हाेइनन्, र उनकाे नाम पनि नूरी हैन’ भन्ने कुरा थाहा पाउँछिन् तर पनि नातिकाे खुशीकाे लागि उनलाई माफ गरिदिन्छिन्। भन्छिन्, ‘मैले हाेर्डिङ बाेर्डमा नूरीकाे फाेटाे देखेकी थिए, अर्कोदिन त्यहाँ हाेमलाेनकाे पाेस्टर थियाे। पति, पत्नी र दुईजना बच्चा।’ हाेम लाेनले मानिसहरुलाई घर बनाउन सहुलियतमा ऋण प्रदान गर्छ। त्यसरी नै उनी पनि आफ्नाे नातिले मिलाेनीसँग घर बसाउन् भनेर नातिलाई त्याे अवसर प्रदान गर्छिन्। उनी नातिलाई उनकाे पुर्ख्याैली घर निखन्ने जिम्मेवारीबाट मुक्त गरिदिन्छिन्। भन्छिन्, ‘किन याे बाेझ बाेकेर रातदिन पिसिरहन्छाै? छाेड याे बकवास। त्यत्रा दु:खकाे दिनहरु त मैले काटे। तिमीहरु तीनजनालाई मैले एक्लै पाले। त्यसबेला तिमी राेइमात्र रहन्थ्याै, कहिल्यै हाँसेनाै। फेरि किन त्याे समयलाई छात्तीमा मेडल बनाएर टाँसेर सजाउन चाहन्छौ? बिर्सिदेऊ त्याे समयलाई, त्याे घरलाई, ती मानिसहरुलाई। (नयाँ सुरुवात गर। मेराे अतीत तिम्राे नयाँ जीवनकाे सुरुवातमा बाधा बन्नुहुन्न।)’ याे एउटा आमाकाे मन हाे। सायद यति उदारता एउटी आमा/हजुरआमाले मात्र देखाउन सक्छिन्।

दृष्य-१५:-

मिलाेनी र रफिक सिनेमाहलमा भेट्छन्। उनीहरु फेरि सिनेमा हेर्न बस्छन्। सिनेमा हेर्दै गर्दा फेरि एकपटक मुसा मिलाेनीकाे खुट्टामाथिबाट कुद्छ। फेरि मिलाेनी असहज मान्छिन् र बाहिर निस्कन्छिन्। रफिक पनि उनकाे पछिपछि बाहिर निस्कन्छ। रफिक देख्छ कि मिलाेनी बाहिर बसिरहेकी हुन्छन्। रफिक उनकाे नजिकै गएर साेध्छ, ‘तपाईंलाई ठीक छ?’

मिलाेनी भन्छिन्, ‘म यही ठीक छु।’

रफिक भन्छ, ‘यहाँ समाेसा धेरै मीठाे पाइन्छ।’

मिलाेनी भन्छिन्, ‘तपाईंकाे फिल्म मिस भइरहेकाे छ।’

रफिक भन्छ, ‘बाँकीकाे कथा त मलाई थाहा छ।’

मिलाेनी साेध्छिन्, ‘पहिले हेर्नुभएकाे हाे तपाईंले?’

रफिक भन्छ, ‘हैन।…याे गीतपछि केटाकेटीबीच प्रेम हुन्छ। त्यसपछि, आमाबाबुले आपत्ति जनाउँछन्। किनभने, केटा माेटर मेकानिक हुन्छ त्यसैले, सबै फिल्मकाे कथा उस्तै त हुन्छ।

मिलाेनी भन्छिन्, ‘(त्यसाे भए) जाऔं’?’

रफिक भन्छ, ‘जाऔं।’

यसपछि दुवैजना निस्कन्छन्।

‘दृष्य-१५’, सिनेमाहल बाहिर रफिक र मिलाेनी

यसरी फिल्मकाे कथा अधुराेमै टुङ्गिन्छ। अपूराे मै टुङ्गिन्छ। त्याे पर्दामा चलिरहेको फिल्मकाे कथा पनि रफिककाे कथा जस्तै छ। केटाकेटी बीच प्रेम हुन्छ, अनि आमा-बाबुले आपत्ति गर्छन्, केटा मेकानिककाे साटाे फाेटाेग्राफर हाे, फरक यति। तर अन्त्यकाे दृष्य हेर्दा कतै सँगति नमिलेझै लाग्छ।

खुट्टामा मुसा कुद्दा मिलाेनी सिनेमाहलबाट उठेर आउनुले उनी अझै पनि रफिककाे माहाैलमा अभ्यस्त भइनसकेकाे वा त्याे माहाैलदेखि टाढा रहन खाेजेकाे जस्ताे देखाउँछ। अन्यथा, रफिक र उसकाे परिवारप्रति उनकाे चासाे त फिल्मभरि नै देखिन्छ। आफुले चिन्दै नचिनेकाे व्यक्ति रफिकले उनलाई उसकाे दादीकाे सामु उसकाे नक्कली प्रेमिका बनिदिनुभन्दा पनि उनी तयार हुन्छिन्। आजकाे जमानामा कुन चाँहि उच्च घरानाकी केटीले कुनै अपरिचितकाे यस्ताे अजीबाेगरिब प्रस्ताव मान्लिन् र?) उनी रफिकले भनेकाे प्राय: सबै कुरा मान्छिन्। रफिक र उनकी दादीलाई पटकपटक, निरन्तर भेटिरहन्छिन्, रफिककाे साथमा डुलिरहन्छिन्।

यदि मिलाेनीलाई सुक्ष्म नजरले नियाल्ने हाे भने मिलाेनी एकाँकीपनाकाे सिकार भएकाे देखिन्छिन्। उनी रफिकसँग प्रेम गर्छिन् वा गर्दिनन् स्पष्ट छैन। तर रफिकलाई आफ्नाे एक्लाेपनाबाट बच्ने साथी बनाइरहेकी चै स्पष्ट छ। किनभने, फिल्ममा मिलाेनीकाे कुनै साथी देखिन्दैनन्, जाे सँग उनी इंटररिएक्शन गर्न सकुन्।

आमाबाबुसँग उनकाे फर्मल कुराबाहेक अरु कुरा नै हुँदैन। अर्थात्, आमाबाबुकाे घनिष्टताबाट उनी टाढा छिन्। एउटी नाेकर्नीमात्र छिन् उनीसँग बाेल्ने। तर उनीसँग पनि आफ्नाे कुरा खासै सेयर गर्दिनन् उनी। उनमा एक्लाेपना र पढाईकाे दबाव छ। यस्ताेमा रफिक र उनकी दादीकाे रुपमा उनी समय बिताउने र मन भुलाउने बहाना पाउँछिन्। आफ्नाे एक्लाेपनाकाे उपचार पाउँछिन्।

मिलाेनीकाे चरित्रमा सान्या मलहाेत्रा

रफिक उनीभन्दा तल्लाे वर्गकाे (गरिब) व्यक्ति हाे जसकाे जरा गाउँसँग जाेडिएकाे छ। ऊ फरक परिवेशबाट आएकाे हाे जुन परिवेशसँग मिलाेनी परिचित छैनन्। त्यसैले, उनी गाउँ वा गाउँलेहरुबारे आफ्नाे नाेकर्नीबाट जान्न खाेज्छिन्। एउटा दृष्यमा एउटा केटालाई ‘गाउँमा बस्छु, खेती गर्छु’ भन्ने मिलाेनीकाे भनाईले उनी एकाँकी-एक्लाे सहरकाे आफ्नाे जीवनबाट दिक्क भएकाे र गाउँकाे सुन्दर कल्पना गर्ने गरेकाे देखिन्छ।

मिलाेनी रफिकसँग समुन्द्रीकिनार, हाेटल, सिनेमाहल र उसकाे घर/डेरामा पनि जान्छिन्। तर कतै पनि उनलाई लगाव वा आत्मीयता भएकाे दर्शकहरुलाई महसुस हुँदैन। सिनेमाहलमा पनि मुसा खुट्टमाथि कुदेपछि उनलाई असहज भएकाे र पछिसम्मै उनी सहज हुन नसकेकाे देखाइन्छ। त्यसकाे अर्थ हाे रफिककाे सँसारमा उनी सहज छैनन्।

उनी रफिकसँग नजिक छिन्। सधै रफिकलाई भेट्न आउँछिन् र रफिक साथ दिन्छिन्। उनी प्रेमपूर्ण गीत पनि सुन्छिन्। गाउँप्रति आशक्ति पनि देखाउँछिन्, यसले उनी पनि रफिकलाई प्रेम गर्छिन् कि जस्ताे पनि लाग्छ, तर अन्त्यमा जसरी उनी सिनेमाहलबाट बाहिरिन्छिन्, त्यसले उनी अझै पनि रफिककाे सँसारमा आउन तयार भइनसकेको देखाउँछ। सायद उनी दुविधामा छिन्, रफिकसँग एक हाेऊ कि नहाेऊ भन्ने दाेधारमा छिन् उनी।

रफिकले भने मिलाेनीलाई मन पराउने कुरा विभिन्न प्रसङ्गले प्रष्टाउँछन्। तर ऊ मिलाेनीलाई याे कुरा भन्न सकिरहेकाे हुँदैन।(यहाँसम्म कि मिलाेनीकाे लागि भनेर त्यत्राे कष्ट गरेर खाेजेर ल्याएकाे केम्पाकाेला पनि ऊ मिलाेनीलाई दिन सक्दैन।) किन सकिरहेकाे हुदैन? याे कुरा स्पष्ट छैन। मिलाेनी र उनीबीचकाे अमिल्दाे वर्गकाे कारण उनले भन्न नसकेकाे हाे कि? (तर याे कुराकाे सँकेत त फिल्ममा कतै पनि पाईन्दैन।) बा रफिक आफु लजालु भएकाे कारणले मिलाेनीलाई भन्न नसकेकाे हाे कि? तर रफिक उनलाई पटकपटक भेट्न बाेलाउन सक्ने, सिनेमाघर र आफ्नाे घर/डेरामा लिएर आउन सक्ने तर त्यति कुरा बताउन नसक्ने भन्ने त हुँदैन।

‘फाेटाेग्राफ’ काे पाेस्टर

यसप्रकार याे फिल्मकाे कथा नै एकदमै अमूर्त छ। उसै पनि यसकाे कथा अविश्वसनीय छ। (आफुले चिन्दै नचिनेकाे व्यक्तिले कुनै युवतीलाई उसकाे दादीकाे सामु उसकाे नक्कली प्रेमिका बनिदिनुभन्दा कुन चाँहि केटी राजी हाेलिन् र आजकाे जमानामा?) तर ट्रिटमेन्ट भने ‘रियलिस्टिक’ प्रदान गरेका छन् निर्दैशक रितेश बत्राले। यसका पात्रहरु पनि अमूर्त लाग्छन्, खुल्दै नखुल्ने वा अति कम खुल्ने। अस्पष्ट। मिलाेनी र रफिक दुवै सायद अन्याेलग्रस्त छन्। के गर्ने, कसाे गर्ने? निर्णय गर्न सकिरहेका छैनन्।

निर्दैशक रितेश बत्राले यसमा दुई अलग पृष्ठभूमिका पात्रहरु (केटा र केटीलाई) सँगै उभ्याएका छन्, तर एकाकार गराएका छैनन्। अर्थात्, कुनै ह्याप्पी एंडिङ गराएका छैनन्। के दुवै एक हाेलान् त? के गरिब केटा र धनी केटीकाे मिलन सम्भव हाेला? फिल्मले यसबारे केही पनि भन्दैन। याे फैसला गर्ने जिम्मा फिल्मले दर्शकहरुलाई नै छाेडिदिएकाे छ। याे भनेकाे ओपेन एंडिङ हाे। प्रेमस्रेम थाहा छैन। अहिलेलाई उनीहरु अझै एकअर्काकाे साथलाई निरन्तरता चाँहि दिने भएका छन्। सायद एकअर्कालाई थप परख गर्न चाहन्छन् वा अब के गर्ने भन्ने कुरा नै उनीहरुलाई थाहा छैन। यसकाे एन्डिङले यही देखाउँछ। उनीहरुकाे यात्राकाे गन्तव्य के हाेला? फिल्मले त्याे भन्दैन, दर्शकहरु आफैले त्याे परिकल्पना गर्नुपर्छ। अमूर्त फिल्म (Abstract Film) काे याे एउटा उपयुक्त उदाहरण हाे। यसमा मिलाेनीकाे गुमशुम, एकाँकी चरित्रकाे चित्रण भने धेरै हदसम्म सटिक लाग्छ। एब्सट्रयाक फिल्म रुचाउने दर्शकहरुलाई याे फिल्म मन पर्न सक्छ।

दाङ १ (क) मा माओवादी केन्द्रका इन्द्रजित थारू निर्वाचित

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

दाङ १ (क) बाट माओवादी केन्द्रका नेता थारू १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । थारूले १३ हजार ५ सय ५ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गर्नुभयो ।

यस अघि नेकपा एमालेसँग तालमेल गरेर चुनाव जित्नुभएका थारू यसपालि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको हाे ।

नेता थारूले २०६३ मा अन्तरिम विधायिका हुँदै २०६४ मा पहिलो संविधान सभा सदस्यमा नेपाली कांग्रेसका खुमबहादुर खड्कालाई पराजित गर्नुभएको थियो ।