प्रभात बस्याल प्रकरण र ‘दहाड़’ काे त्याे खास प्रसङ्ग

प्रसङ्ग-१:-

भर्खरै नेपालकाे बाग्लुङ, बेनीतिरकाे एउटा घटना प्रकाशमा आएकाे छ। २३ बर्षिय केटा प्रभात बस्याल (दलित) र २२ बर्षिया केटी प्रीति घिमिरे (बाहुनी) २ बर्षसम्म ‘लिभिङ टुगेदर’ मा रहेछन्। त्यसपछि केटीले नै ‘मेराे अभिभावक/परिवारले हाम्राे सम्बन्धलाई स्वीकार्दैन, त्यसैले भागेर बिहे गराैं’ भनिछन्। अनि, उनीहरु भागेर भारत गएछन्। २ महिना भारतमा बसेपछि केटीकाे अभिभावकहरुले उनीहरुलाई फकाउँदै ‘तिमीहरु घर फर्केि आऊ, हामी तिमीहरुलाई अपनाउँछाै, तिमीहरुलाई छुट्याउदैनाैं’ भनेर बाेलाएछन्। यति आश्वासन पाएपछि उनीहरु पनि घर फर्केर आएछन्।

तर उनीहरु घर फर्केर आएपछि केटीकाे परिवारले उनीहरुलाई छुट्याएर, केटीमाथि दबाव दिई, उक्त दलित केटामाथि अपहरण र बलात्कारकाे मुद्दा लगाएछ। पुलिसले केटालाई अमानवीय तरिकाले हथकडी लगाएर, केटाकाे मुन्टाे बटार्दै र घाेक्रेठ्याक लगाउँदै जेल लगेछ। केटा बेनीकाे जेलमा रहेछ अहिले। बिरामी भएकाे कारण उसलाई अस्पताल लगिएकाे रहेछ। अस्पतालमा पनि हथकडी लगाएरै उसलाई लगिएकाे रहेछ मानाै ऊ कुनै माेस्ट वान्टेड खुंखार हत्यारा वा अपराधी हाे।

अहिले उसकाे न्यायकाे लागि आवाज उठिरहेको रहेछ। केटा बाइकर भएकाेले उसकाे पेशासँग सम्बन्धित मान्छेहरुले उसकाे न्यायकाे पक्षमा आवाज उठाइरहेका रहेछन्। ठाउँ-ठाउँमा प्रदर्शनहरु गरिरहेका रहेछन्। टिकटक र युट्युबमा त याे प्रकरण चर्चित भइरहेको रहेछ। तर छापा वा अनलाइनहरुमा भने यसबारे कुनै पनि न्युज प्रकाशित भएकाे मैले अहिलेसम्म देखिन।

प्रसङ्ग-२:-

‘दहाड़’ नामक एउटा वेबसिरिज करिब महिनादिन अगाडिदेखि अमेजन प्राइम भिडियाेमा स्ट्रिम भइरहेको छ। यस सिरिजमा एउटा प्रसङ्ग छ। जात र धर्म फरक-फरक भएका एक जाेडी केटा र केटी, स्पष्ट भन्नुपर्दा हिन्दु केटी र मुस्लिम केटा आपसमा प्रेम गर्छन्। उनीहरु घरदेखि भागेर काेर्ट म्यारिजकाे लागि निवेदन दिन्छन्। तर केटीकाे पिता/परिवारले कुनै हिन्दुवादी सँगठनकाे नेता-कार्यकर्ताहरुकाे मदतले दुवैलाई समात्छन्। अनि केटालाई कालाे माेसाे दलेर पुलिसकहाँ लगेर बुझाउँछन्। उनीहरु पुलिस थानाकाे SHO लाई केटालाई केटीकाे अपहरण गरेकाे आराेप लगाई केस रजिस्टर गर्न दबाव दिन्छन्। उनीहरू केटीलाई घरमा थुनेर, केटीलाई धम्काएर-तर्साएर, केटीलाई दबाव दिई केटाकाे विरुद्ध बयान दिन लगाउँछन् र केटाका विरुद्ध बलियाे केस खडा गर्छन्।

अहिले प्रभात बस्याल र प्रिति घिमिरेकाे प्रकरणले मलाई एक महिना अगडि ‘दहाड़’ मा हेरेकाे उल्लेखित प्रसङ्गकाे सम्झना दिलायाे। यी दुवै प्रसङ्ग समान छन्। दुवै उस्तै लाग्छन्। फरक यतिमात्र हाे कि ‘दहाड़’ काे उक्त प्रसङ्गमा धर्म (हिन्दु-मुस्लिम) फ्याक्टर उनीहरुलाई छुट्याउन खाेज्नुकाे प्रमुख कारण थियाे भने यहाँ जात (बाहुनी र दलित) फ्याक्टर उनीहरुलाई छुट्याउन खाेज्नुकाे प्रमुख कारणकाे रुपमा देखापरेकाे छ।

बाँकी दुवै घटनाकाे चरित्र, प्रवृत्ति र अन्तरवस्तु उस्तै छ। दुवै घटनामा केटीकाे अभिभावकहरुकाे मानसिकता र नियत उस्तै छ। दुवै घटनामा पीडित युवकले खेप्नुपरेकाे ह्यारेसमेन्ट, यातना र त्रासकाे प्रकृति उस्तै छ। बरु सिरिजकाे केटा पात्रले कम ह्यारेसमेन्ट खपेका थिए। उसलाई केवल कालाेमाेसाे दलेर पुलिसलाई सुम्पिइएकाे थियाे र ऊ माथि केवल अपहरणकाे आराेप लगाइएको थियाे। तर यहाँ प्रभात बस्यालमाथि अपहरणमात्र हैन, बलात्कार समेतकाे केस ठाेकियाे। उसलाई हथकडी लगाइयाे, उसकाे मुन्टाेलाई बटार्दै र घाेक्रेठ्याक लगाउदै उसलाई जेल लगियाे। यसप्रकार, यस सिरिजकाे अनुमानित पात्रले भन्दा हाम्राे समाजकाे वास्तविक पात्र प्रभात बस्यालले राज्यसँयन्त्र वा पुलिसहरुबाट बढी ह्यारेसमेन्ट खप्नुपर्‍याे।

अब यसलाई ‘जाेया अख़्तर र रीमा कागतीले नरम भएर सिन लेखेका हुन्’ भन्ने कि ‘हाम्रा पुलिसकर्मीहरु भारतका फिल्ममेकरहरुले साेचेभन्दा बढी क्रूर भए’ भन्ने? सामान्यतया फिल्महरुमा कुनै पनि कुरा वा घटनालाई बढाइचढाइ गरेर प्रस्तुत गरिन्छ, फिल्महरुमा कुनै पनि कुरालाई exaggerate गरेर (तिललाई पहाड बनाएर) देखाइन्छ तर यहाँ त फिल्ममा देखाइएभन्दा बढी क्रूरता हाम्रा पुलिसकर्मीहरुले वास्तविक जीवनमा देखाए। फिल्ममेकरहरुले ‘यस्ताे केसमा पुलिसकाे तर्फबाट देखिन सक्ने क्रूरताकाे अधिकतम सीमा यति हाे’ भनेर साेचेकाे सीमाभन्दा बढी क्रूरता हाम्रा पुलिसकर्मीहरुले देखाए भनेपछि हाम्रा पुलिसकर्मीहरु worst हुन्। हाम्रा पुलिसकर्मीहरु गएगुज्रेका हुन् भन्न कति पनि हिच्किचाउनुपर्दैन।

यस्ता केसहरुमा पुलिसकर्मीहरु आराेपीप्रति कसरी पेश आउनुपर्छ, आराेपीमाथि कस्ताे व्यवहार गर्नुपर्छ, पुलिसकर्मीहरुले यस्ता केसहरुलाई कसरी handle गर्नुपर्छ भन्ने कुरा ‘दहाड़’ मा जाेया अख़्तर र रीमा कागतीले राम्राेसँग देखाएका छन्। के उनीहरुले देखाएजस्तै हाम्रा पुलिसकर्मीहरुले पनि यस्ता केसहरुलाई उच्चतम संवेदनशीलता अपनाएर ह्याण्डल गर्छन् भन्ने अपेक्षा हामी गर्न सक्छाैं? यस मामिलामा जाेया अख़्तर र रीमा कागतीले कुनै उच्च वा आदर्श अपेक्षा राखेका छैनन्। उनीहरुले जे देखाएका छन्, त्याे down to Earth नै छ। त्याे over the top छैन।

‘दहाड़’ काे उक्त खास प्रसङ्गलाई लक्षित गर्दै यही Movie Lovers group मा एकजना व्यक्तिले याे सिरिजमा उक्त अन्तर्जातिय-अन्तरधार्मिक प्रेम र बिहेकाे प्रसङ्ग अनावश्यक रुपमा घुसाएकाे, उक्त प्रसङ्ग सिरिजकाे मेनस्टाेरीसँग नजाेडिने, यसले मेनस्टाेरीसँग कुनै सराेकार नराख्ने, याे केवल प्राेपागण्डा गरिएकाे र हिन्दु परिवारलाई ब्याड लाइटमा देखाइएकाे भन्दै निन्दा गरेका थिए। तर अहिले प्रभात बस्याल-प्रीति घिमिरे प्रकरणले देखायाे नि त्याे प्रसङ्ग कति सत्य रहेछ, कति समसामयिक रहेछ भनेर। नढाँटि भन्नुपर्दा जब मैले प्रभात बस्याल प्रकरणबारे सुने, तब मलाई झल्यास्स ‘दहाड’ काे सम्झना भयाे अनि मनमनै भने, ‘जाेया अख़्तर र रीमा कागती त कति दुरदर्शी रहेछन्, यस्ताे परसम्मकाे सत्यलाई देखे।’

साँच्चै भन्ने हाे भने जाेया अख़्तर र रीमा कागतीले ‘दहाड़’ मा देखाएकाे त्याे कुरा, ‘दहाड़’ मा लेखेकाे त्याे सिन उक्त व्यक्तिले भनेझै कुनै प्राेपागण्डा थिएन। बरु समसामयिक यथार्थदेखि प्रेरित थियाे। त्याे वर्तमान समयकाे सत्य थियाे। अहिलेकाे समयकाे, समसामयिक परिप्रेक्ष्यकाे सत्य थियाे त्याे। यस्ता घटना नेपालमा घटेकाे नदेखेर वा थाहा नपाएर उसलाई त्याे प्रसङ्ग प्राेपागण्डा लगेकाे हुन सक्छ। तर भारतमा त त्याे आम बात हाे। यहाँ त्यस्ता घटनाहरु राेजका कुरा हुन् जाे दिनानुदिन कहिले कता त कहिले कता घटि नै रहन्छन्।

अनि, ‘दहाड़’ एक हिन्दी सिरिज हाे। याे भारतकाे कथा हाे, नेपालकाे हैन। तर यसकाे सान्दर्भिकता यति हदसम्म फैलिएकाे छ कि हाम्राे परिप्रेक्ष्यमा पनि त्याे सत्य लाग्छ, सान्दर्भिक लाग्छ। हाम्रै समसामयिक यथार्थ लाग्छ। त्यसकाे कारण याे हाे कि भारत र नेपालकाे समाज दुवै चारित्रिक रुपमा उस्तै हुन्, एकै हुन्। दुवैकाे समाजविकास (evolution) काे इतिहास एकै हाे। दुवै एउटै आमाका दुई सन्तान जस्तै हुन्। दुवै समाजकाे पितृसत्ता र जातिवाद उस्तै हाे। दुवैतिरका मानिसहरुकाे पितृसत्तात्मक र जातिवादी मानसिकता उस्तै हाे। दुवै समाजकाे सामाजिक र मानसिक/वैचारिक सँरचना उस्तै हाे।

भारतमा यस्ता जातिय-धार्मिक प्रताडनाका घटनाहरु दिनहुँ घटिरहेका छन्। भारतमा हिन्दुवादीहरुले हिन्दु केटा र मुस्लिम केटीकाे प्रेमसम्बन्धलाई ‘लव जिहाद’ काे नाम दिएका छन् र त्यसलाई आफ्नाे सभ्यताकाे सबैभन्दा ठूलाे कलंक ठहर्‍याएका छन्। साेही विचारधाराबाट निर्दैशित भएर उनीहरु हिन्दु केटीहरुलाई भगाएर बिहे गर्ने मुस्लिम केटाहरुमाथि लव-जिहादकाे नाममा कहर बर्साइरहेका छन्। तिनीहरुमाथि अमानवीय व्यवहार गरिरहेका छन्। त्यसैले जाेया अख़्तर र रीमा कागतीले समाजबाटै याे कुरालाई टिपेर आफ्नाे यस सिरिजमा उनेका हुन्। याे कुनै कपाेलकल्पना हैन। उनीहरुले क्यामेरामा खिचेका पात्रहरुले यथार्थसँग सादृश्य राख्छन् भलै तिनीहरु कलाकारहरु हुन्, र त्याे फिल्मकाे लागि शूट गरिएकाे सिन हाे। त्याे फिक्शन हाे र त्यसमा भएका कलाकारहरुले त्यसलाई enact मात्र गरेका हुन्। तर त्याे यथार्थसँग सम्बन्धित छ। त्याे यथार्थकाे प्रतिबिम्बन हाे। हाम्राे समाजकाे सत्य हाे त्याे। त्यस्ता घटनाहरु दिनहुँ घटिरहेका छन्। जसलाई हामी दिनहुँ देखिरहेका छाैं, पढिरहेका छाैं। ती घटनाहरु हाम्रा आँखा र चेतनाकाे सामुन्नेबाट दिनहुँ गुज्रिरहेका छन्।

‘दहाड़’ काे त्याे केटी पात्रले आफुलाई युज गरेर आफ्नाे पिता/परिवारले आफ्नाे प्रेमीमाथि गरेकाे अन्यायकाे प्रतिराेध गर्छिन्। आफ्नाे पिता/परिवारका विरुद्ध विद्राेह गर्छिन्। उनी दबावका सारा बन्धनहरुलाई छिनालेर, थुनाबाट उम्केर आफ्नाे प्रेमीसँग मिल्न पुग्छिन्। उनी आफ्नाे पिता र परिवारकाे दबाव र प्रभावलाई ओभरटेक गरेर आफ्नाे प्रेमीलाई साथ दिन्छिन् र काेर्टमा गएर काेर्टम्यारिज गर्छिन्। उनीहरु काेर्टमा जजसामु उपस्थित भइ सुरक्षाकाे माँग पनि गर्छन्। अनि जज फैसला सुनाउँदै पुलिसलाई उनीहरुकाे लागि सुरक्षाकाे बन्दाेबस्त गर्न आदेश दिन्छ।

यस अर्थमा याे सिरिज प्रगतिशील छ। यसमा जाेया अख़्तर र रीमा कागतीले न केवल समाज र सामाजिक जीवनकाे सत्यलाई देखाएका छन् अपितु त्यसकाे सुखद् अन्त्य पनि गराएका छन्। उनीहरुले न केवल उत्पीडनलाई देखाएका छन् अपितु उत्पीडनमा परेका पात्रहरुले उत्पीडनकाे प्रतिराेध गरेकाे पनि देखाएका छन्। उत्पीडितहरुले प्रतिराेध गरेर जितेकाे देखाएका छन्। उत्पीडितहरुले जितेकाे देखाउनु भविष्यप्रति आशा प्रकट गर्नु हाे। याे भविष्यप्रति आशावाद हाे, भविष्यदृष्टि हाे, उत्पीडितहरुले जित्छ वा जिताेस् भन्नु हाे। याे उनीहरुकाे उत्पीडितहरुप्रतिकाे प्रष्ट पक्षधरता हाे। उत्पीडितहरुकाे प्रतिराेधले जित्ने उनीहरुकाे सुन्दर विश्वासकाे अभिव्यक्ति हाे। यसरी उनीहरुले गरिब-कमजाेर सर्वसाधारणमाथि हुने उत्पीडन र त्यसकाे प्रतिराेधलाई देखाएका छन् अनि उत्पीडितहरुकाे स्पष्ट पक्षधरता लिएका छन्। राम्राे, प्रगतिशील, समाजप्रति प्रतिबद्ध फिल्ममेकरहरुले गर्ने भनेकाे यही हाे। याे उनीहरु असल र उत्कृष्ट फिल्ममेकर हुनुकाे प्रमाण हाे।

‘दहाड़’ नामक याे सिरिज प्रगतिशील छ किनभने याे सिरिज मानवताकाे पक्षमा, न्यायकाे पक्षमा, समानताकाे पक्षमा, प्रेमकाे पक्षमा, स्वतन्त्रताकाे पक्षमा, उत्पीडितहरुकाे/नारीहरुकाे आत्मसम्मान र सशक्तीकरणकाे पक्षमा र नारीवादकाे पक्षमा उभिएकाे छ। यसले अँध्यारोलाई मात्र देखाएकाे छैन, अपितु अँध्यारोलाई चिरेर उज्यालाेतर्फकाे यात्रालाई पनि देखाएकाे छ। अन्धकारलाई मात्र देखाएकाे छैन, अपितु अँन्धकारसँग लड्दै प्रकाशतर्फ बढ्न अभिप्रेरित पनि गरेकाे छ। अनि जसले सिनेमामा यस्ताे गर्छ, ऊ महान् फिल्ममेकर हाे र त्याे महान् सिनेमा हाे। निसन्देह, जाेया अख़्तर र रीमा कागती हाम्राे युगका महान् फिल्ममेकर हुन्।

‘दहाड़’ ले केटीमान्छेलाई प्रतिराेध गर्न सिकाएकाे छ, विद्राेह गर्न सिकाएकाे छ, विद्राेह गरेर, आफुमाथिकाे सारा दबावलाई ओभरटेक गरेर आफ्ना स्वत्व, स्वतन्त्र अस्तित्व, स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मानलाई अक्षुण्ण राख्ने, आफुले राेजेकाे व्यक्तिसँग जीवन बिताउने, आफुखुशी आफ्नाे जीवन जिउने स्वतन्त्रता वा अधिकारकाे पक्षमा अडिग रहने, लड्ने सन्देश दिएकाे छ, त्यसाे गर्न अभिप्रेरित गरेकाे छ। ‘दहाड़’ काे केटीपात्रले त्यसाे गर्ने आँट गरेकी छन्।

अन्त्यमा, मेराे एउटा जिज्ञासा छ, ‘दहाड़’ काे केटीपात्रले त प्रतिराेध गर्ने आँट गरिन्, प्रतिराेध गरिन् र मुक्त भइन्। तर के यस प्रकरणका केटी पात्र, जाे हाम्रा नायिका हुन्, उनले प्रतिराेध गर्ने आँट गर्लिन् त? यसबाट सिनेमाकाे पात्र र वास्तविक जीवनकाे पात्रबीचकाे अन्तर पनि छुट्टिएला।

(नाेट:- याे विशष लेख हाे। प्रभात बस्याल र प्रिति घिमिरे प्रकरण नघटेकाे भए याे लेख लेखिन्दैनथ्याे।)

मेराे नजरबाट ‘कटहल’ लाई हेर्दा

  • ‘कटहल’ (२०२२):-

इस दुनिया में,
आदमी की जान से बड़ा
कुछ भी नहीं है
न ईश्वर
न ज्ञान
न चुनाव

– सर्वेश्वर दयाल सक्सेना

राम्राे फिल्म त्याे हुन्छ जाे जीवनकाे पक्षमा उभिन्छ। न्यायकाे पक्षमा उभिन्छ। जसमा कसैकाे जीवनलाई बचाउन, अन्यायमा परेकाेलाई न्याय दिलाउन प्रयत्न गरेकाे देखाइन्छ। जसमा मानवताप्रति पक्षधरता हुन्छ।

‘कटहल’ मा त्यही देखाइएकाे छ। ‘कटहल’ का एन्टागाेनिष्टहरु एकजना बालिकाकाे ज्यान बचाउन प्रयासरत हुन्छन्, जाे कमजाेर तप्काका हुन्छिन्। त्यसका लागि उनीहरु ‘आउट अफ सिस्टम’ जान पनि तयार हुन्छन्।

‘कटहल’ एक व्यङ्गात्मक फिल्म हाे। यसले मुख्य गरेर पुलिसतन्त्र र यसकाे कार्यशैलीमाथि व्यङ्ग गरेकाे छ। ‘कटहल’ काे एउटा दृष्यमा पुलिसकाे एसपीले बाेलेकाे याे सँवाद ‘हम इंडियन पीनल कोड फॉलो करते हैं, लेकिन काम करना पड़ता इंडियन पॉलिटिकल कोड के अधीन’ ले एकै लाइनमा धेरैथाेक बताउँछ। त्यसभन्दा अगाडि नै उसले गरेकाे प्रेस कंफ्रेन्सकाे दृष्यले पुलिसतन्त्रमाथि भरपूर कटाक्ष गरिसकेकाे हुन्छ।

‘कटहल’ काे पाेष्टर

एकातर्फ एकजना विधायककाे घरकाे कम्पाउण्डभित्रकाे गार्डेनबाट बाेटबाटै दुइवटा अंकल हँक ब्रीडकाे कटहर हराउँछ। अर्काेतर्फ, उनकाे गार्डेनमा काम गर्ने एकजना गरिब मालीकी नातिनी हराउँछिन्। अब पुलिसले कसलाई खाेज्ने? कसलाई प्राथमिकता दिने? कटहरलाई कि बालिकालाई?

निसन्देह बालिकालाई प्राथमिकता दिनुपर्ने हाे अरु कुनै चीजभन्दा। मानिसकाे ज्यान सर्वाेपरि हुनुपर्ने हाे कुनै आल्तु-फाल्तु चीजभन्दा। फिल्मकाे एन्टागाेनिष्ट कै भाषामा, ‘कटहर खाेज्नुभन्दा ज्यादा जरुरी बालिकालाई खाेज्नु हाे किनभने हराएकाे कटहर त फेरि पनि फल्छ तर केटीमान्छे एकपटक आफ्नाे हाँगाबाट छुट्टिए भने फेरि भेटिन्दैन।’

तर सिङ्गाे पुलिसतन्त्र सारा महत्त्वपूर्ण कामधामलाई छाेडेर कटहर खाेज्न लागिपरेकाे छ। किन? किनभने, हराएकाे कटहर कुनै साँसदकाे हाे। यहाँ ‘पाेलेटिक्ल कनेक्शन’ ले काम गरेकाे छ। ‘राजनीतिक दबाव’ ले काम गरेकाे छ। त्यही (माथिकाे) दबावमुनि रहेर पुलिसयन्त्र काम गरिरहेकाे छ।

पुलिस डिपार्टमेन्टसँग गर्नुपर्ने तमाम महत्वपूर्ण कामहरु छन् तर ती सब कामलाई छाेडेर पुलिस साँसदकाे कटहर खाेजिरहेकाे छ। याे केवल पुलिस डिपार्टमेन्टमाथि गरिएकाे व्यङ्ग हाेइन। याे विश्वकै सबैभन्दा ठूलाे भनिने भारतकाे लाेकतन्त्रमाथि गरिएकाे व्यङ्ग हाे। माननीय (नेता, साँसद, मन्त्री, राज्यका पदाधिकारी, भिभिआइपी) हरु भन्दा महत्वपूर्ण भारतकाे लोकतन्त्रमा अरु केही छैन, अरु काेही छैन। आमजनता महत्त्वपूर्ण छैनन् भारतकाे लाेकतन्त्रका लागि। केवल ‘माननीयहरु’ र तिनीहरुका आल्तुफाल्तु चीजहरु महत्वपूर्ण छन्। उनीहरु आमजनताभन्दा माथि छन्, सबैभन्दा माथि छन् उनीहरु। उनीहरुकाे स्वार्थ अन्य सबै स्वार्थभन्दा माथि छ। उनीहरुकाे स्वार्थकाे लागि सिङ्गाे राज्यसँयन्त्रलाई खटाइन्छ। यस्ता घटनाहरु थुप्रै छन् जसमा कुनै नेताकाे केही सामान चोरी भयाे अनि सिङ्गाे पुलिस डिपार्टमेन्ट आफ्नाे सब कामधाम छोेडेर चाेर खाेज्नतिर लाग्याे अथवा सिङ्गाे पुलिस डिपार्टमेन्टलाई उनीहरुकाे सब कामधाम छोेडेर चाेर खाेज्नतिर लगाइयाे। याे प्रसङ्गले George Orwell काे बहुचर्चित english quotation काे याद दिलाउँछ, ‘All animals are equal but some are more equal than others.’

जबकि सर्वसाधारणहरु, आमजनताहरु प्रति त पुलिस तानाशाह जसरी प्रस्तुत हुन्छ। उनीहरुलाई गन्दैन। पुलिसहरुकाे नजरमा उनीहरुकाे कुनै इज्जत छैन। उनीहरुकाे कुनै मूल्य छैन। उनीहरु मूल्यहीन छन् पुलिसकाे अगाडि। लाचार छन्। यस फिल्मकाे एउटा दृष्यमा कँस्टेबल साैरभले कुनै भिभिआइपीकाे बिहेमा ठाेकिन आइपुगेकाे गरिबमाथि कसरी लाठी चलाउँछ। कसरी निर्घात रुपमा कुटपिट गर्छ। अब कँस्टेबलले पनि के गराेस्, उसलाई ट्रेनिङ नै त्यस्तै दिइएकाे हुन्छ। जस्ताे ट्रेनिङ दियाे, त्यस्तै त हुने हाे पुलिस। त्यही कँस्टेबलले आफ्नी छाेरी हराएकीले पुलिसमा खबर गर्न आउँदा गरिब पितालाई छाेरीकाे आधार कार्ड हेरेर याे भन्दै पुलिस स्टेसन अगाडिदेखि नै फर्काइदिन्छ कि उनकी छाेरी १८ बर्षभन्दा माथिकी भइन्। आफै तीन दिनपछि आउँछिन्। कसैसँग गइन् हाेली। पीडितले उनलाई ‘खाेजिदिनुस् न’ भन्दा जवाफमा कँस्टेबल भन्छ, ‘मैले के खाेज्नुपर्‍याे र? भनिरहेकाे छु त फर्केर आउनेछिन्। तिमी चिन्ता नगर। आफ्नाे अनुभवले भन्दैछु। तिमी परेशान नहाेऊ। पछि आऊ, अहिले मलाई जान देऊ, जाऊ।’

याे फिल्मले हाम्राे लाेकतन्त्र तथा राज्यसँयन्त्रकाे त्यही ‘more equal than others’ चरित्र, सँस्कृति र सिस्टममाथि कटाक्ष गर्छ। हाम्राे लाेकतन्त्र नेतातन्त्रमा परिणत भएकाे, हाम्राे राज्यसँयन्त्र नेताकेन्द्रित भएकाे, जनताकेन्द्रित नभएकाे, हाम्राे लाेकतन्त्र र राज्यसँयन्त्रमा जनताभन्दा नेता ठूलाे भएकाे, जनहितभन्दा नेताकाे स्वार्थ ठलाे भएकाे तिताे सत्यलाई व्यङ्गात्मक रुपमा उजागर गर्छ। (‘हाम्राे’ म यस अर्थमा भनिरहेकाे छु कि भारतकाे राजनीतिक व्यवस्था र सँस्कृति र हाम्राे राजनीतिक व्यवस्था र सँस्कृतिमा मूलभूत भिन्नता छैन। हाम्राे लाेकतन्त्रमा पनि more equal than others सँस्कृति, प्रचलन र कार्यशैली चलिरहेकाे छ।)

याे फिल्मले पुलिसयन्त्रमाथि परेकाे राजनीतिकाे छायाँ, पुलिसयन्त्रले कसरी काम गर्छ, पुलिसयन्त्रलाई कसकाे स्वार्थअनुरुप यसका नेतृत्वहरुद्वारा कसरी कुन उद्देश्यले परिचालन गरिन्छ, त्यसमा कति मात्रामा व्यक्तिगत स्वार्थ हुन्छ अनि कति मात्रामा सामुहिक स्वार्थ, कति मात्रामा यान्त्रिकता हुन्छ अनि कति मात्रामा विवेकशीलता हुन्छ, पुलिसयन्त्रलाई कसरी पङ्गु बनाइन्छ, यी सारा कुरालाई देखाउँछ। तल्लाे ओहाेदाका पुलिसकर्मीहरुले खटेर मरिमरि काम गर्ने र रिजल्ट ल्याएर दिने अनि माथिल्लाे ओहाेदाकाे कुर्सीमा ढसमस्स बसेका ठूला पुलिसकर्मीहरुले बसीबसी त्यसकाे जस आफुले लिने, तर काम गर्ने बेला, फिल्डमा खट्नुपर्ने बेला बहानाबाजी गरेर साइड लाग्ने र जुनियरलाई अघि सार्ने अनि तल्ला पुलिसकर्मीहरुलाई काममा खटाउँदा पर्याप्त सँसाधन पनि प्रदान नगर्ने आदि प्रवृत्ति। एउटा दृष्य नाेटिस गर्नुभयाे जहाँ अपराधीहरुलाई समात्न एसआइ महिमा बसाेरकाे टिम छतरपुर जान्छन्। त्यसबेला उनीहरु सार्वजनिक बस चढेर छतरपुर जान्छन्, पुलिस जिप वा कुनै छुट्टै वाहनमा हैन। अनि, जब महिमा छतरपुरकाे स्थानीय थाना प्रभारीलाई आफुहरुकाे लागि एउटा वाहनकाे बन्दाेबस्त गर्न भन्छिन्, तब ऊ एउटा बेवारिसे खटारा भ्यानलाई लैजान भन्छ, जुन भ्यान साइकलकाे गतिमा गुड्छ। यी प्रसङ्गहरुले धेरै कुरा बताउँछ। सारमा, यसले पुलिसतन्त्रका सारा सिस्टम र कार्यशैलीलाई देखाउँछ। त्यसमाथि कटाक्ष गर्छ। व्यङ्गवाण प्रहार गर्छ त्यसमाथि।

यस फिल्मले उठाएकाे अर्काे महत्वपूर्ण मुद्दा हाे लैङ्गिक विभेद। पितृसत्ता। केटीमान्छेलाई समाजले/मान्छेहरुले हेर्ने पूर्वाग्रही नजर। जस्तै, मालीकी नातिनी फाटेकाे जिन्स पाइन्ट लगाएर गाउँ डुल्ने, मधुश्री गुट्का खाने हुनाले उनलाई समाजका मान्छेहरु बिग्रेकी केटीकाे सँज्ञा दिन्छन्। अरु त अरु अदालतमा बहस गर्ने वकिल जस्ताे मान्छे समेत यही पत्रु तर्कहरु गर्दै केटीलाई चरित्रहीन ठहर्‍याउँछ। याे खासमा हाम्राे समाजकाे आमधारणा हाे। हाम्राे समाजकाे मूलधारकाे धारणा हाे। हाम्राे समाजका शिक्षितहरुकाे ठूलाे हिस्साकाे पनि धारणा हाे। वकिल पात्रले त्यही शिक्षितहरुकाे ठूलाे हिस्साकाे प्रतिनिधित्व गर्छ। हाम्राे समाजका मान्छेहरुमा विधमान स्त्रीद्धेषलाई बुझ्न-बुझाउन फिल्मकाे त्याे एउटा दृष्य नै काफी छ जसमा हराएकी नातिनीलाई खाेज्न निस्केका वृद्ध हजुरबुवाले ‘मेरी नातिनी अमियालाई देख्यौं?’ भनेर गाउँका मान्छेहरुलाई साेध्दा, एकजना पुरुष भन्छ, ‘उखुबारीमा गएर हेर। यस्ता (जवान) केटीहरु उखुबारीमै रासलीला गरिरहेका भेटिन्छन्।’ पुलिसलाई ‘छाेरी हरायाे, खाेजी गरि पाऊ’ भन्दा पुलिसले ‘१८ बर्ष माथिकी हुन् तिम्री छाेरी, कसैसँग गइन् हाेली’ भनेकाे कुरा त माथि नै उल्लेख गरिसके।

यसबाहेक कुन्ती परिहर नामक पुलिस पात्रका माध्यमबाट पनि फिल्मले पितृसत्ता र लैङ्गिक विभेदलाई मज्जाले दर्शाएकाे छ। पुलिस कँस्टेबल कुन्ती परिहर घरकाे सबै काम भ्याएर आफ्नाे वकिल पतिकाे लागि खाना, टिफिन सबै तयार गरेर ड्युटीमा आउँछिन्। ड्युटी सकेर फेरि घर फर्किइ सारा जिम्मेवारी सम्हाल्छिन्। ड्युटी सकिएपछि घर फर्केर उनकाे पतिकाे साथीहरुकाे लागि आलुकाे विशेष परिकार बनाउनु उनकाे दैनिकी हुन्छ। पतिकाे जन्मदिनमै उनी ड्युटीकाे लागि छतरपुर जानुपर्ने हुन्छ। उनी अप्रत्यक्ष रुपमा विदा माँग्न खाेज्छिन् तर उनकाे बाेस महिमाले कठाेरताका साथ हुन्न भन्छिन्। त्यसपछि उनी पतिकाे जन्मदिनमा सवेरै उठि हतार हतार गरेर दुई-दुई पटक केक बनाइवरि ड्युटी ज्वाेइन गर्न आउँछिन्। दुई-दुई पटक यसकारणकी पहिलोपटक उनले बनाएकाे केक काठजस्ताे कडा बन्छ अनि फेरि उनी पतिकाे लागि अर्काे नरम केक बनाइवरि आउँछिन्। जसकाे कारण उनी ढिला आइपुग्छिन्।

एकपटक त कुन्तीकी पतिले महिमा बसाेरलाई ‘कुन्तीजी यदि फ्री भइन् भने घर लिएर जाउ? तिवारीजी आलुबन्डा खान हात धाेएर बसिरहेका छन्’ भनेर भन्दा महिमा राेष प्रकट गर्दै भन्छिन्, ‘लिएर जानुहाेस्। आलुबन्डामात्र किन? भजिया, समाेसा, डाेसा सब बनाउन लगाउनुहाेस्। उनी यहाँ त आराम गर्छिन् हैन? घर गएर केही काम गर्नेछिन्।’ महिमा कुन्तीलाई पनि भन्छिन्, ‘के तिमी जिन्दगीभर आलुबाेन्डा नै बनाइराख्छ्याै? प्रमाेशन भएपछि के गर्छ्याै?’

तर कुन्ती प्रमाेशन चाहन्दिनन् किनभने प्रमाेशन भएमा सरुवा पनि हुन्छ। अनि आफ्नाे सरुवा भएमा आफ्नाे वकिल पति र ससुराकाे हेरचाह कसले गर्छ? उनीहरुकाे लागि खाना कसले बनाइदिन्छ? त्यसैले, कुन्ती प्रमाेट हुन चाहन्दिनन्। उनलाई यतिकै ठीक छ। प्रमाेट भएर पनि के गर्नु छ र? झन् परिवारमाथि भाउताे पाे आइलाग्छ। त्यसैले, यस्ताे भाउताे ल्याउने प्रमाेशन-स्रमाेशन उनलाई चाहिएकाे छैन। प्रमाेशनकाे कुरालाई उनले दिमागदेखि नै डिलिट गरिदिएकी छिन्। (हुन त महिमा पनि आफ्नाे प्रमाेशन चाहन्दिनन्। किनभने उनकाे प्रमाेशन भएमा उनकाे र उनकाे प्रेमी साैरभबीचकाे दुरी झनै बढ्नेछ। त्यसैले, उनी त्याे दुरीलाई घटाउन आफ्नाे हैन, बरु आफ्नाे प्रेमी साैरभकाे प्रमाेशन चाहन्छिन्। ‘आफ्नाे प्रमाेशन नहाेस्, बरु आफ्नाे प्रेमी साैरभकाे प्रमाेशन हाेस्’ भन्ने कामना गर्छिन्।)

कुन्ती नामक यस पात्रकाे माध्यमबाट फिल्मले पितृसत्ताले गरिरहेकाे महिलाहरुकाे शाेषणलाई देखाउँछ। कुन्ती ठ्याक्कै पितृसत्ताले परिकल्पना गरेकी आदर्श महिला (पत्नी, छाेरी, बुहारी, गृहिणी) जस्ती छन्। ठ्याक्कै पितृसत्ताले बनाएकाे ढाँचाबाट बाहिर निस्केकी महिलाकाे प्रतिमूर्ति लाग्छिन् कुन्ती। सिङ्गाे फिल्मभरि उनी आफुमाथि भइरहेको शाेषणकाे विरुद्धमा, पितृसत्ताकाे प्रतिराेधमा एक शब्द बाेल्दिनन्। बरु उनी त उल्टै खुशी, उल्टै सन्तुष्ट पाे देखिन्छिन्। (महिमाले पनि पितृसत्ताकाे प्रतिराेध गरेकाे देखिन्दैन। बरु पितृसत्तासँग एड्जस्ट गर्न खाेजिरहेकाे देखिन्छ। उनी आफ्नाे प्रेमी साैरभकाे प्रमाेशन हुदाँ खुशी हुनु तर आफ्नाे प्रमाेशन हुदाँ ‘आफ्नाे प्रेमि साैरभसँगकाे दुरी ज्युँकाे त्युँ नै रहने भयाे, नघट्ने भयाे’ भनेर दु:खी हुनु यसैकाे घाेतक हाे)। अझ उनलाई (कुन्ती) लाई त आफू पितृसत्ताकाे शाेषणमा परेकाे, लैङ्गिक विभेदकाे सिकार भएकाे कुराकाे बाेध नै छैन। उनलाई आफु शाेषणमा परिरहेको कुराकाे बाेध छैन, जबकि महिमालाई यस कुराकाे बाेध छ।

तेस्राे, यस फिल्मले जातिय विभेदकाे समस्यालाई पनि अभिरेखन गरेकाे छ। यसकाे नायक साैरभ द्विवेदी ब्राम्हण (उच्च जातका) हुन् भने नायिका महिमा बसाेर दलित (तल्लाे जातका) हुन्। उनीहरु आपसमा प्रेम गर्छन् तर उनीहरुकाे प्रेमसम्बन्धमा दुइवटा कुरा बाधक छ। एक केटाकाे भन्दा केटीकाे उच्च ओहाेदा र दाेस्राे उनीहरुकाे अमिल्दाे कथित सानाे र ठूलाे जात। सैद्धान्तिक रुपमा भन्नुपर्दा पितृसत्ता (पितृसत्ताले ‘पतिभन्दा पत्नीकाे ओहाेदा ठूलाे हुनुहुँदैन’ भन्छ। त्यही भएर इंस्पेक्टरकाे ओहाेदाधारी महिमा आफ्नाे प्रमाेशन चाहन्दिनन्। उनी आफ्नाे साटाे आफ्नाे कंस्टेबल प्रेमी साैरभकाे प्रमाेशन चाहन्छिन् ताकि उनीहरुकाे ओहाेदा बराबर हाेस् र उनीहरुकाे विवाहकाे बाधा हटाेस्।) र जातिय विभेद बाधक छ उनीहरुकाे प्रेममा। यसरी, उनीहरुकाे प्रेमकाे कथाले जातिय विभेदकाे समस्यालाई अभिरेखन गरेकाे छ र पितृसत्तालाई पनि।

साैरभ द्विवेद्धी र महिमा बसाेर

फिल्ममा साैरभ द्विवेदी र महिमा बसाेर बीचकाे भिन्नतालाई अभिरेखन गर्ने महत्वपूर्ण अंश छ। एउटा दृष्यमा विवाह समाराेहमा बारातीहरु द्वारा उडाइरहेकाे नोट बटुलरहेकाे एक गरिब निमुखा भिखारीमाथि साैरभ डन्ठा बर्साउँछ तर महिमा उनलाई त्यसाे गर्नबाट राेक्छिन्। भन्छिन्, ‘याे के दुर्व्यवहार गरिरहेको छाै? के यिनी जनावर हुन् (जसलाई तिमी यसरी जनावरलाई जसरी पिटिरहेका छाैं)? वर्दी पाएकाे छाैं, गरिबलाई पिट्ने लाइसेन्स पाएका छैनाैं।’

फेरि अर्काेपटक साैरभ आफ्नी छाेरी हराएकाेमा खाेजी गरि पाऊ भनी फरियाद गर्न पुलिस स्टेसन आएकाे एक सर्वसाधारण, गरिब वृद्धलाई ‘तिम्री बालिग छाेरी कसैसँग गएकी हाेलिन्। तीन-चार दिनमा आफै आउँछिन्। खाेज्नु पर्दैन’ भनेर फर्काइदिन्छ। याे कुरा थाहा पाएपछि महिमा साैरभ सँग यति रिसाउँछिन् कि उनीसँग बाेलचाल नै बन्द गर्छिन् जबकि साैरभ उनकाे प्रेमी हुन्छन्।

यी प्रसङ्गहरु कुनै सामान्य प्रसङ्ग हैनन्। हेर्दाखेरि सामान्य लागे पनि यी वास्तवमा महत्त्वपूर्ण प्रसङ्गहरु हुन्। यी प्रसङ्गहरुले खासमा साैरभ द्विवेद्धी र महिमा बसाेरकाे upbringing लाई देखाउन वा बुझाउन खाेज्छ। साैरभ द्विवेद्धी एक ब्राम्हण हुन्। कुलीन हुन्। उनी जातिय विभेद गर्ने, गरिब-निमुखाहरुलाई हेप्ने सँस्कृतिबाट हुर्केर आएका हुन्। कुलीन सँस्कार-सँस्कृतिकाे upbringing हाे उसकाे। ठूलाे भएपछि पढे-लेखेर ‘जातिय विभेद गलत हाे’ भन्ने बिन्दुसम्म उनी आइपुगेका छन्। सानाे जातकाे/दलित युवतीसँग प्रेम गर्ने बिन्दुसम्म आइपुगेका छन् तर गरिब-निमुखाहरुहरुलाई हेप्ने उसकाे upbringing ले दिएकाे सँस्कार-सिकाई अझै पनि ऊ भित्र कायमै छ। जुन उनका यी व्यवहारहरुमा झल्किन्छ।

यसकाे ठीक विपरीत महिमा बसाेर दलित समुदायबाट आएकी हुन्। उनकाे upbringing गरिब-दलित समाजकाे upbringing हाे। निम्न वर्गीय-जातिय समाज र सँस्कार-सँस्कृतिबाट हुर्किएर आएकी हुनाले उनी गरिब-दलित-निमुखाहरुप्रति empathic छिन्। संवेदनशील छन्। उनीहरुमाथि गरिने दमन-उत्पीडन र हिँसाकाे विरुद्धमा छिन् र कसैले त्यसाे गरेकाे देखे त्यसकाे प्रतिकार गर्छिन्। ‘उनीहरु पनि मानव हुन्। उनीहरुलाई पनि मानवाेचित व्यवहार गर्नुपर्छ। उनीहरुलाई पनि सम्मानजनक व्यवहार गर्नुपर्छ। उनीहरुले पनि मानवाेचित व्यवहार डिजर्ब गर्छन्। त्यसैले हामीले उनीहरुमाथि थिचाेमिचाे गर्नुहुदैन। उनीहरुमाथि अन्याय गर्नुहुदैन। उनीहरु अन्यायमा परे उनीहरुलाई न्याय दिनुपर्छ’ भन्ने बलियाे साेच छ महिमाभित्र र यही साेचअनुरुपकाे व्यवहार छ उनकाे। किनकि साेचले नै मानिसकाे व्यवहारलाई निर्धारण गर्छ।

त्यसैले साैरभ र महिमाका व्यवहारहरुमा भिन्नता छ। याे भिन्नता उनीहरुकाे upbringing ले सिर्जना गरेकाे भिन्नता हाे। उनीहरु भिन्नाभिन्नै जात र वर्गका भएकाेले उनीहरुकाे upbringing फरक हुन गयाे। त्यसैले उनीहरुका व्यवहारहरु फरक-फरक हुन गए। याे उनीहरुकाे पृष्ठभूमि र upbringing काे भिन्नताकाे कारण भएकाे हाे। अलग-अलग पृष्ठभूमि र upbringing का कारण उनीहरुकाे आनीबानी अलग-अलग भयाे। यसले उनीहरुकाे पृष्ठभूमि र upbringing काे भिन्नतालाई र त्यसले सिर्जना गरेकाे उनीहरुकाे चरित्रकाे भिन्नतालाई दर्शाउँछ।

यही भिन्नताका कारण उनीहरुबीच मतभेद उत्पन्न भएकाे छ। याे भिन्नताले उनीहरुका बीचमा एउटा अदृष्य पर्खाललाई ठड्याइदिएकाे छ जसले उनीहरुलाई एकअर्कादेखि मानसिक रुपमा अलग्याएकाे छ। उनीहरुलाई एक हुन दिइरहेकाे छैन। एउटा दृष्यमा महिमा साैरभलाई भन्छिन्, ‘तिमी र म बीच एउटा पर्खाल छ, जसलाई म दिनहुँ भत्काउने काेशिश गर्छु तर तिमी…तिमी जब-जब माैका मिल्छ, तब-तब त्यसमाथि दुई-चारवटा इँटा अझ थपिदिन्छाैं।’

खासमा, साैरभकाे सवर्ण मानसिकताले समस्या उत्पन्न गरिरहेकाे छ। किनभने ऊ कुनै पनि कुरालाई सवर्ण मानसिकताबाट हेर्छ जबकि महिमासँग दलितकाे दृष्टिकोण छ। उनी दलितकाे दृष्टिकोणबाट कुनै पनि कुरालाई हेर्छिन्। उनीहरुबीचकाे दृष्टिकोणकाे याे भिन्नताले उनीहरुबीच बेमेल सिर्जना गरिरहेकाे छ। अर्काे शब्दमा, आफ्नाे सवर्ण मानसिकताका कारण साैरभ महिमाकाे दृष्टिकोणसँग तालमेल मिलाउन सकिरहेकाे छैन तर साैरभ जड छैन। रुढ छैन। ऊ आफ्नाे गल्तीलाई बाेध गर्छ र आफ्नाे गल्तीलाई सुधार्ने काेशिश गर्छ। जस्तै, एकजना निमुखामाथि डन्ठा बर्साउँदा महिमाले झपारेपछि ऊ अबदेखि कसैमाथि हात नउठाउने कसम खान्छ। ऊ आफुले वृद्ध मालीले आफ्नाे छाेरी (नातिनी) काे खाेजी गरिमाग्दा उसलाई दुरुत्साहित गरेर उक्त बालिकाकाे ज्यानलाई झन् जाेखिमतर्फ धकेलेकाेले अनुसन्धानकाे टिममा नपरे पनि आफै आफ्नाे तर्फबाट मालीकी छाेरी (नातिनी) लाई खाेज्ने काेशिश गर्छ। शँकास्पद व्यक्तिहरुलाई साेधपुछ गर्ने क्रममा कुटाइ पनि खान्छ तर उनीहरुलाई हात फर्काउँदैन।

यसबाहेक फिल्ममा जातिय विभेदलाई देखाउने एउटा छुट्टै दृष्य छ जसले जातिय विभेदलाई मात्र हैन, अरु धेरै कुरालाई देखाउँछ साथै जातिय विभेद विरुद्ध बलियाे सन्देश पनि दिन्छ।

इंस्पेक्टर महिमा बसाेर हराएकी बालिका अमियाका बारेमा साेधपुछ गर्दै एउटा गाउँमा पुग्छिन्। त्यहाँ एकजना व्यक्तिलाई साेधपुछ गर्दा ऊ भन्छ, ‘उनी एक नंबरकी चाेरनी हुन्। कहिले बयर चाेर्छिन्, कहिले फल। चाेरी-चकारी नगरि यी साना जातका मान्छेहरुकाे कहिले पेट भरेिएकाे छ? म्याडम के म गलत भनिरहेकाे छु र?’

उसकाे कुरा सुनेर महिमा उसलाई साेध्छिन्, ‘नाम के हाे भाइसाहब तपाईंकाे?’

त्याे व्यक्ति भन्छ, ‘ब्रम्हदत्त पाण्डे’।

महिमा उसलाई आफ्नाे बिल्ला देखाउँदै साेध्छिन्, ‘पाण्डेजी ! याे बिल्लामा के लेखिएकाे छ पढ्न सक्नुहुन्छ?’

पाण्डेजी भन्छ, ‘अब पढ्न-लेख्न म के जान्नु म्याडम !’

उसले आफू लेखपढ गर्न नजान्ने बताएपछि महिमा उसलाई भन्छिन्, ‘…यसमा लेखिएकाे छ महिमा बसाेर (तल्लाे जात, दलित)। इंस्पेक्टर। (उनी दलित हुन् र इंस्पेक्टर छन्।) म चाेरी गर्दिन। उल्टै चाेरलाई जेल पठाउँछु।’

याे दृष्यले थाेरै संवादमा धेरै कुरा बताएकाे छ। उच्च जातका मान्छेहरुकाे तल्लाे जात/दलितप्रतिकाे पूर्वाग्रह वा ब्राम्हणवाद। दलितकाे सशक्तीकरण। ब्राम्हण पनि निरक्षर-अशिक्षित छन्। दलित पनि शिक्षित र इंस्पेक्टरकाे ओहाेदामा छन्। अर्थात् राज्यसत्ता र राज्यशक्तिका हिस्सेदार छन्।

महिमा बसाेर चाेरी गर्दैनन् बरु चाेरलाई जेल पठाउँछिन्। ‘चाेरी गर्दिनन्’ भन्नुकाे अर्थ ‘अख्तियारकाे दुरुपयाेग गरेर राज्यदाेहन वा भ्रष्टाचार गर्दिनन्’ भनेकाे हाे। राज्यमा भ्रष्टाचार दलितहरुले गरेकाे हैन। राज्यलाई अहिलेसम्म लुटेकाे दलितहरुले हैन। त्यसाे भए कसले, कसकाे विरादरीले अहिलेसम्म राज्यलाई लुटेकाे हाे त?

महिमा बसाेर त चाेरलाई जेल पठाउँछिन् अर्थात् उनी राज्यलाई लुट्नेहरुकाे विरुद्धमा छिन्, उनी भ्रष्टाचारकाे विरुद्धमा छिन् किनभने उनी चाेरी हुन दिदिनन्। चाेरीलाई राेक्ने काेशिश गर्छिन्। भ्रष्टाचारलाई राेक्ने काेशिश गर्छिन्। अर्थात्। दलित वर्ग देश लुट्ने हैन, लुटपाटलाई राेक्ने पक्षमा छन्। कति गहिराे कुरा अन्तर्निहित छ याे दृष्य र संवादमा।

चाैथाे, यस फिल्मले गाउँघर वा स्थानीय स्तरमा स्थानीय मिडियाहरुकाे बलियाे प्रभावलाई पनि देखाउँछ। ती स्थानहरु जहाँ राष्ट्रिय स्तरकाे मिडियाकाे पहुँच पुगेकाे छैन, स्थानीय मिडियाहरुले मैदान कब्जा गरेका छन्। युट्युबकाे उपलब्धता र स्मार्ट फाेनकाे सर्वव्यापकता (सबैकाे हात-हातमा स्मार्ट फाेन हुनु) ले स्थानीय स्तरमा मिडियाकाे अर्काे लेयर निर्माण भएकाे छ जाे स्थानीय स्तरमा सुचना तथा समाचारकाे विनिमयमा शक्तिशाली छ। किनभने, स्थानीय तहका मानिसहरु सुचना तथा समाचारकाे लागि राष्ट्रिय स्तरका मिडियाहरुमाथि हैन, स्थानीय स्तरकाे मिडिया तथा युट्युब मिडियाहरुमा भर परिरहेका छन्। याे आजकाे स्थानीय स्तरकाे यथार्थ हाे। फिल्मले याे यथार्थकाे एउटा चित्र देखाएकाे छ। फिल्ममा अनुज साँघवी नामक पत्रकार पात्रले स्थानीय स्तरकाे मिडिया र मिडियाकर्मीहरुकाे प्रतिनिधित्व गर्दछ। (अनुजकाे मिडियाकाे सहयोगीले डन्ठामा माेबाइल फाेन सेट गरेर भिडियो खिँचेकाे दृष्य मनन् गर्नुहाेस्। याे स्थानीय मिडियाकाे परिचायक हाे। किनभने, नेशनल मिडियाले त ठूलाे र राम्राे क्यामेराले भिडियाे खिँचिहाल्छ नि।)

अनुज भाइ उर्फ राजपाल यादव

फिल्ममा साना-साना कुरा वा साना-साना दृष्यबाट ठूला-ठूला कुरा वा महत्त्वपूर्ण बिषयलाई उजागर गरिएकाे छ। जस्तै, फिल्मकाे एउटा दृष्यमा पुलिस कँस्टेबल मिश्रा साैरभलाई उनकी छाेरीकाे विवाह गर्न लागेकाे तर दुलाहाले दाइजाेमा कार माँगेकाे भन्दै आफ्नी छाेरीकाे फाेटाे सा‌ैरभलाई देखाएर उनकाे पाउ समात्दै आफ्नी छाेरीसँग विवाह गर्न याचना गर्छ। साैरभले आफ्नी छाेरीसँग विवाह गरे उसलाई भिख माँगेर भए पनि माेटरसाइकल र टिभी दिने कुरा गर्छ। साैरभले उसकाे कुरा माने आफ्नै जात (ब्राह्मण जात) काे दुलाहा पनि पाउने पनि धेरै दाइजाे पनि दिनु नपर्ने भएकाेले मिश्रा यस्ताे दाउ गरेकाे हुन्छ। याे दृष्य हास्यात्मक छ र पर्दामा हेर्दा सामान्य लाग्छ। तर यसले भारतीय समाजमा विधमान दाइजाेकाे गम्भीर समस्यालाई देखाउँछ।

अर्काे एउटा दृष्यमा लाेकल न्युज च्यानललाई अन्तर्वार्ता दिदै साँसद यदि आफ्नाे चाेरी भएकाे कटहर फेला नपरेमा आफु धर्नामा बस्ने, सत्याग्रह गर्ने र यस क्रममा उग्र र उन्मादी जनताकाे भीडले एसपी साहबकाे अफिस जलाइदिए आफु जिम्मेवार नहुने कुरा बताउँछ। यसरी आफ्नो अन्तर्वार्ता मार्फत् साँसद आफ्ना मान्छेहरु (कार्यकर्ता तथा समर्थकहरु) लाई र साेझा जनतालाई बितण्डा मच्चाउन वा विध्वंस गर्न उक्साइरहेकाे हुन्छ। नेताहरुले अक्सर यस्तै गरिरहेकाे देखिन्छ। आफ्नाे व्यक्तिगत स्वार्थकाे लागि जनतालाई उचालेर, आन्दोलनमा उतारेर बितण्डा मच्याउने गर्छ नेता। भारतकाे राजनीतिमा नेताहरुले जनतालाई बितण्डा गर्न उक्साउनु आमबात हाे। भारतमा दिनहुँ कतै न कतै, कुनै न कुनै नेताले जनतालाई बेतुककाे प्रयाेजनका लागि बितण्डा गर्न उक्साइरहेकाे देख्न सकिन्छ। (यस फिल्मकाे साँसदले कटहरकाे लागि बितण्डा गर्न उचाले झै) याे त्यहाँकाे राजनीतिकाे एक स्थायी प्रवृत्ति हाे। यस दृष्यले त्यही प्रवृत्तिमाथि व्यङ्गकाे झटाराे हानेकाे छ।

कँन्टेबल मिश्राले चिकेनकाे लागि गरेकाे लपलपले सनातनी हिन्दुहरुले पनि माँसाहार गर्ने र याे शुद्ध हिन्दुत्वकाे कुरा व्यर्थकाे कुरा भएकाे बताउँछ।

फिल्ममा महिला न्यायधीशले विवेकसम्मत ढँगले बालिका अमियाकाे केसमा फैसला सुनाउँछिन् अनि महिमाले हराएकी बालिकालाई खाेज्नका लागि आवश्यक पर्दा माथिकाे आदेशकाे साटाे आफ्नाे विवेककाे पालना गरेर उनलाई खाेजेर निकालेकीले उनकाे याे साहसका लागि उनलाई उन्मुक्ति दिन्छिन्।

याे प्रसङ्गले राज्यसँयन्त्रमा महिलाकाे महत्वलाई दर्शाउँछ। यदि उनकाे ठाउँमा कुनै रुढिवादी पुरुष न्यायधीश भएकाे भए उसले कानुनकाे हवाला दिदै महिमालाई माथिकाे आदेशकाे उल्लघंन गरेकाे र केसलाई मिसलिड गरेकाेमा सजाँय दिन सक्थ्याे। तर महिला न्यायधीशले कानुनकाे यान्त्रिक दृष्टिबाट साेचिनन्, पीडितकाे न्यायकाे दृष्टिबाट साेचिन् जुन दृष्टिबाट खासमा न्यायधीशहरुले साेच्नुपर्छ। वास्तवमा न्यायधीशहरुले साेच्नुपर्ने दृष्टिकोण यही न्यायकाे दृष्टिकोण हाे। न्यायधीशहरुले लिनुपर्ने पक्षधरता उत्पीडितकाे पक्षधरता हाे।

यसले राज्यसँयन्त्रमा महिलाहरुकाे उपस्थितिले कार्यसम्पादन र नतिजामा कति गुणात्मक फरक पार्दाे रहेछ, याे कुरालाई देखाउँछ। जसरी केसकाे छानबिनमा महिला पुलिस नेतृत्वमा हुदाँ नतिजामा फरक पार्‍याे, न्यायलयमा महिला न्यायधीश हुँदा केसकाे फैसलामा गुणात्मक फरक पार्‍याे। यसरी नै राज्यका निकायहरुमा महिलाहरुकाे उपस्थितिले परिस्थितिमा गुणात्मक फरक पार्छ। महिलाहरु ठाउँमा (प्राधिकार) मा भए त्यसले न्यायप्राप्तिकाे प्रक्रियालाई सहज बनाउँछ, सकरात्मक नतिजा (डेलिभेरी) दिन्छ र परिस्थितिमा गुणात्मक परिवर्तन ल्याउँछ भन्ने कुरा बताउँछ।

अब फिल्मकाे कमजाेरीहरुका बारेमा कुरा गराैं। यसकाे कमजाेरीकाे बारेमा कुरा गर्नुपर्दा फिल्ममा अत्याधिक रेला गरिएकाे महसुस हुन्छ। सुरुमा हेर्दा त याे फिल्म बकवास पाे रहेछ भन्ने लाग्छ। कटहरकाे चाेरी र सिङ्गाे पुलिस डिपार्टमेन्ट कटहरकाे पछि लाग्नुले त्यही देखाउँछ तर बिस्तारै-बिस्तारै फिल्ममा अर्थपूर्ण कुराहरु देखिन्दै जान्छन्। तर पनि फिल्ममा रेलाकाे मात्रा अलि बढी नै भएकाे हाे। रेला र हाँस्यमा अन्तर हुन्छ। फिल्ममेकरले फिल्ममा हास्य भर्नुपर्छ, रेला हैन। यस फिल्ममा गरिएकाे अत्याधिक रेलाका कारण फिल्मले हाइलाइट गरेकाे महत्त्वपूर्ण मुद्दाहरु र यसले प्रवाह गरेकाे सन्देशहरु रेलामै बिलिने, दर्शकहरुले ती कुराहरुलाई नाेटिस नगर्ने वा नाेटिस गरे पनि हाँसाेमै उडाइदिने, गम्भीरतापूर्वक नलिने खतरा छ। (त्यसैले त म विस्तारका साथ याे फिल्ममा देखाइएकाे हरेक महत्त्वपूर्ण मुद्दालाई, हरेक महत्त्वपूर्ण दृष्यलाई मसिनाे गरि केलाइरहेकाे छु। तिनलाई छर्लङ्ग पारिरहेको छु ताकि याे फिल्म हेर्ने दर्शकहरुकाे त्यसतर्फ पर्याप्त ध्यान जाओस्। ती महत्वपूर्ण कुराहरु नछुटुन्।)

अब कास्टिङकाे कुरा गर्छु, फिल्मकाे प्रमुख भूमिकामा सान्या मल्हाेत्राकाे चयन मलाई चित्त बुझेन। यहाँनेर मैले उनकाे काम राम्राे छैन भन्न खाेजेकाे हैन। उनकाे काम राम्राे छ। तर दलित युवतीकाे भूमिकामा सान्या मल्हाेत्रा??? कुन काेणबाट उनी दलित जस्ती देखिन्छिन्? ‘अब फेरि के दलित युवती चाँहि काली नै देखिनुपर्ने हाे? के दलित युवती चाँहि गाेरी हुँदिनन्? के गाेराे छाला भएकाे दलित युवती हुँदिनन्? के गाेरी र राम्री दलित युवतीहरु हुँदिनन्?’ भन्ने (कु) तर्कतिर नजानुहाेला। मेराे भनाइ बलिउड फिल्ममेकरहरुकाे सँकुचित मानसिकताप्रति लक्षित छ।

सान्या मल्हाेत्रा

सान्या मल्हाेत्रा एक सवर्ण युवती हुन्। उनकाे features सवर्ण युवतीकै छ। जुनै काेणबाट हेरे पनि उनी सवर्ण नै देखिन्छिन्। किनभने, उनी वास्तविक जीवनमा सवर्ण नै हुन्। उनलाई अगाडि देखाएर दलित भन्दिए पनि विश्वास लाग्दैन किनभने उनी एकरति पनि दलित लाग्दिनन्। दलित भनिएका पात्र दलित जस्ती लाग्नुपर्‍याे नि। कंभिन्सिङ हुनुपर्‍याे नि। लामाे समयदेखि बलिउड फिल्ममेकरहरु आफ्नाे फिल्ममा दलित भन्दै सवर्णहरुलाई देखाइरहेका छन्। दलित पात्रकाे भूमिका सवर्ण कलाकारहरुबाट गराइरहेका छन्, अलिकति पनि रियालिटीसँग म्याच नगरि। बलिउड फिल्ममेकरहरुले दलित युवतीकाे भूमिकाु भट्ट, कपूर र मल्हाेत्राहरुबाट गराउने फ्रड बन्द गर्नुपर्छ र साँच्चिकै यस्ता कलाकारलाई कास्ट गर्नुपर्छ जाे दलित नभएता पनि दलितकाे आसपास देखियाेस्। दलितजस्तै लागाेस्। दलित पात्रकाे फिल गराओस्। दलित पात्रकाे एसेन्स भेटियाेस् ती कलाकारमा।

कँस्टेबल साैरभ द्धिवेद्धीकाे भूमिकामा अनंत भी जाेशीकाे चयन राम्राे छ। उनले आफ्नाे भूमिकामाथि पूर्ण न्याय प्रदान गरेका छन्। कुन्ती परिहारकाे भूमिकामा नेहा सराफ पनि प्रभावित गर्छिन्। ब्रजेन्द्र काला आफ्नाे राेलमा सही छन्। राजपाल यादव र रघुविर यादव दुवैले लाउड एक्टिङ गरेका छन्। लाउड एक्टिङबाटै राजपाल प्रभावित गर्छन्। विजय राजकाे फिल्ममा काम छैन। उनलाई फिल्ममा वेस्ट गरिएकाे छ। अन्य कलाकारहरु ठीकठाक छन्।

अविस्मरणीय दृष्य:-

मेराे लागि यस फिल्मकाे अविस्मरणीय दृष्य अमियाले आफुले लगाएकी पाइन्ट च्यातेर उठि काेठादेखि बाहिर खुल्ला धर्तिमा निस्केर खेल्न कुदेकाे दृष्य हाे। याे फिल्ममा मलाई सबभन्दा मनपरेकाे दृष्य यही हाे।

फाटेकाे पाइन्ट लगाएकै कारण मान्छेहरुले उनलाई बिग्रेकी केटी भन्छे तर पनि उनी टेर्दिनन्, पाइन्ट च्यातेर लगाउन छाड्दिनन्।
याे एक दृष्यले संवाद बिनै धेरै कुरा बाेलेकाे छ। याे दृष्यले पितृसत्ता, लैङ्गिक विभेद र स्त्रीद्धेषका विरुद्ध, पितृसत्ताले लगाएका समस्त बन्देजहरुका विरुद्ध उक्त बालिकाले गरेकाे प्रतिराेध वा विद्राेहलाई दर्शाउँछ। पितृसत्ता उनलाई कज्याउन चाहन्छ तर उनी कज्यिन मान्दिनन्। उनी पितृसत्तालाई अटेर गर्दै पितृसत्ताकाे मूल्य-मान्यताहरुकाे उल्लंघन गर्दै उन्मुक्त भएर पितृसत्ताकाे दायराबाहिर बाहिर निस्कन्छिन्, खेल्छिन्, कुद्छिन् अनि रमाउँछिन्।

खासमा बालिकाहरुले गर्नेपर्ने यही हाे। उनीहरुले यसै गर्नुपर्छ। पितृसत्तालाई अटेर गर्नुपर्छ। आफ्नाे स्वत्वलाई सर्वाेपरि राख्नुपर्छ। उनीहरुले यसरी नै जिउनुपर्छ, आफ्नाे इच्छाअनुसार। हाे, बालिकाहरु अटेरी हुनुपर्छ।

हेर्नुहाेस् त, सानाे तर कस्ताे सशक्त दृष्य छ। कतिपय गम्भीर कुराहरु भन्नका लागि लम्बेतान भाषण वा भारीभरकम संवादकाे आवश्यकता नै पर्दैन। जरुरी कुरा सधै संवाद बाेलेरै बुझाउन जरुरी छैन। केवल एउटा दृष्यबाट त्यसलाई भन्न सकिन्छ। कहिलेकाहीँ संवादले भन्दा दृष्यले संवादले भन्दा जाेडदार ढँगले बाेल्न सक्छ। याे दृष्य त्यसैकाे अनुपम उदाहरण हाे।

लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यकालाई व्यवस्थित र जोखिममुक्त राजधानी निर्माणमा सम्झौता

गढवा, ३० वैशाख । लुम्बिनी प्रदेश राजधानी दाङको राप्ती उपत्यकालाई व्यवस्थित नयाँ सहर र जोखिम मुक्त प्रदेश राजधानी निर्माण गर्ने उद्देश्यले टुमारो सिटि संस्था र प्रदेश पूर्वाधार विकास प्राधिकरण बीच लिखित सम्झौता भएको छ ।

राप्ती उपत्यका देउखुरी अन्तर्गतका राप्ती गाउँपालिका, गढवा गाउँपालिका, अर्घाखाँचीको सितगंगा नगरपालिका पर्दछन् । अनुसन्धान टोलीको तर्फबाट परियोजनाका प्रतिनिधि विदेशी प्रोफेसर जोन म्याक्लोस्की र पालिका तथा नगरपालिकाको तर्फबाट राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, गढवा गाउँपालिका अध्यक्ष यम नारायण पोख्रेल र सितगंगा नगरपालिकाका नगर प्रमुख छविराज पौडेल र प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका हुन् ।

सम्झौता गरे लगत्तै उक्त क्षेत्रमा अवस्था पहिचान अध्ययन कार्य सुरु भएको छ । अब ६ महिनाको अध्ययन पश्चात प्रतिवेदन तयार पारी निर्माण कार्य पनि सुरु हुने प्राधिकरणका प्रमुख पोख्रेलले बताए ।

उक्त अनुसन्धान कार्यक्रमलाई सम्बोधन गर्दै सोही क्षेत्रका प्रदेश सांसद तथा निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री ईन्द्रजीत थारुले प्रदेश राजधानी निर्माण गर्न अहिलेको पुस्ता जिम्मेवार भएर लाग्नु पर्ने बताए । “भविष्यको पुस्ताको लागि अहिले निर्माण भएको पूर्वाधार धरापमा परिणत नहोस् यो हाम्रो कर्तव्य र जिम्मेवारी पनि हो”–उनले भने

राप्ती उपत्यकालाई व्यवस्थित रुपले विकास गर्ने क्रममा भविष्यमा आई पर्न सक्ने प्रकोपहरु र विपदबाट सुरक्षित हुने गरी विकास गर्न शहरीकरण भईरहेको क्षेत्रमा जोखिम न्यूनीकरण गर्ने, शहरको बहुजोखिम परिदृश्यहरुको वैज्ञानिक ढङ्गले अध्ययन, विश्लेषण गरेर त्यस बमोजिम योजना तय गर्ने तथा शहरमा आर्थिक रुपमा विपन्न समुदायको जोखिम न्यूनीकरण गर्ने, सामाजिक सद्भाव कायम गर्ने, वातावरणमैत्री शहर निर्माण गर्ने र कृषिलाई वैज्ञानिकीकरण गर्ने र प्रविधिमैत्री शहर निर्माणका लागि यी विषयमा केन्द्रित रही सम्झौता गरिएको मन्त्री ईन्द्रजीत थारुले बताए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख छविराज पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाका जनप्रतिनिधि, परियोजनाका विज्ञ सदस्यहरू, सरोकारवालाहरुको प्रतिनिधिमुलक उपस्थित रहेको थियो ।देउखुरी टुडे बाट